स्वर्गद्वारी गुठीपीडितद्वारा प्रशासन घेराउ
स्वर्गद्वारी गुठीपीडित मोही किसानले जिल्ला प्रशासन कार्यालय लगायत दाङका सरकारी कार्यालय घेराउ गरेका छन्।
स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले शुक्रबार नापी शाखा, जिल्ला प्रहरी कार्यालय, शिक्षा समन्वय समिति लगायत सरकारी कार्यालयमा घेराउ गरेको हो। शुक्रबार अपराह्न डेढ घन्टा घेराउ गरिएको संघर्ष समिति अध्यक्ष प्रभु चौधरीले बताए।
उनीहरू तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। आफ्ना माग सम्बोधन गर्न दबाब दिनका लागि घेराउ गरिएको समितिका अध्यक्ष चौधरीले बताए।
उनीहरूले फागुन १३ देखि १५ गतेसम्म राजनीति दलका कार्यालयमा धर्ना दिने, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेश कार्यालयमा धर्ना दिने र त्यही दिन पूर्व-पश्चिम राजमार्ग दुई घण्टा जाम गर्ने कार्यक्रम छ।
त्यसपछि उनीहरू काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिने भएका छन्। उनीहरूले गुठी जग्गा रैकर गर्नुपर्ने र मोही अधिकारलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।