हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बीच सहकार्य गर्ने सहमति भएको छ।
बुधबार दुवै पार्टीका अध्यक्षले पाँचबुँदे सहमति गरेका छन्। जसमा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति बनेको छ।
त्यस्तै, तराई-मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न, विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न सहकार्य गर्ने सहमतिमा हस्ताक्षर गरेका छन्।
यससँगै कृषि उत्पादन वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयन गराउन दबाब दिने पनि सहमति बनेको छ।