गिट्टीले बाटो छेकिंदा छेउतिर लागेको लरीले लियो तीन बालबालिकाको ज्यान
ग्राभेल गर्न थुपारिएको मिक्स गिट्टी छल्न छेउतिर मोडिएको लरी पल्टिएर तीन बालबालिकाको ज्यान गएको छ भने एक जनाको खुट्टा काम नलाग्ने भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित नेमुवा चोकबाट पूर्व सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा फागुन ११ गते बिहान आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिएको हो। लरी चालक भने भागेका छन्। नजिकै रहेको मार्बल उद्योगका लागि गाडीमा भारतको राजस्थानबाट ढुंगा ल्याइएको थियो।
प्रहरीका अनुसार सानो चिया पसल सञ्चालन गरेर बसेका ज्योति अधिकारीको खुट्टा काम नलाग्ने गरी थिचिएको छ। ढुंगाले च्यापिएर उनका पाँच वर्षका छोराछोरी निशान र इशिता तथा छिमेकी बालिका सात वर्षीया रिया खवासको ज्यान गएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।
नहरको डिलमा चिया पसल सञ्चालन गरेर बसेका अधिकारी दम्पतीको विवाहको २० वर्ष सन्तान भएका थिएनन्। पाँच वर्षअघि मात्र जुम्ल्याहा सन्तान जन्मिएका थिए। तीनै जनाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ।
प्रत्यक्षदर्शीका अनुसार मार्बल बनाउने कारभन्दा ठूला आकारका ढुंगा लिएर आएको लरी सडकमा थुपारेको मिक्स गिट्टी छल्न छेउतिर लागेको थियो। त्यही क्रममा छेउको नरम माटोमा टायर भासिन थाल्यो।
“ट्रक पल्टिन्छ भनेर हामी हल्ला गर्दै थियौं, गाडीका कामदार माथि बिजुलीको पोलमा भएका तार उठाउँदै थिए,” एक स्थानीयले भने, “भासिंदै गरेको गाडी निकाल्न चालकले बल गर्दा इन्जिन भएको अगाडिको भाग फुत्किएर नहरमा छिर्यो।”
लरीको पछाडि भाग र इन्जिनमा मात्रै टायर हुन्छ। इन्जिन छुट्टिएपछि पछाडिको भाग अडिन सक्दैन।
ठूला ढुंगाले बालबालिकालाई किचेको खबर फैलिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेका थिए। ढुंगा काटेर बालबालिकाको शव निकाल्न साढे चार घण्टा लागेको मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
ढुंगा निकाल्नुअघि दुई वटा क्रेनले लरी उठाएका थिए। लरीले नहरको सडक ढाकेपछि उद्धारमा प्रयोग हुने अन्य उपकरण र एम्बुलेन्स छिराउने ठाउँ पनि भएन।
आक्रोशित स्थानीयले लरीलाई पनि नहरमै पल्टाउन खोजेका थिए। त्यसपछि क्रेनले लरीलाई नहरमै पल्टाएर डोजर र जेसीबी ढुंगा भएको ठाउँसम्म ल्याउन सम्भव भयो।
नहरमा बनेको कालोपत्रे भत्किएपछि पुनः बनाउन प्रदेश सरकारले गत वर्ष ठेक्का लगाएको थियो। ठेकेदारले सडक कालोपत्रे गर्न एक वर्षदेखि बाटोमा ढुंगा थुपारेर अवरोध गर्दै आएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले बताए। “यो दुःखद घटना हुनुमा ठेकेदारको गल्ती छ, ठेकेदारको लापरवाहीले एक वर्षदेखि बाटोमा गिट्टी थुपारिएको छ,” अध्यक्ष मगरले भने।
यो सडकमा कालोपत्रे गर्ने ठेक्का लगाउँदा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नै नगरेको उनको भनाइ छ। जसले गर्दा काममा ढिलाइ भएको गुनासो छ।
उनका अनुसार सुनसरीको दुहबीका बासिन्दा अधिकारी केही वर्षदेखि यो ठाउँमा पसल चलाएर बसेका थिए।