आगामी गन्तव्य तय गर्न कांग्रेस नेता गोदावरीमा (तस्वीरहरू)
नेपाली कांग्रेसको आगामी गन्तव्य तय गर्न देशभरका नेता तथा कार्यकर्ता ललितपुरको गोदावरीमा भेला भएका छन्।
प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार कांग्रेस सभापति देउवाले गोदावरीमा महासमिति बैठकको उद्घाटन गरेका छन्। कांग्रेस महासमिति बैठक नीतिनिर्माणमा केन्द्रित हुने गर्छ।
कांग्रेसको विधान अनुसार महासमिति बैठकले समयसापेक्ष नीति तय गर्ने गर्छ। यस बैठकले पनि कांग्रेसको आगामी यात्रा सम्बन्धी नीति तय गर्ने जनाइएको छ।
महासमिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेश गर्नेछन्।
सबै प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। कांग्रेस महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।