ललिता निवास प्रकरणका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइयो : एमाले
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य निर्णयकर्ताहरूलाई सत्ता गठबन्धनमा भएकैले जोगाएको निष्कर्ष निकालेको छ।
एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले पारित गरेको २२ बुँदे समसामयिक प्रस्तावमा भनिएको छ, ‘गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको छ।’
सुन तस्करीमा मुछिएका सत्तारूढ दलका नेताहरूलाई सफाइ दिइएको र विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीपिच्छे दोहोरो मापदण्ड अपनाइएको एमालेको आरोप छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको छ।’
बालकुमारी घटनामा छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने एमालेको माग छ।