काठमाडौंमा वर्षा, अन्तर्राष्ट्रिय उडान प्रभावित
काठमाडौं लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ।
काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको बताइन्।
काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ४.८ मिलिमिटर वर्षा भएको छ।
“अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ।” मौसमविद् कँडेलले भनिन्, “आज राति पनि वर्षाको सम्भावना छ।”
शुक्रबारदेखि देशको पश्चिम भेगबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने उनले बताइन्। “भारी वर्षा र हिमपात हुने सम्भावना छैन तर वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ,” उनले भनिन्।
प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। आज अपराह्न्न भारतको मुम्बईबाट आएको इन्डिगो एअरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनउ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
उनका अनुसार आन्तरिक हवाई उडानतर्फ भने सामान्य अवरोध छ। “आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रूमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ,” प्रवक्ता झाले भने। -रासस