म धार्मिक स्वतन्त्रताको पक्षमा छु : डा. शशांक कोइराला
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई धर्मनिरपेक्ष बनाउने र अन्य दलसँग गठबन्धन गर्ने दुवै निर्णय गलत भएको बताएका छन्।
कांग्रेस महासमिति बैठक समापन कार्यक्रममा बोल्दै डा. कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जानुपर्ने धारणा राखेका हुन्। डा. कोइरालाले भने, “न धर्मनिरपेक्ष हुन्छ न धर्मसापेक्ष हुन्छ, धर्म स्वतन्त्र हुन्छ। कांग्रेसको चारतारे झन्डामा एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो। धर्म स्वतन्त्र हुन्छ, दुर्भाग्यवश हामीले धर्मनिरपेक्ष बनायौं, यो गलत हो।”
चुनावअघि कांग्रेसले गठबन्धन गर्नै नहुने कोइरालाको भनाइ छ। “हाम्रो पार्टी कमजोर छैन। कांग्रेसले गठबन्धन गर्नुपर्ने आवश्यकता देख्दिनँ। गठबन्धन पार्टीकै साथीहरूसँग गर्नुस्। चुनाव अगाडिको गठबन्धन दुर्भाग्य हो,” डा. कोइरालाले भने।