सीतापाइला घटना : श्रीमती, नाबालिका छोरी र नातिनीको हत्यापछि आत्महत्या
काठमाडौंको सीतापाइलामा ३७ वर्षीय एक पुरुषले आफ्नी श्रीमती, नाबालिका छोरी र नातिनीको हत्या गरेर आफूले समेत आत्महत्या गरेको प्रहरीले जनाएको छ।
सोलुखुम्बुका काजी विश्वकर्माले पत्नी प्रेमकुमारी श्रेष्ठ, छोरी आठ वर्षीया अनिसा र नातिनी साढे दुई वर्षकी सिवनाको हत्या गरेर आफू समेत नजिकैको जंगलमा गएर झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए।
३८ वर्षीय श्रीमतीलाई कैंचीले अनुहार, घाँटीमा घोचेर हत्या गरेपछि छोरी र नातिनीलाई डोरीले घाँटीमा कसेर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्याको कारण भने खुलेको छैन।
हत्यापछि विश्वकर्माले सासूआमा रूपमाया श्रेष्ठलाई खबर गरेका थिए। “मैले तपाईंकी छोरी र बच्चालाई मारेर भागें भन्दै फोन गरेकोसम्म खुलेको छ,” एसएसपी खत्रीले भने।
विश्वकर्मा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१० का हुन्। प्रहरीले डोरी, रगतले लतपत कैंची र हम्मर फेला पारेको छ।
छोरा अनिस श्रेष्ठ र बुहारी जेनी श्रेष्ठ भने सकुशल छन्। उनीहरू घरमा नभएको प्रहरीले जनाएको छ। बुहारी काममा निक्लेकी थिइन् भने छोरा सामान किन्न पसल गएको वेला घटना भएको खत्रीले बताए।