स्नातक कार्यक्रम फेरि तीनवर्षे बनाउँछौं : उपकुलपति बराल
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई फेरि तीनवर्षे बनाउने बताएका छन्।
त्रिविले २०७१/७२ सालदेखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरूआत गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार पदबहाली गरेपछि विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकलाई सम्बोधन गर्दै उपकुलपति बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपिएको बताए।
“बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, यूरोपेली मुलुक लगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ,” बरालले भने।
अमेरिका लगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, “त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्स सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।”
साथै, बरालले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुन सक्ने बताए। विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकोतर्फ औंल्याउँदै उनले अहिले मानविकी संकायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए।
यसको समाधानका लागि मानविकीलाई सबै संकाय र कार्यक्रमबाट आउन मिल्ने (मल्टिडिसिप्लिनरी लिबरल आर्ट)का रूपमा पुनःसंरचना गरिने जानकारी पनि दिए। शिक्षा संकायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने बरालको भनाइ थियो।
उनले त्रिविका शैक्षिक कार्यक्रमलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए। देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन-अनुसन्धानसँग जोड्न दीर्घकालीन योजना बनाइने जानकारी दिए।
“तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन-अनुसन्धानमा जोड दिनेछ,” बरालले भने। हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन-अनुसन्धानका कार्यक्रम पनि विशेष जोड दिएर उठाइने उनको भनाइ थियो। –रासस