चीनसँग जोडियो तमोर करिडोर
राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई सडक सञ्जाल मार्फत चीनसँग जोडेको छ।
टिप्ताला नाका हुँदै चीन जोडिने सडक मंगलबार ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोर चीनसँग जोडिएको हो। यो करिडोरले दक्षिणमा भारतलाई जोडेको छ।
चीनले चार वर्षअघि नै समुद्री सतहदेखि पाँच हजार २०० मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो। ओलाङचुङगोला हुँदै सेराप बगरसम्म चिनियाँ कम्पनीले ‘ट्र्याक’ खोलेको थियो। नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्र्याक खोलिएको थियो।
नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा मंगलबार साँझ जोडिएको उत्तर-दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए।
तमोर नदीको उद्गमस्थल टिप्ताला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ। उत्तर-दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजना अन्तर्गत सञ्चालित सडकको ट्र्याक खोलिएको आयोजना प्रमुख खड्काले बताए। आयोजनाका अनुसार सडक निर्माण काठमाडौंको एसबीए एलाइट जेभीले गरेको हो।
ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश चीनसँग सडक सञ्जालले जोडिएको छ। एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का रु.४४ करोडमा लिएको थियो। तापेथोकबाट काम थालेको ६ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनीका अनुसार अब ६ वटा मशिन लगाएर टिप्ताला नाकासम्म यसअघि खुलाएको ट्र्याकलाई मर्मत गरेर वैशाखमा काम सक्ने योजना छ।
मूलघाट-दोभान-ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर छ। ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्मको दूरी २४ किलोमिटर छ। तमोर करिडोरको लम्बाइ २५४ किलोमिटरमा छ। कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमानाका जोगबनीबाट सुनसरीको चतरा ५१ किलोमिटर टाढा छ।
२०६५ सालमा तमोर करिडोर निर्माण थालिएको थियो। २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो। चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलाङचुङगोलाका स्थानीय उत्साहित भएको फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोलाका वडा सदस्य टासी शेर्पाले बताए।
सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्र्याक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामाले बताए। ओलाङचुङगोलामा सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको लामाको भनाइ छ। -रासस