रूसी सेनामा ५३१ नेपाली युवा; १६ को मृत्यु, ११६ घाइते
रूसी सेनामा ५३१ जना नेपाली युवा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। जसमध्ये १६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते रहेको दाबी गरिएको छ।
रूसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियानले शनिबार तथ्यांक सार्वजनिक गरेको हो। काठमाडौंको बत्तीसपुतलीमा शनिबार पत्रकार सम्मेलन गर्दै अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारले दिएको जानकारीका आधारमा तथ्यांक तयार पारिएको बताइन्।
रूसी सेनामा कार्यरत नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण संकलन गर्न थालिएको उनले बताइन्। “रूसी सेनामा गएका युवाका परिवारसँग सम्पर्क गरी विवरण संकलन गरिरहेका छौं, अहिलेसम्म ५३१ जनाको विवरण संकलन भएको छ,” उनले भनिन्।
अहिलेसम्म पीडित परिवारले दिएको विवरण अनुसार रूसी सेनामा रहेका १६ जनाको ज्यान गइसकेको छ। जसमा दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराम मोक्तान, कपिलवस्तुका रूपक कार्की, गोरखाका सन्दीप थपलिया, दार्चुलाका कुन्दनसिंह नगाल, स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, बाँकेका सञ्जय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्तान र दाङका जितबहादुर पुनको मृत्यु भएको छ। पत्रकार सम्मेलनमा मृतकका परिवारजन पनि उपस्थित थिए।
त्यस्तै, रूसी सेनामा भर्ती भएका ११६ जना घाइते भएका छन्। उनीहरूका परिवारजनले घाइते भएको विवरण टिपाएको भण्डारीले बताइन्।
रूसी सेनामा भर्ती भएका २७२ जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजनले खोजीका लागि पहल गरिदिन विवरण टिपाएको उनले बताइन्।
सम्पर्कमा आएका ५३१ जनामध्ये १२७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन्। उनीहरू अहिले पनि रूसी सेनामा कार्यरत छन्। रूसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार आफ्नो सम्पर्कमा आएको भण्डारीले सुनाइन्। उनीहरूले त्यहाँ कार्यरत आफन्तलाई स्वेदश फर्काउनका लागि पहल गरिदिन आग्रह गरेको भए पनि परिचय सार्वजनिक गर्न खोजेका छैनन्। रूसी सेनाबाट फर्केका युवाको भनाइमा यो संख्या धेरै हुन सक्ने भण्डारीले बताइन्।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि ज्ञापनपत्र बुझाएका छन्। रूसी सेनामा रहेका युवालाई फिर्ता गर्न, मृतकको शव ल्याउन, घाइतेको उपचार गर्न र स्वदेश फर्काउन, मृतक र घाइतेका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। यसका लागि कूटनीतिक पहल गर्न पनि पीडित परिवारले प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन्।
यसैबीच रूसी सेनामा ज्यान गुमाएका युवाका परिवाजनले शनिबार साँझ पशुपतिस्थित भस्मेश्वरघाटमा दीप प्रज्वलन गरेका छन्। ज्यान गुमाएका युवाको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको परिवारजनले बताएका छन्।
यो पनि पढ्नुहोस् :