परदेशबाट गुन्जिरहेको नेपाली स्वर
स्कूले जीवनमा अंग्रेजी गीत गाउँदै हिंडेका विपुल क्षेत्री कालिम्पोङबाट नयाँ दिल्ली पुगेपछि भने हिन्दी होइन, नेपालीतिर आकर्षित भए।
बाजे कवि, बोजू सितारवादक। बुबा गायक र संगीतकारसँगै गीतकार पनि। बाजे, बोजू र बुबाको सामीप्यमा हुर्कन पाएनन्। तैपनि गीत, संगीत र शब्द उनका लागि कहिल्यै नौलो भएन। त्यसैले त सानैदेखि गिटार समाएर हिंडे, गीत लेख्ने प्रयास गरिरहे र अनेक धुन र लय सुसेलिरहे।
तिनै बालक नेपाली गीतसंगीत क्षेत्रमा चर्चित नाम बनेका छन्- विपुल क्षेत्री। बाजे र बोजूको त धेरै याद छैन, बेलायती सैनिक बुबा वीरेन्द्रमोहन क्षेत्री पनि विपुल तीन वर्षको छँदा नै बिते। बुबाको संगीतमोहको छाप भने उनमा अमिट बनेर रह्यो।
भारतको पूर्वी पहाडी शहर कालिम्पोङमा जन्मिएका विपुल बाल्यकलमा नै धेरै पटक नेपाल आएका थिए। धरान र पोखरामा आफन्त छन्। अहिले पनि आफन्त भेट्न आउजाउ गरिरहन्छन्।
नेपाल आउँदा उनलाई कुनै अलग देश आएको जस्तो लागेन, लाग्दैन। बाल्यकालदेखि आउजाउ गर्दाका स्मृति अझै पनि ताजा छन्। नेपाल आउँदा आफ्नै छरछिमेक, नातेदार भेट्न आए जस्तो लाग्छ।
पछिल्लो पटक नेपाल लिटरेचर फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि फागुन पहिलो साता पोखरा आइपुगे। फेवा ताल, माछापुच्छ्रेसँग अभ्यस्त विपुलले हिमालसँगको कुराकानीमा बाल्यकालका स्मृति सम्झिए, “नेपाल आउनु ‘युज् टु’ थिएँ, केही फरक लाग्दैनथ्यो।”
अस्तित्वको खोजमा नेपाली गीत
विद्यालयमा पढ्दादेखि नै उनी शब्द कोर्थे, धुन रच्थे र गाउँथे, अंग्रेजी भाषामै। किशोरावस्थामा पनि अंग्रेजी गीत गाउँदै सांगीतिक माहोलमा जम्दै गए। गीत–संगीतमा केही नयाँ गर्ने उद्देश्यले कालिम्पोङबाट डेढ हजार किलोमिटर टाढाको नयाँ दिल्ली पुगे।
तैपनि अंग्रेजी गीत-संगीतबाट सन्तुष्ट मिलिरहेको थिएन। खुलेर गाउने जति कोशिश गर्दा पनि केही न केही कमी भए जस्तो लाग्थ्यो। “अंग्रेजीमा नै गीत गाउँथें तर अपूर्ण महसूस हुन्थ्यो,” विपुल भन्छन्।
देशको राजधानी नयाँ दिल्लीको भीडमा हजारौं गायक तथा संगीतकारमाझ आफ्नो छुट्टै पहिचान बनाउन चाहन्थे। अंग्रेजी गायनमा सन्तुष्टि मिलेको थिएन, हिन्दीले पनि त्यति ऊर्जा भर्न सकेको थिएन। के गर्ने, कसो गर्ने भन्ने अलमल थियो। “त्यो समयमा आफ्नो अस्तित्वको खोजमा थिएँ,” विपुल भन्छन्, “अनि पहिलो पटक नेपालीमा लेखें।”
त्यो २०६९ सालको कुरा हो। कालिम्पोङमा बिताएका बाल्यकालका दिन सम्झिए। जाडो याममा घरपारिको जंगलमा डढेलो लागेको देखेकै थिए। उही कालिम्पोङ, उही हिउँद, उही जंगल, उही डढेलो, उही साँझ, केही फरक थियो त उमेर। बाल्यकालमा देखेको त्यही दृश्य सम्झिएर आफूभित्रको बहलाई शब्दमा उतारे। अनि कोरे :
डढेलो लाग्यो त्यो पारि डाँडा साँझतिर
लौ है, फेरि मनमा मेरो लाग्यो पीर
बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झललल...।
‘वाइल्डफायर’ अर्थात् डढेलो नाम दिइएको यो गीत विपुलको पहिलो नेपाली भाषाको गीत बन्यो। घरपारिको जंगलमा लागेको डढेलोलाई बिम्बका रूपमा प्रयोग गरेको उनी सुनाउँछन्। “बाल्यकालको त्यो स्मृतिलाई मैले बाहिरको डढेलो र भित्री मनको डढेलोका रूपमा ‘फ्यूजन’ गरेर लेखें,” विपुल भन्छन्।
यो गीतमा आफैंले धुन भरे र गाए। सामाजिक सञ्जाल यूट्यूबमा राखेर आफ्ना फेसबूकका साथीलाई सुनाए। एकै रातमा धेरैले हेरे, मन पराए। दर्शकबाट मिलेको प्रशंसाले उत्साहित बनायो। यो गीत यूट्यूबमा हालसम्म ७३ लाखभन्दा बढी पटक हेरिएको छ।
नेपाली गीत-संगीत विशेषतः पप संगीतमा त्यति वेला नयाँपन खोजी भइरहेको थियो। दैनिकजसो सुनिरहने र बनिरहने गीतभन्दा फरक धुनमा ‘डढेलो’ आएको थियो। जसले नेपाली पप सांगीतिक क्षेत्रमा नयाँ आयाम ल्याइदियो।
नेपाली भाषामा गीत लेखेपछि देशविदेशबाट प्रशंसा मात्रै पाएनन्, उनलाई आनन्द महसूस पनि भयो। सांगीतिक यात्रामा पहिलो पटक भित्रैदेखि खुशी लाग्यो, सन्तुष्टि मिल्यो। ‘डढेलो’ लेखेपछि महसूस गरेको अनुभूति सुनाउँदै विपुल भन्छन्, “नेपालीमा गीत लेखेपछि बल्ल मलाई आत्मसन्तुष्टि मिल्यो, मैले खोजेको यस्तो पो रहेछ भन्ने थाहा भयो।”
नेपालीभाषीको बाहुल्य रहेको दार्जीलिङ, सिक्किमको सेरोफेरोमा नेपाली भाषा बोल्दै हुर्किएका थिए। आफूभित्रको अनुभूति आफ्नै भाषामा व्यक्त गर्न पाउँदाको अनुभव उनले नेपाली गीत लेखनबाट लिए। “जुन भाषा बोलेर म हुर्किएँ, त्यही भाषामा आफूलाई अभिव्यक्त गर्न सकें,” विपुल सोचमग्न हुँदै भन्छन्, “त्यो अभिव्यक्त गर्न सक्नु ठूलो आत्मसन्तुष्टि रहेछ, यसले मलाई आफ्नो जरामा फर्काएको छ।”
नेपाली गीत रच्दा आफू पूर्ण भएको महसूस गर्छन्। बाल्यकालका स्मृति, गाउँघरको परिवेश, खोलानाला, नदी, तालतलैयासँगै पाखापखेरा भाका शब्दमा उनिन्छन्। जनजीवनको शब्दचित्र तयार हुन्छ। “आफ्नो भाषामा लेख्दा इमानदार भएर लेखिंदो रहेछ,” विपुल भन्छन्।
गीतमा गोरेटो
कालिम्पोङबाट सिक्कम ओहोरदोहोर भइरहन्छ। अझ दिल्ली होस् या काठमाडौं जाने बाटो सिलगुडी भएरै तन्किन्छ। त्यही बाटो भएर कालिम्पोङदेखि यात्रा गर्दै गर्दा लेखे, ‘तिमी जाने सिलगुडी, म जाने सिक्किमतिर।’
‘सिन्डिकेट’ नाम दिइएको यो गीतमा उनले एक्लै यात्रा गर्दा एक साथीको खोजबारे गरेको कल्पनालाई गीत मार्फत व्यक्त गरेका छन्। ‘डढेलो’ को सफलतापछि ‘सिन्डिकेट’ ले झन् चर्चा पायो।
त्यसपछि त उनको ब्यान्ड ‘विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’ ले ‘डढेलो’, ‘सिन्डिकेट’ गीत समावेश गरेर पहिलो अल्बम ‘स्केचेज अफ दार्जीलिङ’ सार्वजनिक गर्यो। यही अल्बममा समावेश एउटा गीत छ- ‘रामसाइँली’। यो गीत उनका बुबाले लेखेका थिए।
ब्यान्डमा ६ जनाले उनलाई साथ दिइरहेका छन्। गिटारमा प्रनई गुरुङ, बेसमा राहुल राई, ड्रममा अमन सिंह राठोर, सारंगीमा प्रिन्स नेपाली, साउन्डमा विनयमान अमात्य छन्। सबै व्यवस्थापनको जिम्मा म्यानेजर सोनम टासीले सम्हालिरहेका छन्।
ब्यान्डसँगै विपुलका हालसम्म ‘स्केचेज अफ दार्जीलिङ’, ‘माया’ र ‘समय’ गरी तीन अल्बम र दर्जनौं एकल गीत निस्किएका छन्। उनी आफैं गीत लेख्छन्, धुन सिर्जना गर्छन्। त्यसमा आफैं स्वर दिन्छन्।
उनका गीत व्यक्तिगत अनुभवमिश्रित छन्, ‘डढेलो’, ‘सिन्डिकेट’ होस् कि अन्य। त्यही पंक्तिमा अर्को गीत थपिएको छ- ‘आशिष’। छोरी जन्मिएको दिन नै यो गीत लेखेका थिए।
जीवनको बाटोमा तिमी सधैं अघि बढ
सफलताको शिखर तिमी सधैं माथि चढ
जित भए हार दुवैलाई स्वीकारेर हिंड
अहंकारलाई तिमी कहिल्यै आफ्नो नबनाउनु
अत्याचार कसैको कहिल्यै नसहनु
सुख भए पनि दुःखलाई नबिर्सनु...।
बुबा बनेपछिको अनुभूतिलाई गीतमा उतारेका छन्। एक बुबाले छोरीलाई आशिषस्वरूप गीत लेखेको सुनाउँछन्। “म नभएको वेला यो गीत सुनेर मैले उसलाई दिएको आशिष बुझोस् भनेर लेखें,” बुबा विपुल भन्छन्।
गीतमा भने जस्तै उनी पनि सफलताको जति उचाइमा पुगे पनि आफ्नो जरालाई बिर्सनु हुन्न भन्ने मान्यता राख्छन्। आफ्ना अनुभूतिलाई गीतको माध्यमबाट प्रस्तुत गर्छन्। आफैंले लेखेको गीत गाउनुुको आनन्द अरूमा नहुने बताउँछन्।
विपुल यात्रा गर्न रुचाउँछन्। यात्राकै क्रममा गीत जन्मिन्छन्। विशेष गरी यात्रामा पानी पर्दा र सपनामा गीतका लागि विचार फुर्ने गरेको सुनाउँछन्। कुनै घटनाविशेषबारे फुर्ने विचारलाई टपक्क टिपेर गीतको रूप दिन्छन्।
त्यस्तै, खोलानाला, नदी, भीरपाखाले पनि उनलाई गीत लेख्न प्रेरित गर्छन्। खोलाको आवाजबाटै प्रेरित भएर लेखेको गीत माघ १७ मा सार्वजनिक गरेका छन्, नाम दिएका छन्– ‘सलल’।
हिमताल विस्फोटले गत वर्ष सिक्किम र उत्तर बंगालमा बाढी आयो। नदीनालामा आएको बाढीले धनजनको क्षति गर्यो। त्यही प्रकोपबाट प्रभावितलाई विपुलले यो गीत अर्पण गरेका थिए।
धुन भने केही समयअघि नै रचेका थिए। प्राकृतिक प्रकोपको पीडाले गीत कोर्न बाध्य बनाएको उनी सुनाउँछन्। गीत सार्वजनिक भएपछि पोखरा पुगेका विपुलले नेपाल लिटरेचर फेस्टिभलमा पनि गाए- ‘सलल’।
याद आउँछ ती कलिला दिनहरू
जति जुनी आए नि टाढा
अहिले जस्तै लाग्छ ती क्षणहरू
थाहा नपाई बितेछ यो पल
तल आज बगेछ टिस्टा स ल ल...।
अबको यात्रा
विश्वविख्यात ग्रामी अवार्डमा नेपाली संगीत क्षेत्रबाट मतदाता हुन् विपुल। यसका लागि उनी २०७८ सालमा छनोट भएका थिए। ग्रामी अवार्डको मतदाताका रूपमा छनोट भएकोमा गर्व महसूस गर्छन्। “कति राम्रा कलाकारले यस्तो अवसर पाएका हुँदैनन्, त्यसैले म यस्तो अवसरलाई ‘ग्रान्टेड’ का रूपमा लिन्नँ, ‘हम्बल’ हुनु महत्त्वपूर्ण हुन्छ,” उनी भन्छन्।
स्कूले शिक्षाले पनि उनलाई विनम्र बनाउन सघाएको छ। भारतको सिक्किमबाट स्कूले शिक्षा पूरा गरेका उनले बेलायतको लन्डनमा कलेजको पढाइ गरे। लन्डनबाट पाश्चात्य गिटारवादनमा स्नातक गरेका छन्। नयाँ दिल्लीको वसन्त भ्याली स्कूलमा कला विभागका प्रमुखका रूपमा पनि कार्यरत छन्।
व्यस्त दैनिकीबीच पनि नयाँ नयाँ गीत लेख्न, संगीत भर्न र स्वर दिन समय निकालिहाल्छन्। सांगीतिक टूरमा पनि उत्तिकै व्यस्त उनी दिल्ली-कालिम्पोङ आउजाउ गरिरहन्छन्। अझ विदेश यात्रा त नियमितजसो भइरहन्छ।
तथापि नेपालसँगको नाता भने गीतसंगीतले नै गहिरो बनाएको छ। अंग्रेजीसँगको लेखाइपढाइ, हिन्दीसँगको उठबस भए पनि नेपालीसँगको हुर्काइबढाइले प्रभावित पारिरहेको छ। त्यसैले त परदेशबाट पनि नेपाली स्वर गुन्जिरहेको छ।