उपकुलपति नियुक्तिको भ्रामक प्रचारबारे के भन्छन् बुढाथोकी?
प्रा.डा. चित्रबहादुर बुढाथोकी त्रिविको उपकुलपति नियुक्त भएको भ्रामक खबर सामाजिक सञ्जालमा फैलिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यो सत्य नभएको स्पष्ट पारेका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले गत फागुन ६ गते प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छानिएका १४ मध्ये तीन जनालाई उपकुलपतिमा सिफारिश गर्यो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलालाई सिफारिश गरेको थियो। तर बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा प्रा.डा. चित्रबहादुर बुढाथोकी उपकुलपति नियुक्त भएको भ्रामक सूचना फैलियो। लगत्तै प्रा.डा. बुढाथोकीलाई विभिन्न व्यक्तिदेखि संघसंस्थाहरूबाट बधाई र सोधखोजको ओइरो लाग्यो।
“बिहानदेखि फोन आइरहेको छ। तर मलाई उपकुलपति भएको भनेर कुनै पनि आधिकारिक जानकारी आएको छैन,” बुढाथोकीले हिमालखबरलाई भने।
त्रिविको उपकुलपति नियुक्तिबारेको सूचना भ्रामक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले बताइसकेका छन्। उनले आज बिहान गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सामाजिक सञ्जालमा आएका खबरमा सत्यता नभएको बताएका थिए। “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन,” प्रधानमन्त्री दाहालको भनाइ सरकारी समाचार संस्था राससले उद्धृत गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान गोरखा पत्रकार समाजका पदाधिकारीसँगको भेटमा सहभागी पत्रकार रामजी दाहालले भने, “प्रधानमन्त्रीज्यूले त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको र एक जना पूर्व शिक्षामन्त्रीले सामाजिक सञ्जालमा हतारिएर लेख्नुभएछ भन्नुभयो।”
प्रा.डा. बुढाथोकीले वास्तविक भ्रामक सूचनाको स्रोतबारे आफू अनभिज्ञ रहे पनि आफू निकट स्रोतले भने नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट प्रचार भएपछि भ्रामक सूचना फैलिएको सुनाएको बताए। “अब यो गलत कुरा जहाँबाट फैलिए पनि नियम र योग्यता अनुसार छनोट होस्। प्रधानमन्त्रीले योग्यताका आधारमा छनोट हुन्छ भन्नुभएको छ। त्यसैलाई प्राथमिकता दिइयोस्,” उनले भने।