धरानमा छोराको कुटाइबाट आमाको मृत्यु
धरानमा छोराको कुटाइबाट गम्भीर घाइते भएकी आमाको मृत्यु भएको छ।
धरान-११, कुबिर्ता चोक नजीकैको महावीर चोकका २९ वर्षीय दीपक राई र आमा ४६ वर्षीय रोमनसरी राईबीच सोमबार राति साढे ८ बजे झगडा भएको थियो। यस क्रममा कुटपिटबाट रोमनसरी गम्भीर घाइते भएकी थिइन्। यसपछि उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
दीपकले लागूपदार्थ र मादक पदार्थ सेवन गरी आमालाई कुटपिट गरेको प्रहरीको भनाइ छ। दीपकलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अनुसन्धानका लागि म्याद थप गर्न आज सुनसरी जिल्ला अदालत लैजाने तयारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
मृतकका श्रीमान् रामबहादुर राईले छोरा दीपकलाई कर्तव्य ज्यानमा निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन मिश्रले बताए।