नेपाल नामिबियासँग दुई विकेटले पराजित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले आठ विकेटको क्षतिमा ४० ओभरमा पूरा गरेको हो। नामिबियाका लागि कप्तान गेहार्ड इरसमसले अर्धशतक प्रहार गरे।
उनले ५६ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ५२ रन बनाए। त्यस्तै, जेजे स्मितले ३४, मिचेल भानले ३१ र रुबेन ट्रुम्पेलमनले १६ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले तीन, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा १६८ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतले ५८ रन बनाए।
त्यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नामिबियाका लागि बेनार्ड स्कज र जान निकोलले चार-चार तथा ज्याक ब्रासेल र गेहार्ड इरसमसले एक-एक विकेट लिए।
लिग-२ अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो भने तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई हराएको थियो।
अब पाँचौं खेलमा शुक्रबार नामिबिया र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन्।