बगरलाई यसरी बनाइयाे बाल उद्यान
हेटौंडा उपमहानगरपालिका-९, लामसुरेस्थित देउखोल्ची सामुदायिक वन क्षेत्र अन्तर्गत विगतको बगरमा अहिले दिव्य बाल उद्यान बनेको छ।
१८ बिघामा फैलिएको उद्यानले स्थानीयलाई बिहान-बेलुका व्यायाम गर्ने र टहलिने ठाउँ दिएको छ। यस्तै, वनभोजका लागि पनि यो उद्यानको प्रयोग हुँदै आएको छ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी आगामी दिनमा पार्कलाई व्यवस्थित बनाउने योजना रहे पनि हाल बजेट अभावमा धेरै काम गर्न नसकिएको बताउँछन्। उद्यानको प्रवेशद्वारको प्रत्येक ४० मिटरको अन्तरमा राष्ट्रिय व्यक्तित्वहरूको शालिक राख्ने योजना रहेको उनी जनाउँछन्। हाल द्वारबाट ४० मिटरको दूरीमा मदन-आश्रितको शालिक छ भने त्यसको ४० मिटरको दूरीमा बुद्धको शालिक छ।
झन्डै ९०० मिटर क्षेत्रमा सिमेन्टको ब्लक बिछ्याइएको उद्यानमा कुनै संस्थाले राष्ट्रिय व्यक्तित्वको शालिक राख्न चाहेमा समितिले समन्वय गर्ने भण्डारीले बताउँछन्।
पार्कको दक्षिण-पूर्वी कुना वनभोजका लागि छुट्याइएको छ। शनिबार र सार्वजनिक बिदाका दिन यहाँ विभिन्न समूह वनभोजका लागि आउने गरेको उनी बताउँछन्। वनभोजका लागि आउनेहरूसँग प्रतिसमूह एक हजार र ‘ड्राई पिकनिक’ का लागि आउनेहरूसँग प्रतिसमूह ५०० रुपैयाँ शुल्क लिने गरिएको भण्डारीको भनाइ छ।
उद्यान क्षेत्रमा एउटा ध्यान केन्द्र बनाउने पनि योजना रहेको उनी सुनाउँछन्। साथै, दक्षिण-पूर्वी क्षेत्र उँचो पहाड जस्तो भएकाले सो ठाउँसम्म पुग्न सिंढी बनाउने र सो स्थानलाई आकर्षक बनाउने योजना समेत रहेको छ। “बिहान-बेलुका व्यायाम गर्न, टहलिन आउनेहरूलाई तलमाथि गर्ने ठाउँ होस् भन्ने हाम्रो योजना हो,” भण्डारी भन्छन्।
उद्यान क्षेत्र २०३७ सालमा आएको ठूलो बाढीले बगर बनेको थियो। २०५० सालमा ठूलो बाढी आए पनि बाँध बनेका कारण यो क्षेत्र जोगिएको थियो। विगतमा चुरे क्षेत्रबाट आउने पानी बग्ने ठाउँ रहेकाले यहाँ कुनै पनि बिरुवा नहुर्कने हुँदा शुरूमा खयर रोपिएको थियो। “२०५५ सालमा खयरका ५०० बिरुवा लगाइएका थिए,” भण्डारी भन्छन्, “अहिले भने विभिन्न फूल र केही फल प्रजातिका बिरुवा पनि लगाइएका छन्।”
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ तुलनात्मक रूपमा सानो क्षेत्रफलमा फैलिएको छ। जम्मा ३.८६ वर्ग किलोमिटरमा फैलिएको वडाको ठूलो क्षेत्र हेटौंडा सिमेन्ट उद्योगले ओगटेको छ।
“बाल उद्यान बनेपछि समुदायका बालबालिकाहरूलाई निःशुल्क खेल्ने ठाउँ पनि भएको छ,” भण्डारी भन्छन्, “प्रविधिले पेल्दै लगेको वेला यो पार्क अभिभावक र बालबच्चा सबैलाई टहलिने ठाउँ पनि भएको छ। भोलिका दिनमा यसलाई अझ धेरै राम्रो बनाउनेछौं।”