गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगन भएको छ।
बैठकमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेश गर्ने समयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए। सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेश गर्न लाग्दा नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकीन गर्न माग गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले तीन मिनेटको जनाउ घन्टी बजाएर सचिवालय मार्फत संख्या यकीन गर्न लगाएका थिए। बैठकमा एकचौथाइ सदस्य नपुगेपछि विधेयक पेश गर्ने कार्यसूची हटेको थियो।
सभामा हाल कायम सांसदको एकचौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उपस्थित थिए। नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेश गर्दा कम्तीमा एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।
त्यसपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक स्थगन गरेका हुन्। अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ।
अहिले प्रमुख दुई दलका पदाधिकारीहरू आफ्ना बैठकमा व्यस्त छन्। नेपाली कांग्रेसको महासमिति बैठक र एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ। जसले गर्दा सांसदहरू प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन नसकेको जनाइएको छ।