‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘बाघले हरिण खानु अस्वाभाविक होइन, उसको आहारा त्यही हो। जनावर नियमित प्रक्रिया, नियम र लयमा चलेको हुन्छ। मानिसले चाहिं सधैं लय भंग गरिरहेको हुन्छ। मानिस सधैं पाखण्डी छ, जनावर सधैं प्राकृतिक।’
लेखक शिवप्रकाशको उपन्यास समभोक केही समयअघि सार्वजनिक भएको छ। यसअघि कथासंग्रह प्रकाशन गरेका उनको यो पहिलो उपन्यास हो। समभोकको मूल कथा आप्रवासन र त्यसकै कारणले सिर्जित विवाहेतर सम्बन्ध हो। लेखकले खास गरी यौनिक रूपमा बहुगामी पात्रहरूलाई जमघट गराएर भोक, भोग र सम्भोगको कथा बुनेका छन्।
यही उपन्यासको पृष्ठभूमिमा हिमालखबरको पाक्षिक प्रस्तुति किताबको कुराका लागि सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :
शब्दकोशमा नभेटिने ‘समभोक’ लाई उपन्यासको शीर्षक बनाउनुभएको छ। संस्कृतको उपसर्ग र तद्भव नेपाली शब्द जोडेर कस्तो अर्थ दिन खोज्नुभएको हो?
यस किताबमा जुन किसिमको कथावस्तु छ, त्यसले भोकको कुरा गर्छ। भोक फरक फरक होला तर हामी सबै भोका छौं। यही कुरा बुझाउन यो नाम राखेको हुँ। ‘सम्भोग’ शब्द हुन्छ भने ‘समभोक’ किन हुन्न भन्ने लागेर नयाँ शब्द ‘क्वाइन’ गरें। झट्ट सुन्दा उस्तै लागे पनि यी दुई शब्दले दिने अर्थ फरक छ। यस किताबलाई केही पाठक तथा समीक्षकले भोकको दर्शन पनि भनेका छन्।
केही अघि एउटा पुरस्कारको छनोट सूचीबाट आफ्नो पुस्तक फिर्ता गराउनुभयो। यसो गर्दा तपाईंलाई चर्चामा आउन बहानाबाजी गरेको आरोप लाग्यो नि?
मैले गर्ने काम र मेरो चरित्रले तपाईंको मस्तिष्कमा मेरा बारे एकखाले विम्ब बनाउँछ। त्यसकै आधारमा तपाईंले मेरा बारेमा धारणा बनाउनुहुन्छ। हुनुपर्ने यसो हो। तर यहाँ मानिसहरू अरूका बारेमा निराधार धारणा बनाइदिन्छन्। पुरस्कारको ‘शर्ट लिस्ट’ बाट नाम फिर्ता लिएपछि मेरा हकमा पनि यस्तै गरिएको होला।
खासमा पुरस्कारको प्रक्रियाप्रति नै मेरो असहमति हो। पुरस्कार दिने संस्थाले लेखक या प्रकाशकसँग किताब माग्ने होइन, किन्नुपर्छ। पुरस्कारका लागि किताब छनोट प्रकिया, निर्णायकहरूको योग्यताबारे पनि मेरो प्रश्न छ। म अन्तरात्माले भनेको गर्छु, नगर् भनेको गर्दिनँ। साहित्य आफैंमा आदर्श जीवनको साधना हो भने साहित्यकार त्यसको उपासक, पूर्णता भलै नहोस्।
यस्तोमा चूप बस्नु उचित लागेन। पछि पुरस्कार पाइयो र बेकार लिएछु भन्ने लाग्यो भने त्योभन्दा मर्नु के हुन्छ मान्छेलाई! यस विषयमा मैले एउटा हरफ क्वाइन गरेको छु- जित्दा जितको मजा पनि होस्, हार्दा हारको लज्जा पनि नहोस्। पहिले एउटा पुरस्कार लिएको पनि हुँ, अहिले त्यसको नाम भन्नै लाज लाग्छ।
लेखकले यो आदर्श जीवनभर अँगालिरहन सक्छ?
प्रयास गर्छु। तर पूर्ण रूपले भन्दिनँ। हाम्रो धर्मशास्त्रले पनि मानिस पूर्ण हुन सक्दैन भन्छ। मानिसमा धेरथोर पाखण्डपन हुन्छ नै। कि त जनावर हुनुपर्यो।
तपाईंले उपन्यासमा पनि मानिसलाई जनावरसँग तुलना गर्नुभएको छ नि?
जनावरले यस धर्तीलाई असर गरेको छैन। बाघले हरिण खानु अस्वाभाविक होइन, उसको आहारा त्यही हो। जनावर नियमित प्रक्रिया, नियम र लयमा चलेको हुन्छ। मानिसले चाहिं सधैं लय भंग गरिरहेको हुन्छ। मानिस सधैं पाखण्डी छ, जनावर सधैं प्राकृतिक।
यस किताबमा तपाईंले यौनका दृष्टिले बहुगामी पात्रहरूलाई जमघट गराउनुभएको छ। हामीले देखेका/संगत गरेका मानिसको चरित्र तपाईंले देखाए जस्तै भइसकेको छ त?
मानिसले कति वेला के गर्छ, थाहै हुन्न। पशुले केही पनि लुकाउँदैन, मान्छेले धेरै कुरा लुकाउँछ। हामीले नदेखेको मात्र हो, मैले लेखेको भन्दा भयंकर भोक सबैमा छ। यो किताब मुख्यतः परदेशिएका नेपालीको कथाको एउटा पाटो मात्र हो। मैले वरिपरि देखेका, भोगेका, भेटेका र अनुभूत गरेका घटना नै कथामा उतारेको हुँ। धेरै लेख्न पो सकिनँ कि, पात्रहरू अझै छुटाएँ कि भन्ने लाग्छ।
यी पात्र मार्फत दाम्पत्य सम्बन्धमा इमानदारी र वफादारी कमजोर हुँदै गएको बुझाउन खोज्नुभएको हो? हो भने कतिले यो स्थितिलाई भयानक पनि मान्न सक्ने भए नि?
भयानक त होइन। यो सबै प्राकृतिक कुरा हो। मैले समाजमा यस्तो पनि भइरहेको छ है भनेर देखाउन खोजेको मात्र हुँ। जसरी मुग्धाले ‘कन्फेस’ गरेकी छे, सिन्धुकाले घरपरिवार नबिग्रियोस् भनेर आदर्श नारीको भूमिका खेलेकी छ, यी सबै कुरा हामीले स्वीकार गर्नुपर्छ। पौराणिक कथामा पनि यस्ता कुरा छन्। पहिल्यैदेखि रहेका कुरालाई नयाँ ढंगले लेखेको मात्र हो।
तपाईं लामो समय अमेरिका बस्नुभयो। उपन्यासका पात्र पनि नेपालबाट अमेरिका पुगेकाहरू नै छन्। तिनमा तपाईंकै भोगाइ र अनुभूति पनि प्रतिविम्बित छन्?
हरेक लेखक कहीं न कहीं आफ्नो कथामा जोडिन्छ। किनभने अनुभूतिबाट नै साहित्य उम्रन्छ। काल्पनिकीलाई मात्र अँगालेर कथा बलियो बन्छ जस्तो लाग्दैन। यसकारण कथाका पात्रहरूमा थोरबहुत लेखकको जीवन प्रतिविम्बित हुन्छ नै।
त्यसो भए आत्मकथा लेख्न असहज लागेर उपन्यास लेख्नुभएको हो कि?
असहज किन मान्नु? म आत्मकथा लेख्न जान्दिनँ। यतिका वर्ष बाहिर बस्दा अनुभूति गरेका कुरा लेख्न मन लाग्यो। नेपाली मात्र होइन, विदेश जाने लाखौं मानिस आधा भएर बाँचेका छन्। आफू एकातिर, परिवार अर्कातिर। केही समय म पनि आधा भएर बाँचें। अमेरिकामा धेरै नेपालीले आत्महत्या गरे, कतिपय ‘डिप्रेशन’ मा गए। खोज्दै जाँदा त्यसमा यौनिक कारण प्रमुख रहेछ।
यौनले मानिसलाई हरदम गाँजेको हुँदो रहेछ। यौनबाट वञ्चित हुँदा केकस्ता समस्या आउन सक्छन्, यौनको भोक कसरी जाग्छ, कसरी विकास हुन्छ, त्यसले केसम्म गराउँछ भन्नेमा जे देखें, त्यही लेखें। तर आत्मकथा भन्न यसमा मैले अनुभूति गरेका कुराहरू मात्र पनि छैनन्।
आप्रवासीको जीवनका अरू पनि थुप्रै आयाम हुन सक्छन्। ती सबैलाई छाडेर यौनलाई नै केन्द्रमा राख्नुको कारण के हो?
आप्रवासीका बारेमा नेपाली लेखकहरूले धेरै लेखिसके। परदेशको जीवन, जीवनशैली र विकासबारे लेख्न खासै बाँकी छैन। परिवार छाडेर परदेश गएका मानिसले भोगेको आधा जीवनबारे चाहिं खासै नलेखिएकाले मैले लेखेको हुँ। पाण्डुलिपि हेर्ने साथीले आप्रवासीका बारेमा यस्तो लेख्नु दुस्साहस हो भन्नुभएको थियो। अर्का एक साथीको प्रतिक्रिया थियो- ‘जसले लेख्छ, देख्न सक्दैन। जसले देख्छ, लेख्न सक्दैन। किनकि देख्ने मान्छेले लेख्नलाई समाज या पाठकसँग डराउँछ।’ अनि मैले चुनौती स्विकारेर गरेर यसलाई छाप्न दुस्साहस गरें।
कतिपय लेखक सिर्जनामा आफ्नो परिकल्पना पूरै उतार्न नसकेको गुनासो गर्छन्। यस किताबका सन्दर्भमा तपाईंको अनुभव चाहिं कस्तो रह्यो?
अलिकति फरक लेख्छु भन्ने भोक थियो। त्यसैले सोच्न र पुनर्लेखन गर्न चार वर्ष लाग्यो। भोक, भोग र सम्भोगमाथि उपन्यास लेख्ने सोच बनेपछि कसरी लेख्ने भन्ने कुराले दिमाग रन्थन्यायो। मुख्यतः पात्रहरूलाई एकअर्कासँग जोड्नु नै जटिलता थियो। म जस्तो सामान्य मान्छेले यस्तो बृहत् विषय समेट्न सक्छु कि सक्दिनँ भन्ने थियो।
समभोक पढ्दा वाक्यहरूको आशय बुझ्न सामान्य पाठकले ठाउँ ठाउँमा घोत्लिनुपर्ने हुन्छ। यो तपाईंको शैलीगत विशेषता हो कि लेखकीय कमजोरी?
लेखन सरल ढंगले बगेको, सजिलै बुझ्ने हुनुपर्छ भन्ने धेरैको मान्यता छ। म चाहिं मेरो कथा पढेर मानिस केही समय घोत्लियून्, हरफहरूमा अन्डरलाइन र हाइलाइट्स गरून् भन्ने लाग्छ। म आफैं पनि त्यस्तै किताब पढ्न रुचाउँछु।
लेखन नदी जस्तो सलल बग्ने हुनुपर्छ भनिएको मलाई चित्त बुझ्दैन। नदी कहाँ सलल बग्छ! त्यो त घुम्छ, धेरै ठाउँमा ठोक्किन्छ। ठाउँ ठाउँमा छाँगा र छहरा बन्छ, कतिपय ठाउँमा जम्छ पनि। अनि मात्रै आफ्नो अस्तित्व मेटाएर समुद्रमा विलीन हुन्छ। यसरी हेर्दा नदी जस्तो लेखन सलल बगेको होइन, मानिसलाई घोत्लिन बाध्य बनाउने किसिमको हुन्छ।
राम्रो लेखन भनेको कस्तो हो? कुनै पनि कृति विषयवस्तुको प्रस्तुतिका आधारमा मात्रै उत्कृष्ट हुन सक्छ?
म आफ्नै लेखनबाट सन्तुष्ट छैन। कतिपय मानिसलाई एक किसिमको लेखनशैली मन पर्ला, कसैलाई अर्को। कुनै पनि किताब शैलीले मात्र पनि राम्रो हुँदैन, विषयवस्तु राम्रो चाहिन्छ। विषयवस्तु राम्रो छ तर लेखनशैलीले पाठकलाई गहिराइमा डुबाउन सकेन भने पनि हुँदैन।
कथा लेखिरहेको मान्छेलाई उपन्यास लेख्दाका जटिलता केकस्ता हुँदा रहेछन्?
छोटा छोटा कथा लेख्न सजिलो थियो। लामो कथा लेख्न धेरै पक्षमा विचार गर्नुपर्दो रहेछ। लेखन इन्जिनीयरिङ जस्तो रहेछ- धेरै कुरा जोड्नुपर्ने, नयाँ नयाँ कथा सिर्जना गर्नुपर्ने। त्यो गर्दाखेरि कहीं न कहीं केही नपुगेको र केही बढी भए जस्तो लागेको छ। अहिले लेखेको भए किताबको नाम र मूलकथा उही रहे पनि प्रस्तुति फरक हुन सक्थ्यो।
समीक्षकका कुरा कत्तिको सुन्नुहुन्छ?
सुन्छु। तर मान्ने/नमान्ने उहाँहरूको कुरामा भर पर्छ। कुनै पनि कुरा राम्रो र नराम्रो भनिनु सोचाइ र दृष्टिकोणले फरक पार्ने कुरा हो। एउटै वस्तुलाई दुई जनाले फरक फरक देख्छन्। स्वाभाविक पनि हो। समीक्षा भनेको प्रशंसा मात्र पनि होइन। उहाँहरूले जे देख्नुहुन्छ, लेख्नुपर्छ भन्ने लाग्छ।
नेपाली साहित्यमा दर्शनशास्त्रको प्रभाव कस्तो देख्नुहुन्छ?
खासमा लेखनको शुरूआत नै दर्शनबाट भएको हो। पहिला पुराण लेखिन्थे। यी दर्शनबाटै अभिप्रेरित छन्। आधुनिक साहित्यमा चाहिं दार्शनिकता अलिक हराउँदै गयो। पश्चिमा साहित्यको जति पनि चर्चा हुन्छ, त्यो दर्शनको कारणले हुन्छ। नेपाली साहित्यमा दर्शनको प्रयोग खड्किएको देखेर मैले समभोकमा प्रयास गरेको छु।
तर कतिपय लेखकले यस्ता पात्रलाई दर्शनको गह्रुँगो भारी बोकाइरहेका हुन्छन् जसको चरित्र पटक्कै दार्शनिक हुँदैन। यसो गर्दा कथा बोझिलो र अस्वाभाविक हुन्न?
लेखकले आफ्ना कुरा पात्र मार्फत नै भन्ने हो। त्यसो भन्दैमा पात्रहरूलाई नसुहाउने गरी दर्शनको भारी बोकाउनु पात्रहरूप्रतिको अन्याय हो।
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :