‘पानी र बदाम बेचेको पैसा सहकारीमा बचत गर्यौं, फिर्ता कहिले पाउँछौं?’
खाई नखाई बचत गरेको रकम कान्तिपुर सहकारीले फिर्ता नदिएपछि बिचल्लीमा परेका बचतकर्ताहरू न्यायको लागि प्रहरी कार्यालयदेखि सहकारी विभागसम्म धाइरहेका छन्।
हातको झोलामा पानीको बोतल, अनुहारमा मलिन भाव। केशरीमाया तामाङ (४२) गत मंगलबार मध्याह्न महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा चिन्तित मुद्रामा भेटिइन्। कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएकाहरू सहकारी विरुद्ध उजुरी दिन प्रहरी कार्यालयमा पुगेका थिए। केशरी पनि आफ्नो बचत रकम फिर्ता पाउने आशामा निवेदन दिन श्रीमान् चन्द्रबहादुर आले मगर (५५) सहित पुगेकी थिइन्।
२५ जना जतिको समूह बनाएर गएका पीडित बचतकर्ताहरू प्रहरी वृत्त परिसरमा लेखनदासलाई पालैपालो निवेदन लेख्न लगाइरहेका थिए। प्रतिनिवेदन रु.एक हजार लिएर उजुरी लेख्न व्यस्त थिए लेखनदास। लेखपढ गर्न नजान्ने चन्द्र-केशरी दम्पती निवेदन लेखाउन पैसा पर्ने भएपछि उजुरी नदिई फर्कन खोजे।
“पैसा जति सहकारीले खाइदियो, निवेदन लेखाउन कहाँबाट ल्याउनु पैसा?” चन्द्रले भने।
दु:खले आर्जेर जम्मा गरेको रकम सहकारी संकटमा परेर डुबेपछि आफ्नो दुःख बिसाउन यो दम्पती बिहानैदेखि प्रहरी कार्यालयमा थिए। दुवै निराश देखिन्थे। केही बेरमा अर्का सहकारीपीडितले संयुक्त रूपमा उजुरी दिंदा पैसा कम पर्ने बताएपछि चन्द्र सहित पाँच जना मिलेर निवेदन लेखाए।
उदयपुर घर भएका चन्द्र र केशरी १४ वर्षीया छोरी सहित असनमा भाडाको कोठामा बस्छन्। चन्द्र फूटपाथमा बदाम बेच्छन्। केशरी रत्नपार्क क्षेत्रमा पानी बेच्छिन्। पानी बेच्दाबेच्दै कहिले नगर प्रहरीले लखेट्छ, कहिले खोसिदिन्छ।
सहकारीमा पैसा राख्दा ब्याज आउँछ भन्ने सुनेका उनीहरूले यही आशामा बदाम र पानी बिक्रीको रकमबाट केही जोगाएर कान्तिपुर सहकारीमा बचत गर्न थाले। नाङ्लो पसलको कमाइबाट खाई नखाई गरेर २०६३ सालदेखि सहकारीमा बचत गर्न थालेको केशरीले बताइन्। “ब्याज पाइन्छ भनेर दैनिक १००-२०० रुपैयाँ जम्मा गर्दै गइयो, आज सावाँ नै गुम्ने अवस्था आयो,” उनले भनिन्।
एकातिर काठमाडौं महानगरपालिकाले फूटपाथमा व्यापार गर्न रोक लगाएर जीविकाको मेलो खोसेको र अर्कातिर दु:खको कमाइ सहकारीले खाइदिएको गुनासो उनले पोखिन्।
कान्तिपुर सहकारीमा उनीहरूको रु.दुई लाख २१ हजार बचत छ। प्रहरी कार्यालयमा भेटिएका जोकोहीलाई उनीहरू आफ्नो पैसा फिर्ता मागिदिन बिन्ती बिसाइरहेका थिए।
“कति चोटि सहकारीको अफिसमा गएर पैसा माग्दा यति दिनमा दिन्छौं भनेर भाखा राखे, तर त्यस्तो म्याद कति गए कति,” चन्द्रले हामीसामु पनि बिन्ती बिसाए, “कसरी हुन्छ हाम्रो पैसा मागिदिनुस् न है, नानी।”
सञ्चालकहरूले बचतकर्ताको रकम दुरुपयोग गरी व्यक्तिगत घरजग्गा र व्यवसायमा लगानी गरेपछि कान्तिपुर सहकारी संकटमा फसेको हो। दुई वर्षयता बचत रकम फिर्ता माग्दा सहकारीले रित्तै हात फर्काएपछि बचतकर्ताहरूले संगठित रूपमा आन्दोलन गर्दै आएका छन्। उनीहरू अन्य पीडितसँगै मिसिएर कहिले माइतीघर मण्डलमा धर्ना बस्ने त कहिले सहकारी विभाग र प्रहरी कार्यालयको चक्कर काटिरहेका छन्।
केशरीको उपचार मानसिक अस्पताल, पाटनमा भइरहेको छ। “म बिरामीले पानी बेचेर जम्मा गरेको पैसा पनि सहकारीले खाइदियो,” गहभरि आँसु पार्दै उनले भनिन्।
अहिले चन्द्रसँग श्रीमतीको उपचार गराउने पैसा पनि छैन। पानी र बदाम बेचेर बिहान-साँझको छाक टार्दै आएका उनीहरू पछिल्लो समय न्यायका लागि दौडिन थालेपछि खाना र कोठा भाडाको खर्च जुटाउन हम्मे परिरहेको सुनाउँछन्।
कान्तिपुर सहकारीकै बचतकर्ता चन्दा खड्गीको पीडा पनि कम छैन। सहकारीमा उनको रु.तीन लाख बचत छ। श्रीमान्विहीन उनको कपडाको सानो पसल छ। पसलको थोरतिनो आम्दानीबाट सहकारीमा राख्ने गरेकी उनी पैसा फिर्ता नपाउँदा पिरोलिएकी छिन्। “बच्चाको भविष्यका लागि भनेर दु:खले जोगाएको पैसा सहकारीले खाइदियो,” उनले भनिन्।
कान्तिपुर सहकारीमा अर्की पीडित मीरा आचार्यको रु.१४ लाख ९८ हजार फसेको छ। पाटनमा उनी श्रीमान् र छोराछोरी सहित बस्छिन्। रकम फिर्ताको माग गर्दै उनी पनि पछिल्लो समय पीडितको समूहमा हिंडिरहेकी छिन्।
सहकारीको बचत नपाउँदा आफ्नो भोक र निद्रा हराएको उनले सुनाइन्। उनका अनुसार छोराछोरीको विद्यालयको शुल्क तिर्ने पैसा नहुँदा परीक्षाबाट वञ्चित हुने अवस्था छ। “यही फागुनभित्र फी तिर्नुपर्नेछ, नत्र विद्यालयले परीक्षामा बस्न दिंदैन,” उनले भनिन्। बचत फिर्ताका लागि धाउँदाधाउँदै अब त आउजाउ गर्ने भाडा पनि नभएको उनको दु:खेसो थियो।
सहकारीबाट ठगिएको भन्दै पछिल्लो समय उजुरीका लागि प्रहरी कार्यालयको मुद्दा शाखामा पीडितको भीड लागिरहेको छ। तीनकुनेमा मुख्य कार्यालय रहेको कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेपछि उजुरी दिनेको संख्या बढेको प्रहरी स्रोतले जनाएको छ। दैनिक ३० देखि ४० वटा उजुरी दर्ता भइरहेको बताइएको छ।
सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि ठकुरी लगायत सञ्चालकहरू विरुद्ध परेको उजुरीका आधारमा प्रहरीले ठकुरीलाई ठगीको आरोपमा फागुन १ मा पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी विरुद्ध रु.६२ करोड १० लाख ११ हजारभन्दा बढीको रकमको बिगो सहित ३५० जनाको जाहेरी परेको छ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत, काठमाडौंले ठकुरी सहित कान्तिपुर सहकारीका ६ जना सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। सहकारी विभागको सिफारिशमा कान्तिपुर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले फागुन ३ मा समस्याग्रस्त घोषणा गरेको थियो। कान्तिपुर सहकारीमा सात हजार बचतकर्ताको रु.६ अर्ब १३ करोड बचत छ।
आन्दोलन र संघर्ष
सहकारी संस्थाहरूले बचतकर्ताको रकम फिर्ता नगरेपछि देशभरका सहकारीपीडित संगठित भई सडक संघर्षमा उत्रेका थिए। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति गठन गरी उनीहरू गत जेठ २० गतेदेखि माइतीघर मण्डलमा धर्नामा उत्रेका थिए। समिति र सरकारबीच सातबुँदे सहमति भएपछि साउन १८ गते आन्दोलन स्थगन गरिएको थियो।
तर उक्त सहमति कार्यान्वयन नभएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा पीडितहरू गत फागुन ६ गतेदेखि सहकारी विभाग अगाडि धर्नामा बसेका छन्।
अभियानका अनुसार २८६ वटा सहकारीबाट पीडित बचतकर्ताहरू सम्पर्कमा आएका छन्। अहिलेसम्म १४ लाखभन्दा बढी उजुरी आएको अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए।
हालसम्म सरकारले १८ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ।
याे पनि पढ्नुहाेस् जनता रुवाउने सहकारी