पोषण सुधारका लागि स्तरोन्नति गरिएको चामल वितरण
बाल मृत्युदर र कुपोषणको समस्या निराकरण गर्न कर्णाली प्रदेशमा भिटामिन र खनिज मिश्रण गरेको चामलको बिक्रीवितरण थालिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कुुपोषण न्यूूनीकरणका लागि पौष्टिक तत्त्व मिसाइएको चामल (फोर्टिफाइड राइस) वितरण थालेको खाद्य कम्पनीको बर्दियाका प्रमुख केशव बुढाले बताए। यो चामल कर्णाली प्रदेशका कालीकोट, मुुगुु, हुुम्ला, जुुम्ला र डोल्पा जिल्लामा वितरण गरिनेछ।
विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले पाँच जिल्लामा वितरण गर्न थालेको हो। यो चामलले बाल मृत्युदर कम गर्ने अपेक्षा गरिएको बुढाले बताए।
खाद्य कम्पनीले बर्दियास्थित राजापुरमा रहेको मिलमा चामलमा पौष्टिक तत्त्व स्तरोन्नतिका लागि आवश्यक पर्ने मशिनरी तथा अन्य सामग्री जडान गरेर उत्पादन थालेको हो। स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन ‘बी-१२’, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाइन्छ।
भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिसाएर मशिनले चामलको जस्तै आकार र रङमा उत्पादन गर्ने गरिन्छ। “पहिलो चरणमा २०८१ असोजसम्म सात हजार मेट्रिक टन स्तरोन्नति गरिएको चामल वितरण गर्ने लक्ष्य छ,” बुढाले हिमालखबरसँग भने, “दोस्रो चरणमा अन्य जिल्लामा समेत स्तरोन्नति गरिएको चामल वितरण गरिनेछ।”
चामलको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिंक ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१ मिलिग्राम, फोलिक एसिड ०.२४ देखि ०.५९ मिलिग्राम र भिटामिन बी-१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्छ। पौष्टिक तत्त्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिंक स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी-१२ को स्रोतका लागि साइनोकोबलामाइन जस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ।
नेपालमा विभिन्न प्रकारका कुुपोषणको दरमा सुधार आइरहेको भए पनि सूक्ष्म पोषक तत्त्वको कमीका कारण हुने कुुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हुने कुुल बाल मृत्युुदरको ४५ प्रतिशत कुुपोषणका कारणले भएको देखिएको छ। हिमाली क्षेत्रका महिला, बालबालिकालाई पोषण अपुग हुने भएकाले कर्णाली प्रदेशका जिल्लामा आपूर्ति गरिने चामलमा पोषक तत्त्व मिसाइएको हो।
कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालीकोटका लागि दुई वर्षसम्म ७२ हजार टन चामल स्तरोन्नति गरिने लक्ष्य छ। नेपालमा यसअघि आयोडिन मिसाइएको नुन प्रयोगमा आए पनि चामलमा भने पहिलो पटक भिटामिन र खनिज मिसाइएको हो।