बेसहारा आमाहरूलाई सहारा दिने भार्गवी मुवाँ
वृद्धाश्रम खोलेर तीन दशकदेखि असहाय महिलाहरूलाई सघाउँदै आएकी भार्गवी भन्छिन्, “सेवामा आनन्द भेट्टाउनुपर्छ।”
उनी लौरो टेक्दै हामीतिरै आइरहेकी थिइन्। हामी सबैको दृष्टि उनैमा केन्द्रित थियो। उनले शुरूमा सबैलाई एकमुष्ट अभिवादन गरिन्, हालखबर सोधिन्। अनि सहयोगीहरूलाई पारिलो आँगनमा कुर्सीहरू राख्न लगाउँदै आगन्तुकहरूलाई बस्न भनिन्।
म भर्खरै सोलुखुम्बुकी चन्द्रामायासँग उनैबारे सोध्दै थिएँ। चन्द्रामायाले भनेकी थिइन्, “भार्गवी मुवाँ त सृष्टि गर्ने आमा हुन्।”
यति वेला म थिएँ, बूढानीलकण्ठस्थित तपस्थली वृद्धाश्रममा। यसकी सृष्टिकर्ता भार्गवी अधिकारी साक्षात् सामुन्ने थिइन्। पुसको त्यस दिन मेरो मन अलिक गह्रौं थियो। उनलाई भेटेपछि निकै हलुका महसूस भयो। मन मात्र होइन, मुवाँले त थुप्रै बेसहारा आमाहरूको जीवन नै हलुका बनाइदिएकी छन्। जस्तो- यिनै आमा चन्द्रामाया। निकै झगडालु परिवार थियो उनको। परिवार सदस्य कसैले उनलाई मन पराउँदैनथे। त्यसैले ती सबैलाई चटक्कै छाडेर तपस्थली आइपुगेकी थिइन्। गर्मी यामका प्रत्येक बिहान उनी नजिकैको रुद्रेश्वर मन्दिर पुग्छिन्। जाडोमा चाहिं दिनचर्या अलिक फेरिन्छ। भन्छिन्, “हामी शान्त जीवन बिताउँछौं। खान्छौं, घाम ताप्छौं, भजन गाउँछौं, चिया पिउँछौं, सुत्छौं यस्तै-यस्तै।
यस्ता थुप्रै महिलालाई आश्रय दिने तपस्थली २०४७ सालमा शुरू गरेकी थिइन्, भार्गवीले। अहिले आगन्तुक र शुभचिन्तकहरूले ल्याइदिने कोसेलीले यहाँको चुलो जल्छ। त्यस दिन पनि कपिल श्रेष्ठ खानेकुराको ठूलै झोला बोकेर आएका थिए।
“मेरो छोरो विदेशमा बस्छ, ऊ आज ४३ वर्ष पुग्यो। उसको जन्मदिनका अवसरमा केही ल्याउन चाहेका हौं,” उनले आउनुको प्रयोजन खुलाए। भार्गवीले धन्यवाद दिंदै भनिन्, “संसार एउटा ऐना हो। आफूले जे दिन्छौं, त्यही पाउँछौं।”
एक छिनपछि भार्गवी मतिर फर्किइन्। म त दिन गएकी थिइनँ, बरु लिन गएकी थिएँ। उनीसँग अन्तर्वार्ता गर्न चाहन्थें। उनले मलाई घरमै आउन भनिन्। केही दिनपछि पुगी पनि हालें। उनले साग, काउली, आलुको अचार र रोटी पस्किदिइन्। सँगै खान भनेर मलाई पर्खिरहेकी रहिछन्। ८४ वर्षको उमेरमा पनि आफैं खाना पकाउँदी रहिछन्।
खाना खाँदै गर्दा मेरा आँखा पछाडिपट्टिको एउटा तस्वीरमा पुगे जसमा पूर्व राजा ज्ञानेन्द्र भार्गवीलाई तक्मा पहिर्याइदिंदै छन्। सरकारले गोरखा दक्षिणबाहुबाट विभूषित गरेको रहेछ उनलाई।
खाना खाइसकेपछि म अन्तर्वार्ताको सुरसारमा लागें। उनी केही अनकनाइन्, “मैले यसअघि कहिल्यै अन्तर्वार्ता दिएकी छैन। खासमा म प्रचार नै चाहन्नँ।”
मैले भनें, “अन्तर्वार्ता होइन, बस् म यहाँको जीवन र संघर्षको कथा सुन्न चाहन्छु।” त्यसपछि लामै कुराकानी भयो जहाँ भार्गवी मलाई आफ्नो बाल्यकाल र युवावस्थामा पुर्याउँछिन्।
१४ वर्षको उमेरमा बिहा भएपछि उनले स्कूल छाडेकी रहिछन्। देवरहरू ससाना रहेकाले आमाले जसरी तिनको रेखदेखमा खटिनुपरेछ। आफ्नी दिवंगत छोरीका छोरा समेत उनैले हुर्काइन्। त्यही सेवाकारी भूमिकाले उनलाई अहिले पनि बाँधिरहेकै छ, वृद्धाश्रमका रूपमा।
शुरूमा वृद्धाश्रमका लागि जग्गा जुटाउनै मुश्किल पर्यो। तत्कालीन सरकारले जग्गा दिने वाचा गरे पनि आंशिक सहयोग मात्र गर्यो। जसोतसो बूढानीलकण्ठमा पाँच रोपनी जुट्यो। त्यहाँ देशभरबाट १०० जनालाई आश्रय दिन पुग्ने संरचना बनाउने भार्गवीको योजना थियो। तर केही वर्षपछि स्थानीय सरकारले सामुदायिक ध्यान केन्द्र बनाउने भन्दै जग्गा टुक्र्याइदियो। भार्गवीले रोपेका ८०० वटा बिरुवा पनि नष्ट भए। उनका अनुसार वृद्धाश्रम जोगाउन विभिन्न सरकारी अधिकारीसँग समेत लड्नुपर्यो। कतिले धम्की दिए, कतिले घूस मागे।
“वृद्ध, घरबारविहीन महिलाका लागि आश्रम बनाउन कसैलाई किन घूस दिनु? कतै जाने ठाउँ नभएकालाई सहयोग गर्नु सरकारकै दायित्व होइन र?” उनी प्रश्न गर्छिन्।
बाल्यकालकी साथीलाई परिवारकै सदस्यले अपमान गरेको देखेपछि भार्गवीले घरसमाजले त्यागेका थुप्रै आमाहरूलाई आश्रय दिने निर्णय गरेकी रहिछन्। त्यसअघि नै जागीरबाट निकालिएका अपांगता भएका दुई वृद्ध महिलालाई संरक्षण दिंदै आएकी थिइन्। अर्थात् आफूले कुन बाटो रोज्ने हो भन्ने उनलाई पहिल्यै बोध भइसकेको थियो।
यससँगै भार्गवीले बालुवाटारस्थित आफ्नो घरमा महिलाका लागि साक्षरता कक्षा चलाइन्, जसबाट ४० जना लाभान्वित भए। तिनैले अचार उत्पादन र बिक्री गरेर वृद्धाश्रमका लागि कोष जुटाउन सघाए। उनी आफैंले पनि चन्दा उठाइन्। भन्छिन्, “मैले छिमेकका परिवारहरूलाई भेटेर बरु एक रुपैयाँ दिनुस् तर खाली हात नपठाउनुस् भनें।”
त्यसपछिको कोष संकलन अमेरिकामा भयो जहाँ भार्गवी आफ्ना सन्तानलाई भेट्न गएकी थिइन्। त्यहाँ पनि परिवार र साथीहरूको सहयोगमा निबुवा र खुर्सानीको अचार १५० बोतल बेचिन्। त्यस बापत एक हजार ५०० डलर प्राप्त भयो। उनको उत्साहमा पति (हाल दिवंगत)ले पनि ५० हजार रुपैयाँ दिएर सघाए। अन्तबाट अलि अलि सहयोग मिल्यो।
यसै गरी बसाइएको तपस्थली वृद्धाश्रममा अहिले २५ जना आश्रित छन्। उनीहरूको सेवाका निम्ति एक भान्छे, एक सरसफाइ गर्ने व्यक्ति, एक पहरेदार र एक सहयोगी छन्। यी बाहेक यहाँ दुई गाई, दुई कुकुर र कहिलेकाहीं झुल्किने एउटा बिरालो पनि छ। परिसरको एक छेउमा भजनकक्ष छ। गोठ पनि छ।
स्थापनाको ३३ वर्षमा २८ ज्येष्ठ नागरिक महिलाले तपस्थलीमै अन्तिम श्वास फेरेका छन्। तीमध्ये धेरैजसोको अन्त्येष्टि तपस्थलीले नै गरेको छ। यस अवधिमा भार्गवीले अनुभव गरेको कुरा के भने आमाहरूलाई भेट्न आफन्त विरलै आउँछन्। कोही कोही चाहिं अन्त्येष्टिका लागि शव लिनसम्म आउँछन्, त्यो पनि लोकलाजका कारणले र अंशप्राप्तिको कानूनी प्रक्रिया सहज बनाउन मात्र। परिवारले दाबी नगरेको शव आश्रम रेखदेख गर्ने समितिले नै अन्त्येष्टि गरिदिन्छ।
“धेरैजसो आमा घरमा कुनै काम नहुँदा हेलाका पात्र बनिदिन्छन्। तिनका लागि हामीले केही गरिदिनुपर्छ। सेवामा आनन्द भेट्टाउनुपर्छ। मेरा आमाबाबुले मलाई यही सिकाउनुभयो,” भार्गवी भन्छिन्।
अहिले तपस्थलीमा आश्रित दुई जनाले मात्र ज्येष्ठ नागरिक भत्ता पाउँछन्। अरूले नपाएको उमेर नपुगेर होइन, कागजपत्रको अल्झोले। कसैसँग नागरिकताको प्रमाणपत्र छैन। अन्य पालिका स्थायी ठेगाना भएकाहरूले बूढानीलकण्ठबाटै भत्ता लिन मिल्ने कागजपत्र जुटाउन सकेका छैनन्।
“उमेर बढ्दै जाँदा हामीलाई कुनै न कुनै प्रकारको आर्थिक सहायता चाहिन्छ नै,” भार्गवी भन्छिन्, “त्यसमाथि हामी महिला त जीवनभर परिश्रम गर्छौं, उमेर पुगेपछि त्यागिन्छौं।”
आफ्नो कथा बिसाउँदै गर्दा उनले मेरो वैवाहिक स्थिति सोधिन्। मैले अविवाहित रहेको बताएँ। उनले प्रश्न गरिन्, “अब के गर्ने विचार छ त?”
मैले भनें, “एक्लै बस्छु, शायद कुनै दिन म पनि तपस्थली पुग्छु।”
तब मुवाँले मेरो हात समात्दै भनिन्, “कठै...विचार मिल्ने मान्छे भेटिए बिहा गर्नुपर्छ। नत्र एक जना बच्चा पाल छोरी! तिमीलाई साथी हुन्छ। तिमीलाई पुरुषको पैसा चाहिंदैन, तिमी आफू भए पुग्छ।”
- अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्। नेपाली टाइम्सबाट शाश्वत आचार्यले अनुवाद गरेका हुन्।