शेयर बेच्न कम्पनीहरूद्वारा वित्तीय विवरणमा गोलमाल, सर्वसाधारणमाथि छल
बलियो आर्थिक हैसियत देखाएर सर्वसाधारणलाई प्राथमिक शेयर बेचेका कम्पनीहरूको व्यवसाय एकाएक खस्किएको देखिनुले शेयर बेच्न गलत विवरण प्रस्तुत गरिएको प्रस्ट्याउँछ।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीहरूले सर्वसाधारणलाई शेयर बेच्न कम्पनीको आर्थिक हैसियत खुलाउने वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ। यसमा कम्पनीको कारोबार, नाफा-नोक्सान, ऋण-धन मात्र होइन, भविष्यमा गर्ने व्यवसाय र नाफाको आकलन समेत प्रस्तुत गरिएको हुन्छ। सर्वसाधारणले यही विवरण हेरेर कम्पनीमा लगानी गर्ने वा नगर्ने निधो गर्छन्।
कम्पनीहरूले सर्वसाधारणलाई देखाउने आर्थिक हैसियतमा छेडखानी नहोस् र बढाइचढाइ विवरण नदेखाइयोस् भनेर नियामक निकायले जाँच गरेपछि मात्रै ती कम्पनीले शेयर बिक्रीको अनुमति पाउँछन्। तर बितेका दुई वर्षमा कम्पनीहरूले सर्वसाधारणलाई शेयर बेच्न देखाएको आर्थिक हैसियतको सत्यतामा प्रश्न उठेको छ। किनभने सर्वसाधारणलाई प्राथमिक शेयर बिक्री गर्नुपूर्व उच्च नाफा कमाएका, स्वस्थ देखिएका कम्पनीहरू अहिले एकाएक घाटामा गएका तथा प्रक्षेपण गरिएभन्दा निकै थोरै मात्र नाफा कमाएका छन्। ती कम्पनीहरूले सर्वसाधारणलाई शेयर बिक्री गर्नुअघि र बिक्री गरिसकेपछिको वित्तीय विवरणको तुलना गर्दा बिक्रीअघि देखाइएको विवरण बढाइचढाइ गरिएको हुन सक्ने देखिएको हो।
घोराही सिमेन्ट, सोनापुर मिनरल्स, नेपाल रिपब्लिक मिडिया, सिटी होटल लगायत कम्पनीहरूले प्रक्षेपण गरेको कारोबार र नाफा सहितको वित्तीय अनुमान पूर्ण रूपमा गलत भएको छ। जसले गर्दा भविष्यमा कम्पनीले नाफा कमाउला भनी लगानी गर्ने सर्वसाधारण झुक्यानमा परेका छन्। “यसले कतै सर्वसाधारणलाई झुक्याएर शेयर बिक्री गर्न कृत्रिम वित्तीय विवरण तयार गरिएको त होइन भन्ने शंका उब्जाएको छ,” अनुभवी ब्यांकर तथा वित्तीय विश्लेषक परशुराम कुँवर क्षेत्री भन्छन्।
नाफाको प्रलोभन, कम्पनी घाटामा
घोराही सिमेन्ट इन्ड्रस्ट्री लिमिटेडले गत वैशाखदेखि असारसम्म झन्डै साढे तीन अर्ब रुपैयाँको प्राथमिक शेयर बिक्री गर्न सार्वजनिक गरेको वित्तीय विवरणमा २०७९ पुससम्म कम्पनीको नाफा रु.एक करोड ५८ लाख र प्रतिशेयर आम्दानी ०.५० पैसा रहेको उल्लेख थियो। कम्पनीले २०८१ असारसम्म ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाउने भनी प्रक्षेपण गरेको थियो।
तर कम्पनीले त्यो परिमाणको नाफा कमाउनु त परको कुरा, उल्टै घाटामा गएको छ। गत पुससम्म कम्पनी रु.४१ करोड ४४ लाख घाटामा गएको वित्तीय विवरण कम्पनीले हालै प्रकाशन गरेको छ। शेयर बिक्री गर्नुभन्दा अगाडि कम्पनीले आगामी असारसम्म एक कित्ता शेयर किन्ने लगानीकर्तालाई १६ रुपैयाँ ३३ पैसा नाफा दिने भनेर आशा देखाएको थियो। तर एक कित्ता शेयर लगानी गर्ने लगानीकर्ताको भागमा पुससम्म उल्टै ९ रुपैयाँ १६ पैसा घाटा परेको छ।
कम्पनीले शेयर निष्कासन गर्नुअघिभन्दा अहिले प्रतिशेयर नेटवर्थ अर्थात् सम्पत्तिको मूल्य घटेको छ। गत वर्षको पुसमा रु.२२७ रुपैयाँ १० पैसा रहेको प्रतिशेयर नेटवर्थ २०८० पुसमा २२५ रुपैयाँ ४५ पैसामा झरेको छ। जबकि शुरूमा लगानीकर्तालाई आगामी असारसम्म प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ५९ पुर्याउने आशा देखाइएको थियो। यसले देखाउँछ, कम्पनीले शुरूमा देखाएको विवरणमा जालझेल थियो। त्यो झेल अहिले प्रकाशित वित्तीय विवरण र त्यति वेला देखाइएको विवरणबाट पनि खुल्छ।
सर्वसाधारणलाई शेयर बिक्री गर्नुअघि कम्पनीले आफ्नो सम्पत्तिका रूपमा मौज्दातमा रु.एक अर्ब ९५ करोडको मालमत्ता भएको सार्वजनिक गरेको थियो। तर अहिले प्रकाशित विवरणले त्यति वेला त्यस्तो मौज्दात रु.एक अर्ब ८२ करोडको मात्रै भएको खुल्छ। अर्थात् शेयर निष्कासनअघि सार्वजनिक गरिएको विवरणमा हुँदै नभएको रु.१३ करोडको मालमत्ता छ भनी देखाइएको थियो। यी दुवै लेखापरीक्षण नगरिएका विवरण हुन्।
सबैभन्दा आश्चर्य चाहिं, सर्वसाधारणलाई शेयर निष्कासन गर्नुअघि घोराही सिमेन्टले ब्याजमा तिरेको रकम नै लुकाएको देखिन पुगेको छ। विवरणपत्रमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ब्याज खर्च रु.३९ करोड देखाएको छ। जबकि कम्पनीको त्यति वेला ऋण दायित्व नै रु.११ अर्ब ८६ करोड थियो। झन्डै रु.१२ अर्ब ऋणको ब्याजको औसत दर नौ प्रतिशत मात्रै हुँदा पनि रु.एक अर्ब ६ करोड नाघ्छ।
कम्पनीले भविष्यमा कारोबार ह्वात्तै बढाउने आशा देखाएको यसको विवरणपत्र र अहिले प्रकाशित वित्तीय विवरणको तुलना गर्दा खुल्छ। उदाहरणका लागि, सर्वसाधारणलाई शेयर जारी गर्नुपूर्वका तीन आवमा वार्षिक सरदर रु.पाँच अर्ब ५२ करोडको सिमेन्ट र क्लिंकर बिक्री गरेको कम्पनीले आव २०७९/८० मा भने रु.नौ अर्ब ८९ करोडको बिक्री गर्ने सपना देखाएको थियो। अर्थतन्त्रमा सुस्तताका कारण सिमेन्टको माग घटेको वेला कम्पनीले यस्तो अस्वाभाविक प्रक्षेपण अगाडि सारेको थियो।
त्यसै गरी चालू आवमा यस्तो बिक्री रु.११ अर्ब ४१ करोड पुर्याउने बताइएको थियो। अर्थात् डेढ वर्षभित्रै बिक्री दोब्बरभन्दा बढी पुर्याउने महत्त्वाकांक्षा थियो। जबकि आव २०७९/८० मा रु.चार अर्ब ६२ करोडको मात्रै बिक्री भयो। यस वर्षको पहिलो ६ महीना (पुससम्म) मा त बिक्री रु.एक अर्ब ७१ करोडको मात्रै छ। यसले कम्पनीले कारोबार बढाउँछु भनेर गरेको प्रक्षेपणको एकतिहाइ पनि नपुग्ने देखिएको छ।
कम्पनीले उत्कृष्ट आर्थिक हैसियत, उच्च कारोबार, नाफा हुने देखाएर सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर बेच्न नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। प्रतिकित्ता रु.१०० अंकित मूल्य भए पनि यसले कम्पनीको गुणवत्ता राम्रो देखाएर त्यसमा रु.३३५ थप गरी प्रतिकित्ता रु.४३५ को दरमा बिक्री गरेको थियो।
घोराही जस्तै प्रिमियममा शेयर बिक्री गर्न अनुमति पाएको थियो, सोनापुर मिनरल्स एन्ड आयल कम्पनीले। गत असोजमा यसले रु.१०० अंकित दरको शेयरलाई प्रिमियम सहित २३७ रुपैयाँ ५८ पैसाका दरमा बिक्री गरेको थियो। दुई वर्ष नाफा गरेका कम्पनीले मात्रै प्रिमियम मूल्यमा शेयर जारी गर्न पाउने व्यवस्थामा टेकेर प्रिमियममा शेयर बेचेको यस कम्पनीको गत पुसको वित्तीय विवरण आउँदा भने घाटामा भएको देखिन पुग्यो। चालू आवको पुससम्मको वित्तीय विवरण अनुसार सोनापुर मिनरल्स रु.१४ करोड ७८ लाखले घाटामा छ। कम्पनीको पुससम्मको प्रतिशेयर आम्दानी नौ रुपैयाँ ६२ पैसाले ऋणात्मक छ।
यस कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्नुअघि कस्तो कारोबार र नाफा गर्ने भनी आकलन गरेको थियो भन्नेतर्फ जाऔं अब। कम्पनीले गत असोजमा शेयर बिक्री गर्नुअघि आगामी असारसम्म प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा पुर्याउने प्रक्षेपण गरेको थियो। त्यसै गरी चालू आव २०८०/८१ मा नाफा रु.५४ करोड सात लाख पुर्याउने आशा सर्वसाधारणलाई देखाएको थियो। तर वर्षको आधा समय बितिसक्दा कम्पनी उल्टै घाटामा गएको छ। घोराही जस्तै गरी यसको पनि अवास्तविक र कृत्रिम आय हुने प्रक्षेपण गरिएको यसको विवरणपत्र र अहिले प्रकाशित वित्तीय विवरणको तुलनाबाट खुल्छ।
बितेका तीन वर्ष सरदर रु.२ अर्ब ६५ करोडको सिमेन्ट बिक्री गरेको यस कम्पनीले आव २०८०/८१ मा रु.चार अर्ब ८९ करोडको सिमेन्ट र क्लिंकर बिक्री गर्ने प्रक्षेपण गरेको थियो। अर्थात् एकै वर्षभित्र बिक्री ८४ प्रतिशत बढाउने लक्ष्य थियो। तर आवको पहिलो ६ महीना अर्थात् पुससम्म कम्पनीले रु.७० करोड ५६ लाखको मात्रै सिमेन्ट बेचेको छ। कम्पनीले प्रस्तुत गरेको असम्भव कारोबारको प्रक्षेपणमा नियामक निकायले प्रश्न नगर्दा सर्वसाधारण झुक्किन पुगे र प्रिमियम मूल्य तिरेर कम्पनीको शेयर किने।
यस कम्पनीको बदमासी यसले प्रकाशन गरेका दुई वित्तीय विवरणबाट खुल्छ। यसले गत असोजमा सर्वसाधारणका लागि सार्वजनिक गरेको विवरणपत्रमा कम्पनीमा आव २०७९/८० मा रु.एक अर्ब ९८ करोड बराबरको मालसामान मौज्दात रहेको उल्लेख छ। जबकि गत माघमा साधारणसभामा पेश गरिएको वित्तीय विवरणले रु.एक अर्ब ८४ करोडको मात्रै मौज्दात रहेको उल्लेख गरेको छ। यो आँकडाले हुँदै नभएको रु.१४ करोडभन्दा बढीको मौज्दात देखाएर झुक्याइएको पुष्टि गर्छ।
अंकको छलयोजना
विभिन्न क्षेत्रमा लगानी गरी नाफा कमाउने उद्देश्य भएको हाथवे इन्भेस्टमेन्ट कम्पनीले गत भदौमा सर्वसाधारणलाई प्राथमिक शेयर बिक्री गर्यो। यो कम्पनीले यस आवको आगामी असारसम्म रु.४४ करोड १३ लाख नाफा कमाएर प्रतिशेयर आम्दानी पाँच रुपैयाँ ७८ पैसा पुर्याउने भनी सर्वसाधारणलाई आश्वासन दिएको थियो। तर गत पुससम्म आइपुग्दा कम्पनी रु.५९ लाख ४२ हजारले घाटामा छ। यसको प्रतिशेयर नोक्सानी रु.५१ पैसा पुगेको छ।
कम्पनीले सर्वसाधारणलाई शेयर बेच्नुअघि आव २०८०/८१ मा रु.२० करोड ११ लाख आय गर्ने प्रक्षेपण गरेको थियो। तर आधा समय अर्थात् पुस मसान्तसम्म यसको आय रु.तीन करोड ३९ लाख मात्रै छ। अहिलेकै गतिमा आय सुस्त भए वर्षान्तसम्म यसको आम्दानी प्रक्षेपणको झन्डै एकतिहाइमा खुम्चिने देखिन्छ।
घोराही, सोनापुर र हाथवे मात्रै होइन, गत वर्षयता सर्वसाधारणलाई शेयर बिक्रीको अनुमति पाएका अधिकांश कम्पनीले सर्वसाधारणलाई नाफा दिन्छु भनेर देखाएको प्रक्षेपणको हिसाबकिताब मिलेको छैन। यस्तो प्रक्षेपण थोरैले मात्र तलमाथि भएको होइन, दुईतिहाइसम्मले घटेको छ। यसले सर्वसाधारणलाई झुक्याउन अंकको छलयोजना प्रस्तुत गरिएको संकेत गर्छ।
गत जेठमा सर्वसाधारणलाई शेयर बेचेको नेपाल रिपब्लिक मिडियाले आगामी असारसम्म प्रतिशेयर आम्दानी पाँच रुपैयाँ ५० पैसा कमाउने प्रतिबद्धता जनाएको थियो। तर यसको प्रतिशेयर आम्दानी पुससम्म ४४ पैसाले ऋणात्मक हुन पुगेको छ। जबकि सर्वसाधारणलाई शेयर बेच्नुपूर्व गत पुसमा प्रतिशेयर आम्दानी रु.सात रुपैयाँ ४० पैसा देखाइएको थियो। यस वर्ष रु.पाँच करोड ३६ लाख नाफा हुने आश्वासन दिएको कम्पनी पुस मसान्तसम्म रु.४२ लाख ६४ हजार घाटामा गएको छ। लामो समयदेखि नोक्सानीमा रहेको कम्पनीले आईपीओ जारी गर्ने वेला एकाएक सुधारिएको वित्तीय विवरण देखाएको थियो, सम्पत्तिको पुनर्मूल्यांकन मार्फत।
आव २०७६/७७ सम्म रिपब्लिक मिडियाको खुद सम्पत्ति दुई करोड ६९ लाख रुपैयाँ घाटामा थियो। अर्थात् कम्पनीमा गरिएको लगानी रित्तिएर खुद सम्पत्ति ऋणात्मक भइसकेको थियो। तर २०७९ चैतमा आइपुग्दा कम्पनीको सम्पत्ति रु.४५ करोड ८३ लाख पुगेको देखाइयो। घाटामा रहेको मिडिया व्यवसायको वित्तीय वासलात यसरी लिपपोत गरी चिटिक्क देखाउन कम्पनीले स्थिर सम्पत्ति (घरजग्गा)को पुनर्मूल्यांकन गरेको थियो। यस्तो पुनर्मूल्यांकनको बाटो खोल्न नेपाल धितोपत्र बोर्डले २०७९ चैतमा ‘धितोपत्र बाँडफाँड तथा निष्कासन निर्देशिका २०७९’ संशोधन नै गरिदिएको थियो।
गत कात्तिकमा सर्वसाधारणलाई शेयर बेचेको कम्पनी नेपाल वेयर हाउजिङले पनि आव २०८०/८१ मा रु.तीन करोड ७९ लाख नाफा कमाउने प्रक्षेपण गरेको थियो। तर आधा समय अर्थात् पुस मसान्तसम्म यो कम्पनी रु.नौ करोड २१ लाखले घाटामा गएको छ। प्रतिशेयर पाँच रुपैयाँ ५२ पैसा कमाउने सपना देखाएको कम्पनीको पुससम्मको प्रतिशेयर नोक्सानी १३ रुपैयाँ ४० पैसा पुगेको छ। कम्पनीको यस वर्ष रु.४१ करोड ४९ लाखको कारोबार गर्ने विवरण प्रक्षेपण गरिए पनि आधा समयमा रु.६६ लाख १७ हजारको मात्रै कारोबार (आम्दानी) भएको छ। जबकि यसको कर्मचारी, कार्यालय सञ्चालन लगायतको खर्च रु.नौ करोड २१ लाख छ।
गत वैशाखमा सर्वसाधारणलाई शेयर बेचेको सिटी होटल (ह्यात प्लेस)ले आव २०८०/८१ मा ९८ लाख ४९ हजार नाफा कमाउने आकलन सर्वसाधारणमाझ प्रस्तुत गरेको थियो। तर पुस मसान्तसम्म यो कम्पनी रु.११ करोड ८० लाख घाटामा गएको छ। यो वर्ष रु.८९ करोड ४४ करोडको कारोबार गर्ने अनुमान प्रस्तुत गरेको कम्पनीले पुससम्म रु.२७ करोड ८५ लाख मात्रै कारोबार गरेको छ।
अहिलेकै स्थिति रहे वर्षभरिमा यसको कारोबार अनुमान गरिएकोभन्दा निकै थोरै हुनेछ। सर्वसाधारणलाई शेयर बेच्नुपूर्व कम्पनीले आवमा प्रतिशेयर आम्दानी ५९ पैसा नाफामा हुने आश्वासन दिएको थियो। तर पुससम्म प्रतिशेयर आम्दानी सात रुपैयाँ पाँच पैसाले ऋणात्मक छ। अझ बितेको वर्षदिनमा कम्पनीको सम्पत्तिको मूल्य नै घटेको छ। सर्वसाधारणलाई शेयर बेच्नुपूर्व प्रतिशेयर नेटवर्थ रु.११० रहेको कम्पनीको अहिले नेटवर्थ ९६ रुपैयाँ ५० पैसामा झरेको छ।
जिम्मेवार को ?
कम्पनीहरूले गरेको कारोबार, आम्दानी, नाफाको अनुमान मिल्नैपर्छ भन्ने हुँदैन। तर त्यो कतिसम्म तलमाथि हुन्छ भन्ने चाहिं प्रश्नको घेरामा हुन्छ। सामान्यतया प्रक्षेपण गरिएको कारोबार, नाफाको तथ्यांक २० प्रतिशतसम्म तलमाथि हुँदा नियामक नेपाल धितोपत्र बोर्डले सामान्य नै मान्छ। “प्रक्षेपणभन्दा २० प्रतिशत तल वा माथि गयो भने चाहिं हामी सम्बन्धित कम्पनीलाई किन यसो भएको हो भनी स्पष्टीकरण बुझाउन भन्छौं र आवश्यक परे छानबिन गर्छौं,” धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ भन्छन्।
प्रिमियम तथा अंकित मूल्यमा शेयर जारी गरेका कम्पनीहरूको कारोबार र नाफा एकाध प्रतिशत होइन, कैयौं गुणासम्मले नमिलेको ती कम्पनीहरूको यस आवको दुई त्रैमासको वित्तीय विवरणले देखाउँछ। शुरूमा जति नाफा हुन्छ भनी सर्वसाधारणलाई शेयर बेचिएको थियो, त्यसको छेउछाउमा पनि कारोबार र नाफा पुगेको छैन। त्यसले विगतमा देखाइएका विवरणहरूको सत्यतामा प्रश्न उब्जाउँछ।
अर्थतन्त्रमा आउने उतारचढावका कारण कम्पनीहरूले प्रक्षेपण गरे सरह कारोबार नगर्न पनि सक्छन्। “तर अहिले अर्थतन्त्रमा देखिएको सुस्तता गत वर्ष पनि कायमै थियो र यो अवस्था यथावत् रहन सक्ने त्यति वेलै पनि आकलन गरिएको थियो। त्यसैले कम्पनीहरूले गलत तरीकाले वित्तीय विवरण तयार गरी प्रक्षेपण गरेको प्रस्टै हुन्छ,” शेयर बजार विश्लेषक तथा लगानीकर्ता मुक्ति अर्याल भन्छन्। ठगी गर्ने नियतले प्राथमिक शेयर जारी गरेका कम्पनीहरूले आफ्नो वित्तीय विवरणमा छेडखानी गरेको र यसलाई नियामक नेपाल धितोपत्र बोर्डले हेर्न नसकेको उनी बताउँछन्।
“कतिपय अवस्थामा आर्थिक उतारचढावले अनुमान गरे सरह कारोबार हुँदैन तर हाम्रोमा सीधै ठगी गर्ने हिसाबले विवरण तयार गरिएकोमा शंका छैन। यसमा सम्बन्धित कम्पनीका साथै नियामक निकाय, बिक्री प्रबन्धक (इस्यू मेनेजर), प्रत्याभूतिकर्ता (अन्डरराइटर), लेखापरीक्षक र बित्तीय प्रक्षेपण एवं मूल्यांकनकर्ता बढी जिम्मेवार हुन्छन्,” उनी भन्छन्, “साथै क्रेडिट रेटिङ एजेन्सी पनि जवाफदेही हुन्छ।”
कम्पनीहरूले सर्वसाधारणलाई शेयर बिक्री गर्नुभन्दा अगाडि ती कम्पनीको सम्पत्ति, दायित्व, आम्दानी, खर्चका विवरण लेखापरीक्षकहरूले मिहिन ढंगले केलाएर लेखापरीक्षण प्रतिवेदन तयार गरेका हुन्छन्। कम्पनीले देखाएको विवरण नमिलेमा वा गलत देखाइएमा त्यसलाई निर्भयपूर्वक लेखिदिने जिम्मेवारी लेखापरीक्षकको हो। त्यसरी लेखापरीक्षकले तयार गरेको विवरण हेरी धितोपत्र प्रत्याभूतकर्ता (अन्डरराइटर)ले कम्पनीको जोखिम मूल्यांकन गरिदिन्छ। शेयरको मूल्य निर्धारण गर्न यस्तो मूल्यांकन आवश्यक पर्छ।
त्यसै गरी धितोपत्रको सार्वजनिक निष्कासन गर्दा राखिएका विवरण, तथ्यांक तथा भविष्यका प्रक्षेपण ठीक भएको र विवरणपत्र व्यावसायिक रूपले तयार गरिएको भनी सुनिश्चित गर्ने काम बिक्री प्रबन्धकको हो। अर्थात् बिक्री प्रबन्धकले अर्को चरणमा कम्पनीको विवरणको परीक्षण गर्छ। धितोपत्र व्यवसायी (मर्चेन्ट ब्यांकर) नियमावली, २०६४ ले ‘निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका रूपमा निष्कासन गरिने धितोपत्रसँग सम्बन्धित सूचना तथा विवरण प्रवाह, निष्कासन खुला तथा रकम संकलन, धितोपत्र बाँडफाँड, फिर्ता भुक्तानी, प्रमाणपत्र वितरण तथा सूचीकरण लगायत निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी हुनेछ’ भनी तोकेको छ।
त्यसै गरी क्रेडिट रेटिङ गर्ने कम्पनीले पनि शेयर जारी गर्ने कम्पनीको हैसियत खुलस्त पारिदिन्छ। शेयर निष्कासनकर्ता कम्पनीको वित्तीय स्थिति मूल्यांकन गरी उक्त कम्पनीमा शेयर लगानीको जोखिमबारे देखाइने सांकेतिक सूचकांक क्रेडिट रेटिङले कम्पनीको अवस्था देखाउँछ। यी विभिन्न तहका परीक्षणपछि नियामक निकाय धितोपत्र बोर्डले कम्पनीको अवस्था, बिक्रीका लागि तोकिएको मूल्य तथा पेश गरिएका विवरण हेरी कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिन्छ।
तर सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन गरेका कम्पनीहरूले देखाएको वित्तीय विवरणमा भएको छेडखानीमा कुनै संस्थाले पनि परीक्षण नगरेको देखिन्छ। कम्पनीहरूको वित्तीय विवरणमा देखिएको जालसाजीले त्यसलाई प्रस्ट्याउँछ। कतिपय अन्तर्सम्बन्धित र स्वार्थको द्वन्द्व हुने कम्पनीहरूले शेयर प्रत्याभूति, धितोपत्र निष्कासन तथा क्रेडिट रेटिङको जिम्मेवारी लिने कारणले पनि त्यस्तो परीक्षण नहुने जोखिम हुन्छ। उदाहरणका लागि घोराही सिमेन्ट र क्रेडिट रेटिङ गर्ने संस्था केयर रेटिङ्स नेपाल दुवैमा एकै घराना विशाल समूहको प्रमुख शेयर लगानी छ।
बूक बिल्डिङ विधिबाट शेयर बिक्री गर्न शुरू गरेको सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धक तोकिएको छ, ग्लोबल आईएमई ब्यांकको सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल। सर्वोत्तम सिमेन्टमा व्यवसायीद्वय विष्णुप्रसाद न्यौपाने र हेमराज ढकालको लगानी छ। उनीहरू ग्लोबल आईएमई ब्यांकका मुख्य लगानीकर्ता पनि हुन्। अर्थात् आफ्नै लगानी रहेको कम्पनीको शेयर बिक्री गर्न आफ्नै स्वामित्वको अर्को कम्पनीलाई बिक्री प्रबन्धकका रूपमा प्रयोग गरिएको छ।
अनुभवी ब्यांकर परशुराम कुँवर क्षेत्री प्राथमिक शेयर जारी गरेका कम्पनीहरूले प्रस्तुत गरेको विवरणको सत्यता परीक्षण गर्न नियामक सहित सबै सम्बन्धित संस्थाहरू चुकेको बताउँछन्। उनी भन्छन्, “कम्पनीहरूले सर्वसाधारणलाई कम्पनीको अवस्था राम्रो देखाउन वित्तीय विवरणमा चलखेल गरेको प्रस्टै देखिन्छ। यसलाई नियामकले रोक्न सकेन।” नियामक बिक्री प्रबन्धक तथा शेयर प्रत्याभूतकर्ताले नियतपूर्वक यस्तो जालसाजीलाई अनुमोदन गरेको होइन भनेर मान्ने हो भने पनि वित्तीय विवरण जाँच्ने, प्रश्न सोध्ने ती संस्थाको क्षमता कमजोर देखिने उनी बताउँछन्। “सर्वसाधारणसँग पैसा उठाउने विषय निकै संवदेनशील हो। छेडखानी गरिएको विवरण पेश गरेर रकम उठाउने विषयमा नियामक, सम्बन्धित संस्थाहरू र निजी क्षेत्र सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ,” उनी भन्छन्।
नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ कम्पनीहरूले पेश गरेको वित्तीय विवरणलाई बोर्डले थप परीक्षण नगर्ने र चार्टर्ड एकाउन्टेन्टहरूले अनुमोदन गरेको विवरणलाई मान्यता दिने गरेको बताउँछन्। “सिद्धान्ततः चार्टर्ड एकाउन्टेन्टहरूले तयार गरेको वित्तीय विवरणमा हामी थप सोधखोज गरेर मिल्छ वा मिल्दैन भन्दैनौं। लेखापरीक्षकबाट आएको विवरण परीक्षण गर्ने हाम्रो काम होइन,” उनले भने, “गलत विवरण तयार गरेको रहेछ भने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा कारबाहीका लागि सिफारिश गर्छौं।”
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले प्राथमिक शेयर निष्कासन गरेका कम्पनीका चार्टर्ड एकाउन्टेन्टहरूले तयार गरेका विवरणमा छेडखानी भएको भनी संस्थामा उजुरी नपरेको बताउँछन्। उजुरी परेमा संस्थाले छानबिन गर्न सक्ने बताउँदै उनी भन्छन्, “त्रुटिपूर्ण र मापदण्ड विपरीत लेखापरीक्षण तथा अनुमोदन गरिएको भए त्यसमा सम्बन्धितहरू जिम्मेवार हुन्छन्।”
धितोपत्र बजारमा कृत्रिम विवरण देखाएर सर्वसाधारणसँग रकम उठाउने धन्दाबारे जिम्मेवार निकायहरू उत्तरदायित्व लिन पन्छिएको घटनाक्रमले देखाउँछ। गलत विवरण प्रस्तुत गरेर रकम उठाएको पुष्टि हुँदा पनि छानबिन भएको छैन। घोराही सिमेन्टको क्रेडिट रेटिङमा त स्वार्थको द्वन्द्व भएको भनी धितोपत्र बोर्डले विज्ञप्ति नै निकाले पनि यस कम्पनीले सर्वसाधारणसँग प्रिमियम मूल्यमा रकम उठाइछोड्यो। नियामकको जिम्मेवारीमा प्रश्न उठिरहे पनि धितोपत्र बोर्डले उत्तरदायित्व नलिंदा कम्पनीहरूले कृत्रिम र जालसाजीयुक्त विवरण देखाएर सर्वसाधारणलाई महँगो मूल्यमा शेयर बिक्री गर्ने धन्दा यथावत् छ।
बूक बिल्डिङ विधि मार्फत सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा शेयर बिक्री गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणमा सर्वसाधारणलाई झुक्याउन खोजिएको देखिएको छ। आव २०८०/८१ मा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा हुने प्रक्षेपण गरेको कम्पनीको पहिलो त्रैमाससम्मको प्रतिशेयर आम्दानी ९६ पैसा मात्रै छ।
यस वर्ष रु.६२ करोड ५१ लाख नाफा गर्ने भनी प्रक्षेपण गरेको कम्पनीको पहिलो त्रैमासमा नाफा जम्मा रु.४१ लाख ६७ हजार मात्रै छ। यसमा पनि आयकर तिर्नुपर्ने रकम र ह्रासकट्टी रकम घटाइएको छैन। दोस्रो त्रैमासको विवरण तयार भइसक्नुपर्ने भए पनि कम्पनीले पहिलो त्रैमासको आधारमा विवरण तयार गरेको छ। सबैभन्दा महत्त्वपूर्ण चाहिं नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता एक अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम कम्पनीको दायित्वका रूपमा कतै पनि देखाइएको छैन।
यद्यपि यो रकमको विषयमा विवाद जारी छ र सरकारले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ। यो रकम कम्पनीले तिर्नुपरेमा कम्पनीको वित्तीय हैसियत थप बिग्रनेछ। वित्तीय विश्लेषक परशुराम कुँवर क्षेत्री अहिले प्राथमिक शेयर निष्कासन गर्ने वेला नै नभएको बताउँछन्। उनी भन्छन्, “हासिल नहुने तथ्यांक देखाएर सर्वसाधारणलाई झुक्याउने र शेयर बिक्री गर्ने धन्दाका विषयमा सरोकारवालाहरू गम्भीर बन्नुपर्छ।”