सत्ता गठबन्धनमा विरोधी समाप्त पार्ने कुरा हुन्छ, जनसरोकारको कुरा हुँदैन : सीके राउत
सत्तारूढ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सत्ता गठबन्धनको बैठकमा जनसरोकारको विषयमा कहिल्यै छलफल नभएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष राउतले गठबन्धनको बैठकमा विरोधी र प्रतिस्पर्धी समाप्त पार्ने विषयमा मात्र छलफल हुने गरेको बताएका हुन्। पछिल्लो एक वर्ष गठबन्धनको बैठकमा जाँदा जनतासँग सम्बन्धित विषयमा छलफल नभएको राउतको भनाइ थियो।
“म पनि गठबन्धनमै छु। गठबन्धनको बैठकमा जाँदा जनसरोकार विषयमा छलफलै भएको पाउँदिनँ,” राउतले भने, “सत्तामा कसरी टिक्ने, गठबन्धन कसरी जोगाउने र प्रतिस्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको देख्छु।”
जंगबहादुर राणा सेतो बाघसँग तर्सिए जस्तै अहिलेका नेताहरू आफैंले ल्याएको गणतान्त्रिक व्यवस्थासँग त्रसित हुने गरेको राउतको भनाइ थियो।