बलात्कारको आरोपमा समाजवादीका नेता पक्राउ
बालिका बलात्कारको आरोपमा नेपाल समाजवादी पार्टीका नेता हरि श्रेष्ठ पक्राउ परेका छन्।
मकवानपुरकी एक बालिकालाई बलात्कार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए। जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको भण्डारीले जानकारी दिए।
सिन्धुलीको मरिन गाउँपालिका–७ का श्रेष्ठले मकवानपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उनले फागुन ४ गते बलात्कार गरेको उल्लेख छ।
पक्राउ परेका श्रेष्ठ नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन्। माओवादी सशस्त्र विद्रोहमा सहभागी श्रेष्ठ पछिल्लो समय समाजवादीमा लागेका थिए।
उनी माओवादी सेनाका पूर्व कमान्डर हुन्। सशस्त्र द्वन्द्वको समयमा प्रमोद नामले परिचित उनी माओवादी सेनाका दोसो डिभिजन कमान्डर थिए।