नेपालको फितलो ब्याटिङ, १६८ रनमै समेटियो
आईसीसी विश्वकप लिग-२ अन्तर्गत बुधबार नामिबियासँगको खेलमा नेपाल १६८ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले राम्रो ब्याटिङ गर्न सकेन। शुरूआतदेखि नै दबाबमा रहेको नेपालका लगातार विकेट झर्दै गए।
प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतले ५८ रन बनाए।
त्यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नामिबियाका लागि बेनार्ड स्कज र जान निकोलले चार-चार तथा ज्याक ब्रासेल र गेहार्ड इरसमसले एक-एक विकेट लिए।
लिग-२ अन्तर्गतको यो चौथो खेल हो। पहिलो खेलमा नेपाल नामिबियासँग हारेको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो भने तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई हराएको थियो।