‘नागरिक अधिकारका लागि खुलामञ्च सदैव खुला हुनुपर्छ’
नागरिक अधिकारका लागि काठमाडौंको खुलामञ्च सदैव खुला राख्नुपर्नेमा विभिन्न क्षेत्रका व्यक्तिले जोड दिएका छन्।
खुलामञ्चलाई खुला राख्नुपर्ने माग गर्दै सोमबार आयोजित दबाब कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले कुनै पनि बहानामा खुलामञ्चलाई विस्थापित गर्न नहुने बताए। “खुलामञ्च नेपालको प्रजातान्त्रिक आन्दोलनको उद्गमस्थल हो, यसलाई मासिन दिनु हुँदैन, यो नागरिकको हितका लागि खुला राख्नुपर्छ,” प्रधानले भने।
भूकम्प लगायत प्राकृतिक प्रकोपका समयमा पनि खुलामञ्च आश्रयस्थल बन्ने गरेको उनले सुनाए। यससँगै काठमाडौंको पानी सोसिने स्थल भएकाले पनि खुलामञ्च जोगाउनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, सर्जक मिलन राईले खुलामञ्च विचारको ‘स्पेस’ भएको उल्लेख गरे। सबै विचारलाई स्थान दिने भएकाले पनि खुलामञ्च सबैका लागि खुला हुनुपर्ने राईको भनाइ थियो।
अभिनेत्री उषा रजकले खुलामञ्चलाई खुम्च्याउन नहुने बताइन्। खुलामञ्चलाई सधैं खुला राख्न नागरिक स्तरबाट पनि पहल र दबाब जारी राख्नुपर्ने उनको भनाइ थियो।
खुलामञ्च प्रजातन्त्र र लोकतन्त्र रक्षाको आवाज समेट्ने स्थल भएकाले यसको महत्त्व काठमाडौं महानगरले बुझ्नुपर्ने रवीन्द्र श्रेष्ठले बताए। उनले खुलामञ्चलाई खुलै राख्न महानगरलाई अपील गरे।
त्यस्तै, अभियन्ता आलोक तुलाधरले खुलामञ्चलाई फूटबल मैदान बनाउने निर्णय फिर्ता लिन काठमाडौं महानगरलाई आग्रह गरे। महानगरले खुलामञ्चमा कुनै संरचना बनाउन नहुनेमा उनको जोड थियो।
नागरिक अभियन्ता गोविन्द छन्त्यालले लोकतन्त्र र गणतन्त्रका लागि खुलामञ्च प्रतीकका रूपमा रहेको बताए। “खुलामञ्च निश्चित जग्गा मात्र होइन, यो खुला विचार र खुला आकाश, खुला जग्गाको आस्था हो,” छन्त्यालले भने। मञ्चलाई विस्थापित नगरी जनताको स्वामित्वमै राख्नुपर्ने बताए।
बागमती प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्यले खुलामञ्चमा अर्को कुनै भवन बनाएर यसको इतिहास मेटाउन नहुने बताए। “भूमिको इतिहास जोगाउन अपरिहार्य छ,” उनले भने।
काठमाडौं महानगरले खुलामञ्चमा फूटबल मैदान बनाउने तयारी गरेपछि नागरिक अगुवा विरोधमा उत्रिएका हुन्। सबैतिरबाट विरोध हुन थालेपछि महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल मार्फत खुलामञ्चलाई खुलै राख्ने प्रतिबद्धता जनाएका थिए। तथापि महानगरले निर्णय फिर्ता नगरेकाले दबाब दिन प्रदर्शन गरिएको थियो।