नेपाली चिकित्सकको याचना अमेरिकी अदालतद्वारा अस्वीकार
नेपाली चिकित्सकले गरेको अमेरिकाको चिकित्सा अभ्यास अनुमतिपत्र परीक्षा (यूएसएमएलई)को नतीजा रद्द गर्ने निर्णय खारेजीको मागलाई अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बिया, वाशिङ्टनले अस्वीकार गरेको छ।
यूएसएमएलई परीक्षामा ८३२ जना नेपाली परीक्षार्थीको असामान्य नतीजा आएको र त्यसले परीक्षाफलको प्रामाणिकतामै प्रश्न उठेको भन्दै नेपाली परीक्षार्थीको नतीजा रद्द गरिएको थियो। त्यस विरुद्ध नेपाली चिकित्सक अदालत पुगेका थिए।
नेपाली भएकैले यूएसएमएलईले विभेदपूर्ण रूपमा परीक्षार्थीको योग्यता र भविष्यमाथि प्रश्न उठाउँदै नतीजा रद्द गर्नु गैरकानूनी भएको दाबी गर्दै एक चिकित्सकले मुद्दा दायर गरेका थिए। समग्रमा नेपाली चिकित्सकलाई ‘चोर’ दोष लगाउनु गलत भएको जिकिर गर्दै बोर्डले उचित क्षतिपूर्ति समेत दिनुपर्ने दाबी समेत गरिएको थियो। नेपाली चिकित्सकले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा यूएसएमएलईलाई निर्देशित गर्ने एनबीएमईलाई विपक्षी बनाइएको थियो।
एनएमबीईले परीक्षामा परीक्षार्थीले आफ्नो ज्ञान र चिकित्सकीय सीपभन्दा पनि प्रश्नको स्रोतमाथि पहुँच कायम गरेर सहभागी हुनु गम्भीर विषय भएको उल्लेख गर्दै अदालतलाई जवाफ लेखेको थियो। न्याशनल बोर्ड अफ मेडिकल एक्जामिनर्स (एनबीएमई)ले नेपाली चिकित्सकहरूले प्रश्नपत्रमाथि अनधिकृत पहुँच कायम गरेकाले नतीजा रद्द गर्नुपरेको दलिल अमेरिकी अदालतमा पेश गरेको थियो।
विभिन्न देशका परीक्षार्थीले पूर्व प्रश्नपत्रहरू गैरकानूनी रूपमा जम्मा गरेर आदानप्रदान गर्ने गरेको सूचना प्राप्त गरेपछि यूएसएमएलईले अनुसन्धान थालेको थियो। त्यही तथ्य न्याशनल बोर्ड अफ मेडिकल एक्जामिनर्स (एनबीएमई)ले अदालतमा पेश गरेको थियो।
सन् २०२१, २०२२ र २०२३ मा परीक्षा दिएकामध्ये ६१८ जना नेपाली परीक्षार्थीको एउटा चरणको नतीजा, २०२ जनाको दुई वटा चरणको नतीजा र १२ जनाको तीन वटै चरणको नतीजा रद्द गरिएको हो।
बोर्डको साइकोमेट्रिक्स एन्ड डेटा एनालाइसिस (पीएडीए) युनिटले नेपाल लगायत जोर्डन, पाकिस्तान र भारतका दुई वटा परीक्षा केन्द्रको तथ्यांक विश्लेषण गरेकोमा नेपालबाट प्राप्त नतीजामा अनियमितता देखिएका प्रमाण अमेरिकी अदालतमा पेश गरेको थियो। बोर्डले विश्वभरका ४०० भन्दा बढी परीक्षा केन्द्र (अमेरिका र क्यानडामा रहेको ३१५) को नतीजा विश्लेषण गर्दा नेपालबाट सहभागी भएकाहरूले औसतमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने गरेको देखिएको र पछिल्लो समय नेपालबाट सहभागी हुने परीक्षार्थीको संख्यामा पनि ३.५ गुणाले बढोत्तरी भएको दाबी गरेको थियो।
बोर्डले अमेरिकी अदालतमा पेश गरेको दलिल अनुसार नेपालबाट परीक्षामा सहभागी हुनेहरूको औसत अंक नै २४० रहेको र अन्य देशबाट सहभागी हुनेहरूको औसत उच्च अंक २२७ मात्रै छ।
त्यसका आधारमा अमेरिकी अदालतले निर्णय सुनाएको मेडपेजटुडेले उल्लेख गरेको छ। अदालतको यो आदेशसँगै नेपाली चिकित्सकको नतीजा रद्द गर्ने यूएसएमएलईको निर्णय यथावत् छ।