लिस्ट ‘ए’ मा पनि नेपालको फितलो ब्याटिङ, क्यानडालाई १८२ रनको लक्ष्य
क्यानडासँगको लिस्ट ‘ए’ को तेस्रो खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन।
बिहीबार मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो। क्यानडाका बलरसामु नेपाली ब्याटरले खुलेर खेल्न सकेनन्।
नेपालका लागि सन्तोष घिरैयाले २८, अर्जुन कुमालले २७, बशिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, रसिद खान र प्रतिश जीसीले १९-१९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
क्यानडाका लागि निकोलस किर्टोन, डिलोन हेलिगर र हर्ष ठाकेरले दुई-दुई तथा कलीम साना र साद बिन जफरले एक-एक विकेट लिए।
नेपाल भ्रमणमा रहेको क्यानडाको ‘ए’ टोलीले नेपालको ‘ए’ टोलीसँग एकदिवसीय प्रतियोगिता खेलिरहेको छ। नेपाल र क्यानडाबीच चलिरहेको प्रतियोगिताको यो तेस्रो खेल हो।
पहिलो खेल क्यानडाले चार विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले दुई विकेटले जितेको थियो।