अस्पतालबाटै २२ दिने शिशु हराए, बुबा भन्छन्, “अहिलेसम्म भेटिएको छैन, खोजिरहेका छौं”
२२ दिनको शिशु अस्पताल परिसरबाटै चोरी भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर पुगेको छ।
शुक्रबार बिहान ११ बजे थापाथलीस्थित प्रसूति गृहबाट शिशु हराएको भन्दै खबर आएको प्रहरीले जनाएको छ। घटना बिहान ११ बजेको भए पनि प्रहरीलाई साँझ ५ बजे खबर पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) भूपेन्द्र खत्रीले बताए।
शिशुका आमा र ठूली आमा अस्पताल पुगेका थिए। शिशुको जन्डिस उपचार भइरहेको र रिपोर्ट लिन अस्पताल गएको शिशुका बुबा पूजन श्रेष्ठले बताए।
आमा घाम तापेर बसेका वेला ठूली आमा रिपोर्ट लिन अस्पताल भित्र गएकी थिइन्। बच्चा कसरी हरायो भनेर श्रीमतीलाई सोध्नै बाँकी रहेको पूजनको भनाइ छ। “साढे १२ बजे श्रीमतीले फोन गरेपछि बच्चा हराएको थाहा पाएँ, खोज्न हिंडेको छु, बच्चा कसरी हरायो सोध्न पाएको छैन,” पूजनले भने।
प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बच्चा लिएर फलोअपमा गएकी महिलालाई झुक्याएर बच्चा लगेको देखिएको बताए। डा. अधिकारीका अनुसार २२ दिने शिशुकी आमा अस्पताल परिसरमा घाम तापेर बसिरहेकी थिइन्, त्यही वेला एक महिला आएर ‘रिपोर्ट लिन बच्चा चाहिने रहेछ, तपाईंको बच्चा लिएर रिपोर्ट लिन जान्छु’ भनेर झुक्याएर लगेकी हुन्।
“बच्चा बोकेर रिपोर्ट लिन भन्दै ओपीडीतिर लागेकी महिला त्यता नगई बाहिरतिर गएको सीसीटीभी फूटेजमा देखिएको छ,” डा. अधिकारीले भने।
शिशुको खोजीका लागि प्रहरी परिचालन भइसकेको एसपी खत्रीले बताए। सीसीटीभी फूटेज हेरेर शिशु लैजाने महिलाबारे पनि खोजी भइरहेको उनको भनाइ छ।