स्वर्गद्वारी गुठीपीडित किसानहरू आन्दोलनमा
स्वर्गद्वारी गुठीपीडित किसानहरू आन्दोलनमा उत्रिएका छन्।
मंगलबार साँझ ५ बजेदेखि स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, दाङ अगाडि २४ घन्टे धर्ना दिएको हो। धर्नारत किसानहरू रातभर जाग्राम बसेका थिए।
सरकारले स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बोधन नगरेकाले चरणबद्ध आन्दोलन शुरू गरेको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए। उनले आफूहरूको माग सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने पनि बताए।
चौधरीका अनुसार आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय, दाङ अगाडि धर्ना दिने, फागुन १३ गतेदेखि १५ गतेसम्म राजनीतिक दलका कार्यालयमा धर्ना दिने, फागुन २० गतेदेखि २२ गतेसम्म लुम्बिनी प्रदेश कार्यालयमा धर्ना दिने र सोही दिन पूर्व-पश्चिम राजमार्गमा दुई घण्टा सुतेर सडक बन्द गरिनेछ।
यस्तै, फागुन २७ र २८ गते देशभरका गुठीपीडित किसानहरूको सम्मेलन घोराहीमा आयोजना गर्ने, गुठीपीडित घोषणापत्र जारी गर्ने र काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी रहेको उनले बताए।