आजदेखि मौसम क्रमिक रूपमा सुध्रने
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकीमा मौसम सफा रहनेछ। काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ। बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौं सहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ।
आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
बिहीबार काठमाडौंमा ३.६ मिलिमिटर वर्षा भएको थियो भने पोखरामा ७.५, घोराहीमा ५.८ तथा दिपायल र डडेल्धुरामा समान तीन मिलिमिटर वर्षा भएको थियो।