छेतेनका वृत्तचित्र प्रदर्शन हुँदै
निर्देशक केसाङ छेतेनका १० वृत्तचित्रहरूको प्रदर्शन हुने भएको छ।
सोसल साइन्स बहा: र फोटो सर्कलको संयुक्त आयोजनामा यही फागुन ११ देखि १३ गतेसम्म नेपाल पर्यटन बोर्डमा हुन लागेको ‘केसाङ छेतेन रेट्रोस्पेक्टिभ’ कार्यक्रममा छेतेनले बनाएकामध्ये १० वृत्तचित्रहरूको निःशुल्क प्रदर्शन हुन लागेको हो।
“केसाङ छेतेनका वृत्तचित्रले नेपालको २०/२५ वर्षमा भएका राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक परिवर्तनलाई झल्काउँछन्। उनको काम आजको युवा जमातलाई देखाउन आवश्यक देखेर नै यो कार्यक्रम आयोजना गरिएको हो,” फोटो सर्कलका शिक्षा कार्यक्रम संयोजक सागर छेत्री बताउँछन्।
अढाई दशकदेखि वृत्तचित्र क्षेत्रमा समर्पित छेतेन अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त छन्। छेतेनका वृत्तचित्रहरू इन्टरन्याशनल डकुमेन्ट्री फिल्म फेस्टिभल, भिएना इन्टरन्याशनल फिल्म फेस्टिभल, मुम्बई इन्टरन्याशनल फिल्म फेस्टिभल जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निरन्तर प्रदर्शन हुँदै आएको छ। अल जजीरामा प्रसारण भएको को बन्छ लाहुरे उनको चर्चितमध्येको एक वृत्तचित्र हो।
पात्रका जीवन मार्फत आफ्नो कथावस्तुलाई जीवन्त बनाउने भएकाले छेतेनका वृत्तचित्रहरूले नेपाली समाजलाई नजिकबाट हेर्ने र बुझ्ने मौका पनि दिन्छन्।
पर्यटन बोर्डमा हुने कार्यक्रममा हरेक वृत्तचित्रको प्रदर्शनीपछि निर्देशक छेतेनका साथमा तिनका बारे छलफल पनि हुनेछ। देखाइने वृत्तचित्र र तिनको समय यहाँ उल्लिखित छ।