कांग्रेस महासमिति बैठकमा ३८५ नेताले बोले, प्रदेशलाई बलियो बनाउन जोड
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा बुधबार ३८५ जनाले आफ्नो धारणा राखेका छन्।
महासमिति बैठकमा फागुन ८ मा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए। पाँचै प्रतिवेदनमाथि फागुन ९ मा चार वटा हलमा समूहगत छलफल भएको हो।
प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यलाई गोदावरी हल, कर्णाली र मधेश प्रदेशलाई विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशलाई फूलचोकी हल तथा लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिलाई कोन्ज्योसोम हल छुट्याइएको थियो।
चारै हलमा भएको बन्दसत्रको शुरूआतमा जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, जनसम्पर्क समितिका प्रमुखले पाँचै प्रतिवेदनमाथि आफ्नो धारणा राखेको कांग्रेस प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले बताए।
त्यसपछि महासमिति सदस्यले बोलेका थिए। उनीहरूले संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। यसका लागि प्रदेशलाई अधिकार दिनुपर्ने उनीहरूको भनाइ थियो।
त्यस्तै, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्नेमा पनि महासमिति सदस्यले जोड दिएका छन्।
यससँगै कांग्रेस महासमिति सदस्यहरूले नागरिकताको विषय पनि उठाएका छन्। उनीहरूले कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने धारणा राखेको विश्वकर्माले बताए। त्यस्तै, कांग्रेसको क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने माग गरेका छन्। सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएका छन्।
चारै हलमा ३८५ जनाले आफ्नो धारणा राखेका छन्। गोदावरी हलमा ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यले बोलेको विश्वकर्माले जानकारी दिए। चारै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यले महासमिति सदस्यको सुझावलाई टिपोट गरिरहेका छन्।
अब फागुन १० गते बिहानी सत्रमा समूहगत छलफलबाट प्राप्त सुझावलाई प्रदेश सभापतिहरूले पेश गर्नेछन्। यसमा कांग्रेस पदाधिकारी पनि उपस्थित रहनेछन्। त्यसपछि अपराह्न मात्रै समापन समारोह हुने विश्वकर्माले बताए।