एसडी मुनीको खुलासा : नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र भारतको अजेन्डा
भारतीय प्राध्यापक एसडी मुनीले सशस्त्र संघर्षरत माओवादीलाई भारतीय सरकारसँग सम्बन्ध स्थापित गर्न आफूले खेलेको भूमिका पुस्तक मार्फत उजागर गरेका छन्।
नेपाली राजनीतिलाई नजीकबाट नियालेका र वेलाबखत भारतीय संस्थापनसँग सम्पर्क माध्यम बन्ने गरेका मुनीले भारतको वर्तमान चासो हिन्दू राष्ट्र र राजतन्त्र भएको खुलाएका छन्। नयाँ दिल्लीको कोनार्क पब्लिशर्सद्वारा प्रकाशित आत्मसंस्मरण ड्याब्लिंग इन डिप्लोमेसीः अथराइज्ड एन्ड अदरवाइज, रिकलेक्सन्स अफ अ नन-करिअर डिप्लोम्याटमा आफूलाई राजतन्त्रको समर्थनका लागि आग्रह गरिएको खुलाएका हुन्।
पुस्तकमा आधारित रहेर कल्लोल भट्टचर्जीले द हिन्दूमा लेखे अनुसार नरेन्द्र मोदीको सरकार स्थापना भएपछि नेपालका पूर्वमन्त्री अशर्फी साह प्राध्यापक मुनीलाई भेट्न गएका थिए। मोदी सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई सहयोग गर्ने आश्वासन दिएको सूचना उक्त भेटमा साहले मुनीलाई दिएका थिए।
“राजतन्त्र र हिन्दू धर्म एउटै सिक्काका दुई पाटा हुन् जसलाई भारतले साथ दिन्छ,” साहको कथन मुनीले उल्लेख गरेका छन्।
त्यसको प्रतिक्रियामा मुनीले साहलाई सोधेका थिए, “त्यसो हो भने म जस्तोबाट राजाले किन सहयोग खोजिरहेछन्?”
त्यस्तै, विदेशमा गुप्तचरी गर्ने भारतीय जासूसी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का एक पूर्व अधिकारीले पनि दिल्लीस्थित जीमखाना क्लबमा भेटेर उत्तर प्रदेशका मुख्यमन्त्री ‘नेपालमा राजतन्त्र पुनःस्थापना गर्न इच्छुक रहेको’ बताएको पुस्तकमा उल्लेख गरिएको छ। त्यसका लागि आफूसँग सहयोग मागेको र आफूले अस्वीकार गरेको मुनीले लेखेका छन्। “मैले कडाइका साथ गलत उद्देश्यका गलत मानिससँग भेटेको प्रतिक्रिया दिएँ,” मुनीले लेखेका छन्।
भारत-माओवादी सम्पर्क साँघु
मुनीले पुस्तकमा सशस्त्र संघर्षमा संलग्न तत्कालीन नेकपा (माओवादी) र भारतीय सरकारबीचको साँघु बनेको खुलासा गरेका छन्। “सन् २००३ को अन्त्यतिर जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को पुस्तकालयमा काम गरिरहेका एक जना परिचित नेपाली वामदेव क्षेत्री मेरो घरमा आए। उनले बाबुराम भट्टराई शहरमै रहेको र मलाई भेट्न चाहेको बताए। भूमिगत भएर काम गरिरहेकाले बाबुराम जेएनयू आउन नसक्ने, त्यसैले मलाई उनी भएको ठाउँमा पुर्याउने उनले बताए,” मुनीले पुस्तकमा उल्लेख गरेका छन्।
माओवादी नेता भट्टराई मुनीका लागि अपरिचित भने थिएनन्। सन् १९६० को दशकको मध्यदेखि नेपालबारे अध्ययन थालेका मुनीको नेपाली नेताहरू बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायतसँग सम्बन्ध थियो।
त्यस्तै, नेपाली कम्युनिस्ट नेता पुष्पलाल र राजनीतिकर्मी एवं मानव अधिकारकर्मी ऋषिकेश शाहसँग पनि सम्बन्ध थियो। ऋषिकेशले नै मुनीलाई हिसिला यमीसँग परिचय गराइदिएका थिए। एउटा अवसरमा यमीले आफ्ना पति भट्टराईसँग चिनाएको मुनीले लेखेका छन्।
वामदेव क्षेत्रीले दक्षिणी दिल्लीको मोती बागमा रहेको दुई कोठाको फ्ल्याटमा भट्टराईसँग भेट गराए। त्यो भेटमा भट्टराईले भारत र संयुक्त राज्य अमेरिकाबीच राजा ज्ञानेन्द्रलाई समर्थन गर्ने सम्बन्धमा सहमति बन्दै गरेको आफूहरूले ख्याल गरेको बताएको पनि खुलाएका छन्।
पुस्तकमा उल्लेख भए अनुसार यो सम्भावना बढ्दै गएकाले माओवादीले भट्टराईलाई ‘माओवादीहरू आतंकवादी नभएको व्याख्या गर्न’ वाजपेयी सरकार समक्ष पठाएका थिए। सन् २००१ अगस्टमा नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जसवन्त सिंहले माओवादीलाई आतंकवादीको बिल्ला लगाएका थिए।
भट्टराईको प्रस्ताव आफूले माओवादीप्रति नरम नीति लिने ‘अब्जर्भर रिसर्च फाउन्डेशन’ का अध्यक्ष आरके मिश्रसम्म पुर्याएको मुनीले उल्लेख गरेका छन्। मिश्रले त्यो प्रस्तावबारे भारतीय कांग्रेसका तत्कालीन नेता प्रणव मुखर्जी (पछि राष्ट्रपति)सँग छलफल गरे।
मुखर्जीले माओवादीबाट भारतीय स्वार्थ विरुद्ध गतिविधि नगर्ने लिखित प्रतिबद्धता खोजे। भट्टराईले आफ्ना नेता पुष्पकमल दाहालसँग सल्लाह गरेर त्यस्तो पत्र उपलब्ध गराए।
त्यसपछि मुनीले पूर्व प्रधानमन्त्री आईके गुजरालसँग भेटे। तर मुखर्जी र गुजरालको सम्पर्कमाध्यमले भारतीय सरकारसँगको औपचारिक सम्बन्ध स्थापना गर्न सघाएन।
‘त्यो निराशा’ मा आफू तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रकहाँ पुगेको मुनीले उल्लेख गरेका छन्। माओवादीको प्रस्ताव सुनाएपछि मिश्रले मुनीलाई सोधे, “उनीहरू वास्तवमा के चाहन्छन्?”
मुनीले जवाफ दिए, “उनीहरु (नेपालमा) राजतन्त्र अन्त्य गर्न, राजनीतिक व्यवस्था परिवर्तन गर्न र नेपाली राजनीतिको मूलधारमा सहभागी हुन चाहन्छन्।”
केही झोक्किंदै मिश्रले भने, “यो सम्भव छैन। यस विषयमा म केही भन्न सक्दिनँ।”
तर हार नमानीकन मुनीले तर्क गरे, “(नेपालका) राजाले भारतको राष्ट्रिय हित संवर्द्धन गर्न के नै गरेका छन् र? के उनले चीन, पाकिस्तान र दक्षिणी शक्तिलाई नेपालमा भारतको प्रतिरोध गर्न निम्त्याएका होइनन् र?”
मुनीको कुरा सुनेपछि मिश्र शान्त भए र प्रणव मुखर्जीले शुरूमा गरेको माग दोहोर्याए। उनले सोधे, “के उनीहरू नेपालमा भारतीय स्वार्थलाई असर पुर्याउने गरी केही गर्नेछैनन् भनेर लेखेर दिन्छन्?”
यस पटक पनि माओवादीको प्रतिबद्धतापत्र मिश्रलाई उपलब्ध गराइयो। त्यसको केही सातापछि मुनीले हैदराबाद हाउसमा आयोजित एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई भेट्ने मौका पाए।
“मुनीजी, हामीले नेपालबारे तपाईंको सन्देश पायौं। केही गर्नेछौं,” त्यो भेटमा प्रधानमन्त्री वाजपेयीले आफूलाई भनेको मुनीले लेखेका छन्।
केही महीनापछि भारतमा माओवादी विरुद्ध भइरहेको गुप्तचरी खुला गरियो र उनीहरूलाई तुलनात्मक रूपमा खुलेआम आफ्ना गतिविधि गर्न दिइयो।
सशस्त्र संघर्षकै समयमा भारतीय सरकारसँग सशर्त सम्बन्ध स्थापना गरेको यो खुलासा नयाँ भने होइन। प्राध्यापक मुनीले सन् २०१२ मा प्रकाशित पुस्तक नेपाल इन ट्रान्जिसनः फ्रम पिपल्स वार टु फ्रेजाइल पीसमा संगृहीत निबन्ध ‘ब्रिन्गिङ द माओइस्ट्स डाउन फ्रम द हिल्स’ मा यो प्रसंग पहिलो पटक खुलासा गरेका थिए। अहिले प्रकाशित आत्मसंस्मरणमा भने उनले आफ्नो संलग्नता वर्णन गरेका छन्।