कटन क्यान्डीले क्यान्सर गराउन सक्ने, भारतका केही राज्यमा प्रतिबन्ध
क्यान्सर हुन सक्ने देखिएपछि भारतका केही राज्यमा कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध लगाइएको छ।
गत साता तामिलनाडु राज्यले कटन क्यान्डीका केही नमूना प्रयोगशालामा परीक्षण गराएको थियो। त्यसमा क्यान्सर हुन सक्ने तत्त्व ‘रोडामाइन–बी’ भेटिएको हो। त्यसपछि तामिलनाडु राज्यले कटन क्यान्डी बिक्रीवितरणमा रोक लगाएको हो।
अघिल्लो महीना मात्र पोन्डिचेरीमा पनि कटन क्यान्डी बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको थियो। भारतका अन्य राज्यले पनि कटन क्यान्डीका नमूना परीक्षण गरिरहेका छन्।
भारतमा बालबालिकामाझ कटन क्यान्डी प्रसिद्ध छ। पार्क, मेला र अन्य मनोरञ्जक क्षेत्रमा कटन क्यान्डी बेच्न राखिएको पाइन्छ।
केही भारतीय विज्ञ कटन क्यान्डी जति राम्रो र आकर्षक देखिए पनि यो साह्रै घातक भएको बताउँछन्। चेन्नईका खाद्य सुरक्षा अधिकारी पी. सतिस कुमारले भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेससँग कुरा गर्दै कटन क्यान्डीले क्यान्सर मात्र गराउने र शरीरका सबै अंगमै प्रतिकूल असर गर्न सक्ने बताए।
उनी नेतृत्वको टोलीले गत साता समुद्री किनारामा बेच्न राखिएका सबै कटन क्यान्डी जफत गरेको थियो। जफत गरिएका कटन क्यान्डी डुल्दै हिंड्ने विक्रेताले बनाएको र त्यस्ता कुनै पनि कटन क्यान्डी दर्ता गरिएको उद्योगमा उत्पादित नभएको उनले बताए।
त्यसको केही दिनपछि नै सरकारले कटन क्यान्डीमा ‘रोडामाइन–बी’ पाइएको जनाउँदै बिक्रीवितरणमा रोक लगाएको हो। कटन क्यान्डीमा उपयोग हुने चहकिलो गुलाफी रङ कपडा रंग्याउन, सौन्दर्य प्रशाधन र मसीका रूपमा प्रयोग हुने गर्छ।
विभिन्न अध्ययनमा यस रसायनले क्यान्सरको जोखिम बढ्ने देखिएपछि यूरोपका केही स्थान र अमेरिकाको क्यालिफोर्निया राज्यमा खाद्य वस्तु रंग्याउन यसको प्रयोगमा प्रतिबन्ध लगाइसकिएको छ।
तामिलनाडुमा कटन क्यान्डी प्रतिबन्धित भएको सूचना जारी गर्दै प्रान्तीय स्वास्थ्यमन्त्री मा सुव्रमण्यमले ‘रोडामाइन–बी’ उपयोग भएको खाद्यवस्तु बिहे, भोज वा सार्वजनिक समारोहमा दिइएको पाइएमा कारबाही गरिने बताएका छन्।
तामिलनाडुमा कटन क्यान्डीमाथि प्रतिबन्ध लागेसँगै छिमेकी राज्य आन्ध्र प्रदेशले पनि बजारमा पाइने कटन क्यान्डीको नमूना संकलन गरेर परीक्षण गरिरहेको छ। यससँगै भारतको राजधानी दिल्लीमा रहेका खाद्य सुरक्षा अधिकारीलाई कटन क्यान्डीमाथि प्रतिबन्ध लगाउन दबाब परेको जनाएको छ। (बीबीसीबाट)