प्रकाश प्रदूषण : उज्यालो रातले हराउँदै छन् जुनकिरी र पुतलीहरू
बत्तीको अनावश्यक प्रयोगले प्रकाश प्रदूषण बढाउँदा जुनकिरी र पुतली जस्ता कीरा हराउँदै छन् भने मानव स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्दै छ।
कुनै समय थियो, साँझ पर्न थालेपछि काठमाडौंको टुँडिखेल लगायतका चौरमा जुनकिरीको मेला लाग्थ्यो। लाग्थ्यो, आकाशका तारा जति सबै धर्तीमा ओर्लिएका छन्। ती जुनकिरी अचेल देखिंदैनन्। अचेल त सम्साँझ पर्न पाएको हुँदैन, काठमाडौं टुँडिखेल क्षेत्रको आकाशमा प्रकाशको चम्किलो किरण विभिन्न दिशामा दौडिन थाल्छ। कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा बालिने स्ट्रोब लाइटले काठमाडौंको आकाश उज्यालो बनाउँछ।
शहरका रात अचेल अँध्यारा हुन छाडेका छन्। घरका ढोका र गेटमा बालिने एवं सडक बत्ती त थिए नै, अनावश्यक ठाउँमा पनि चम्किला बत्ती राखिन थालेका छन्। त्यसको अर्को उदाहरण हो, पोखरा महानगरपालिकाले वडा नं. १३ आर्वाको डाँडामा राखेको ‘हाई म्यास्ट फ्लडलाइट’। चोक चोकमा विभिन्न व्यावसायिक प्रयोजनका लागि राखिने डिजिटल होर्डिङ बोर्डको त कुरै नगरौं।
पुतलीविज्ञ प्राध्यापक भैया खनालका अनुसार काठमाडौंका जुनकिरी मास्ने यिनै बत्ती हुन्। “जुनकिरीका भालेपाथीको भेट नै उनीहरूले बाल्ने बत्तीका कारण हुन्छ। शहरी उज्यालोमा उनीहरूको बत्ती फिका हुन पुग्दा जुनकिरी शहरबजारबाट हराए जस्तो भइसक्यो,” खनाल भन्छन्।
सार्वजनिक सुरक्षा र सुविधाका लागि उपयुक्त स्थानमा राती बत्ती बाल्नु स्वाभाविक नै हो। तर रातको अन्धकार नै मास्ने गरी बत्तीको अनावश्यक र अत्यधिक प्रयोग हुन थालेपछि प्रकाश प्रदूषणबारे बहस शुरू भएको छ। इन्टरन्याशनल डार्क स्काई एशोसिएशनको परिभाषामा ‘अनावश्यक वा अत्यधिक कृत्रिम प्रकाशको उपयोग नै प्रकाश प्रदूषण हो।’
एशोसिएशनका अनुसार यसले मानिस, वन्यजन्तुका साथै जलवायुमा पनि गम्भीर असर पुर्याउँछ। त्यसैले सकेसम्म नियन्त्रित रूपमा रात्रिकालीन प्रकाशको उपयोग गर्नुपर्ने एशोसिएशनको सल्लाह छ।
आखिर के हुन्छ त प्रकाशको अनावश्यक प्रयोगले? “पुतली लगायत कीराहरूको जीवनचक्र नै खलबलिन्छ,” प्रा. खनाल भन्छन्। शहरीकरणको वृद्धिसँगै प्राकृतिक वासस्थानको अभावले यसै पनि पुतली लगायत कीराको संख्या घटिरहेको छ। रातमा बालिने बत्तीको अनावश्यक प्रयोगले यो समस्या अझ बढाउने उनको तर्क छ। रातमा बढी सक्रिय हुने निशाचर पुतलीलाई पनि कृत्रिम प्रकाशले व्यवधान गर्ने उनी बताउँछन्।
यी कीरा–पुतली विना वनस्पतिको परागसेचन सम्भव हुँदैन। परागसेचन भएन भने नयाँ बाली उम्रिंदैन। न त फल नै लाग्छ। परिणामत: खाद्य शृंखला नै खलबलिन सक्छ।
यति मात्र होइन, प्रकाश प्रदूषणले मानव स्वास्थ्यमा पनि गम्भीर क्षति पुर्याउँछ। प्रकाश प्रदूषणले अनिद्रा, छटपटी बढाउने लगायत समस्या हुन्छ। साथै, महिलामा स्तन क्यान्सरको जोखिम पनि बढाउने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्।
इन्टरन्याशनल जर्नल अफ मोलिक्यूलर साइन्समा सन् २०२० मा प्रकाशित शोध आलेख अनुसार प्रकाश प्रदूषणले मानिसको २४ घण्टे तालिका नै खलबल्याइदिन्छ। त्यो समयतालिका खलबलिंदा क्यान्सरका कारक बन्न सक्ने कोषहरू सक्रिय हुन पुग्छन्। फलस्वरूप क्यान्सरको जोखिम बढ्छ।
त्यस्तै, क्रोनोबायोलोजी इन्टरन्याशनल जर्नलको जनवरी २००८ मा प्रकाशित शोध आलेख अनुसार कुनै महिलाको छिमेकमा हरेक रात पढ्न सकिने जतिको उज्यालो भइराख्छ भने उनमा अँध्यारो रातमा बस्ने महिलामा भन्दा ७३ प्रतिशत बढी स्तन क्यान्सर हुने जोखिम रहन्छ।
प्रकाश प्रदूषणको असर यतिमा मात्रै सीमित छैन। यसले खगोल अध्ययन नै खलबलिन सक्ने बताउँछन् खगोल अध्ययन तथा प्रवर्द्धनमा आबद्ध कैलाली बहुमुखी क्याम्पसका भौतिकशास्त्र विषयका उपप्राध्यापक प्रेमराज जोशी। “हामीले प्रयोग गर्ने कृत्रिम प्रकाशले तारा तथा अन्य खगोलीय पिण्डबाट आउने प्रकाश कमजोर हुन पुग्छ जसले गर्दा खगोल अध्ययन खलबलिन्छ,” उनी भन्छन्। अन्य देशमा जस्तो प्रकाश प्रदूषणको अवस्था नियन्त्रण बाहिर नगए पनि यसबारे नीति तथा मापदण्ड बनाउनुपर्ने वेला भइसकेको उनको तर्क छ।
प्रकाश प्रदूषण बढेकैले अन्यत्र कृत्रिम उज्यालोरहित अन्धकारयुक्त स्थानको संरक्षण गर्न ‘अँध्यारो आकाश आरक्ष’ स्थापना गर्ने अभ्यास शुरू भइसकेको छ। हालसम्म १३० भन्दा बढी अँध्यारो आकाश आरक्षले मान्यता पाएका छन्। नेपालमा पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु आरक्ष, राष्ट्रिय निकुञ्ज जस्तै अँध्यारो आकाश आरक्ष बनाउनुपर्ने चर्चा पनि हुन थालेको छ।
खगोल अध्ययन प्रवर्द्धन गर्ने संस्था नेपाल अस्ट्रोनोमिकल सोसाइटी (नासो)का सुरेश भट्टराई भने नेपालमा प्रकाश प्रदूषणबारे जनसाधारणहरू अनभिज्ञ रहेको हुँदा यसबारे सचेतना कार्यक्रम नै पहिलो आवश्यकता रहेको तर्क गर्छन्।
“हामीले हाम्रो सुविधाका लागि राति बत्ती बाल्दा कीराफट्यांग्रा, चराचुरुंगी र अन्य निशाचर प्राणीहरूलाई असर परिरहेको हुन्छ,” उनी भन्छन्, “अन्धकार रात पनि जैविक विविधताको एउटा पाटो हो तसर्थ बत्तीको अनुशासित प्रयोग गर्नुपर्छ।”
‘अँध्यारो रात सहितको नेपाल’ बनाउनकै लागि नासोले डार्कस्काई इन्टरन्याशनलसँग आधिकारिक रूपमै सन् २०१९ देखि सम्पर्क थालेको थियो भने फेब्रुअरी २०२४ मा सहमति प्राप्त गरेको थियो। प्रकाश प्रदूषणको समस्या न्यूनीकरण गर्न तथा खगोल पर्यटनको सम्भावना सिर्जना गर्न नासोले पहल गरिरहेको भट्टराई बताउँछन्। “राति बत्ती चाहिन्छ तर जति चाहिने हो त्यति मात्रै उपयोग गरौं,” उनी भन्छन्, “नत्र त नयाँ पुस्ताले शहरबजारबाट तारा नै देख्न पाउँदैन।”
याे पनि पढ्नुस् त्यो उग्र बत्ती र पोखराको गन्तव्य