समकालीन भारतको कूटनीतिक महात्म्य
असंलग्नताको नीतिलाई छोडेर संलग्नता, साझेदारी र सम्झौतातर्फ अघि बढिरहेको भारतका चुनौती र अवसरलाई एस. जयशंकरले ह्वाई भारत म्याटर्समा चर्चा गरेका छन्।
प्रधानमन्त्री जवाहरलाल नेहरूको पालामा भारतका लागि अमेरिकी राजदूत जोन केनेथ गालब्रेथले भारतलाई क्रियाशील अराजकता भएको मुलुक भनेका थिए। आज स्वतन्त्रताको ७५ वर्षपछि भने भारत आन्तरिक रूपमा व्यवस्थित र बाह्य रूपमा अन्तर्राष्ट्रिय शक्तिका रूपमा उदय भएको देखिन्छ।
विदेशमन्त्री एस. जयशंकरले भने भारतलाई सभ्यतागत राष्ट्रका रूपमा लिने गरिएको चर्चा गरेका छन्, ह्वाई भारत म्याटर्समा। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र जयशंकरले हालै प्रकाशित यस पुस्तकलाई समकालीन भारतको महात्म्य भनेका छन्।
आज भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बनेको छ। पाँच ट्रिलियन डलरको अर्थतन्त्र भएको भारतलाई विश्वमैत्रीका रूपमा व्याख्या गरेका छन्। कूटनीतिक सेवाबाट राजनीतिमा आएका उनले भारतीय विदेश नीतिका नयाँ आयामबारे पुस्तकमा चर्चा गरेका छन्।
डेढ दशकमा विश्व कूटनीति विश्वव्यापीकरण, पुन:सन्तुलन, बहुध्रुवीय, प्रविधिको प्रभाव र राष्ट्रहरूको खेलले भरिएको बताउँछन्। वर्तमानमा भारत बहुध्रुवीय विश्व चाहन्छ भने चीन बहुध्रुवीय विश्व र एकध्रुवीय अर्थात् आफैंमा केन्द्रित एशिया चाहन्छ। अमेरिका एकध्रुवीय विश्वकै दाबेदार हो।
यस्तो परिवेशमा जयशंकरले प्राचीन भारतदेखिको कूटनीतिको चर्चा गर्दै विश्वमा बन्दै गएको नयाँ समीकरणबारे चिन्तन गरेका छन्। पुस्तकको अन्तिम भागमा उनी ठूलो आकार, क्षमता र मूल्यमान्यताले गर्दा विश्वमा भारतले आफ्नो हैसियत खोजेको जिकिर गर्छन्।
११ भागमा विभाजित निबन्धहरूको संग्रहले मोदीको विश्वमित्रको अवधारणालाई पुष्टि गर्ने कोशिश गर्छ। एक दशकदेखि नेतृत्व गरिरहेका मोदीले भारतलाई विश्वमञ्चमा मजबूत तुल्याउन अंगीकार गरेका नीतिको विस्तारमा व्याख्या गरेका छन्।
सन् १९४७ मा बेलायती साम्राज्यबाट मुक्त भएको भारतको विदेश नीति जवाहरलाल नेहरूबाट सञ्चालित भयो। जसमा गृहमन्त्री सरदार बल्लभभाइ पटेल पनि संलग्न थिए। आज भारत नेहरूको धारणाबाट अलग हुँदै मोदीको नीतिबाट चलिरहेको जिकिर पुस्तकमा पाइन्छ।
शीतयुद्धको अन्त्य र सोभियत संघको विघटनपछि भारत अमेरिकासँग नजिकियो। यसबाट चीन विश्व व्यापार संगठनको सदस्य बनेर आर्थिक उन्नतितर्फ लाग्यो। चीनको उदय र त्यसले भारतलाई पार्ने प्रभाव पनि चर्चा गरेका छन्। चीन भारतका लागि चुनौती र अवसर बनेको उनको मूल्यांकन छ।
चीनको उदयलाई सन्तुलन गर्न बनेको इन्डोप्यासिफिक गठबन्धनमा भारत अमेरिकासँग नजिक छ। तर ब्रिक्स र संघाई को-अपरेशनमा चीनसँग सहकार्यमा छ। जयशंकरका अनुसार भारतलाई वर्तमान भूराजनीतिमा अघि बढ्न प्रशस्त उपाय र माध्यम छन्।
कोभिड-१९ कालमा विदेशमा रहेका भारतीयको उद्धार, कोभिड-१९ को औषधि सहयोग र केही महीनाअघि सम्पन्न जी-२० सम्मेलनको पनि जिकिर गरेका छन्। जी-२० सम्मेलनको निचोड वक्तव्यमा मतभेद नगरी सबै सदस्य राष्ट्रको सहमतिलाई जयशंकरले भारतको महत्त्वपूर्ण उपलब्धि मानेका छन्।
सन् १९९० पछि आर्थिक उदारीकरण गरेकाले भारत नयाँ आर्थिक शक्तिका रूपमा उदाएको हो। क्षेत्रीय रूपमा भारतले छिमेकी पहिलो नीति लिएको छ। दक्षिणपूर्वी एशियालाई ‘एक्ट इस्ट’ को नीति लिएको छ। भारत आफ्नो प्रभाव अफ्रिका र भूमध्यसम्म पुर्याउन सफल भएको छ। मध्यपूर्व र यूरोपलाई जोड्ने मार्ग बनाउने उद्देश्य लिएको छ।
उनले क्वाड भारत, अमेरिका, जापान र अस्ट्रेलियासँग सैनिक गठबन्धनभन्दा सहयोग र सहकार्यको मञ्चका रूपमा चर्चा गरेका छन्। सदाबहार कूटनीतिज्ञ जयशंकरले पुस्तकमा घटनाहरूको विवरणभन्दा नीति र सिद्धान्तको विवेचना गरेका छन्।
पुस्तकको अर्को पक्ष भनेको हिन्दू धर्मग्रन्थ रामायणका कथाको प्रसंगलाई भारतको कूटनीतिसँग जोडेर गरिएको चर्चा हो। पहिलो पुस्तक दी इन्डिया वेमा महाभारतको चर्चा गरेका थिए। यो पुस्तकमा प्राचीन राजनीति र प्रसंगलाई वर्तमानसँग जोडेर हेरेका छन। घरेलु मामिलामा आलोचित प्रधानमन्त्री मोदी विदेश मामिलामा सफल रहेको उनको दाबी छ।
उनले पुस्तकको नाममा ‘इन्डिया’ नराखेर ‘भारत’ राखेका छन्। उपनिवेशका क्रममा बेलायतीले इन्डिया नाम राखेकाले भारत सही भएको उनको तर्क छ। भारत भन्नाले सभ्यता र प्राचीनताको प्रतिनिधित्व गर्ने उनको जिकिर छ।
समकालीन भारत नेहरूको दशकौंको प्रभावलाई छोडेर नयाँ सिद्धान्ततर्फ लागेको देखिन्छ। शीतयुद्धकालमा असंलग्न राष्ट्रहरूको नेतृत्व गर्ने भारत अहिले संलग्नता, साझेदारी र सम्झौतातर्फ अघि बढेको छ।
यसर्थ, भारतका लागि अनेकौं चुनौती र अवसर उपलब्ध छन्। उनले यही चुनौती र अवसरको बाटोमा भारतलाई हिंडाउन खोजेका छन्। सन् १९४५ मा स्थापित विश्व व्यवस्था अमेरिकाबाट अन्यत्र सर्न खोजेको उथलपुथलमा भारतको भूमिकाबारे जयशंकरले पुस्तकमा स्पष्ट पारेका छन्।
पस्तक : ह्वाई भारत म्याटर्स, लेखक : एस. जयशंकर, प्रकाशक : रूपा, पृष्ठ : २५६, मूल्य : ६९५।- भा.रु.