हिमाल हेरेर बाँचेको पोखरालाई कसरी बचाउने?
अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमालका कारण बाँचिरहेको पोखरालाई कसरी जोगाइराख्ने भन्ने विषयमा बहस भएको छ।
नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबार ‘संस्कृति, भूगोल, भूगर्भ : पोखराका पर्यटकीय गन्तव्य’ विषयक छलफलमा पोखराको भविष्यबारे पनि बहस भएको हो। पत्रकार कनकमणि दीक्षितले सहजीकरण गरेको बहसमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हिमालसँगै पोखरालाई पनि जोगाउन जरुरी रहेको औंल्याए।
मेयर आचार्यले अन्नपूर्ण हिमालमा भइरहेको फोहोरको प्रसंग निकाले। सगरमाथामा सरसफाइ अभियान चले पनि अन्नपूर्णका विषयमा त्यति धेरै नसोचिएको उनको भनाइ थियो।
अन्नपूर्ण क्षेत्र प्रवेश गर्ने ‘ट्रान्जिट पोइन्ट’ पोखरा भएको उल्लेख गर्दै हिमालकै कारण पोखराको पहिचान बनेको बताए। “हामी पोखराका बासिन्दा अन्नपूर्ण हिमाल हेरेर बाँचेका छौं। अथवा अन्नपूर्ण हिमालले हामीलाई बचाइरहेको छ,” मेयर आचार्यले भने, “पर्यटनका लागि हिमाल र ताल नै महत्त्वपूर्ण हो।”
अन्नपूर्ण हिमाललाई जोगाउने जिम्मा पनि पोखरावासीको भएको उनको भनाइ थियो। गत वर्ष अन्नपूर्ण हिमाल सरसफाइ गरेर ३१ टन फोहोर संकलन भएको प्रसंग निकाल्दै त्यसमा महानगरले साझेदारी गरेको बताए। मेयर आचार्यले थपे, “अन्नपूर्ण हिमाललाई हेरेर बाँचेका छौं, त्यसको सरसफाइको जिम्मा हाम्रो हो।”
त्यस्तै, पोखरासँग जोडिने अर्को विषय हो- भूबनोट। पोखराको मैदान, सेतीको खोंच लगायत विषयमा पत्रकार दीक्षितले मेयर आचार्यसँग प्रश्न गरे।
यी सबैलाई समेट्ने गरी कार्यविधि बनाइएको मेयर आचार्यले उल्लेख गरे। “भर्खरै कार्यविधि बनाएका छौं, चार दिन भयो मैले हस्ताक्षर गरेको,” उनले थपे, “पोखराका तालतलैया, डिल, भीर, नदी सम्पूर्ण ठाउँको मापदण्ड स्पष्ट गरेका छौं।”
पोखराको भूबनोटलाई ध्यानमा राखेर नै भौतिक संरचना निर्माणको मापदण्ड तोकिने बताए। त्यो विषयलाई कार्यविधिमा समेटिएको उनको भनाइ थियो। “कहाँ के बनाउन मिल्ने, कहाँ के बनाउन नमिल्ने? कुन ठाउँको जोइनिङ गरेर कुन ठाउँमा अग्ला घर बनाउन मिल्ने, कहाँ नमिल्ने। त्यो सबै कुरालाई हेरेका छौं,” आचार्यले भने।
सेती किनारको केही भाग कमजोर रहेको उल्लेख गरे। त्यस्तै, पोखरामा परिरहने भ्वाङका विषयमा पनि सचेत रहेको उनको भनाइ थियो। केही अध्ययन भएको र थप अध्ययनको तयारी गरिरहेको मेयर आचार्यले बताए। “फ्रान्सेली अध्येताले पोखराको सिंगो एक्सरे गर्ने भन्नुभएको छ,” उनले भने, “भूभागको हिसाबमा पोखरामा अलि खतरा छ भन्ने छ। वास्तविक अवस्था के छ भन्ने विषयमा अध्ययनका लागि फ्रान्सेलीहरूसँग कुराकानी भएको छ।”
पोखरासँग जोडिएको महत्त्वपूर्ण विषय हो, ताल। फेवा लगायत तालको संरक्षणका विषयमा पत्रकार दीक्षितले मेयर आचार्यलाई प्रश्न गरे। उनले सबै तालको संरक्षण गरिने बताए। महानगरले बनाएको कार्यविधिमा ताल संरक्षणलाई समेटिएको उनको भनाइ थियो।
चराचुरुंगीलाई असर पर्ने गरी आर्वा डाँडामा राखिएको बत्तीको प्रसंग जोड्दै उज्यालो शहरका विषयमा प्रश्न गरिएको थियो। त्यसमा पनि मेयर आचार्यले ध्यान दिइएको बताए। आर्वा डाँडाको बत्तीका विषय छलफलकै क्रममा रहेको र शहरका अन्य भागमा पनि वातावरण, चराचुरुंगी, जनजीवनलाई असर नपर्ने गरी व्यवस्था गरिने बताए।
फागुन ३ देखि शुरु भएको साहित्य महोत्सव फागुन ७ मा सकिएको छ। महोत्सवमा पोखरासँगै साहित्य, कला, संस्कृति, राजनीतिक, आर्थिक विविध विषयमा बहस भएका थिए। महोत्सवमा २०० भन्दा बढी साहित्यकार, लेखक, कलाकार, पत्रकार, राजनीतिकर्मी, उद्योगी, व्यवसायी लगायत सहभागी भएर बहस गरेका थिए।