नामिबिया पराजित भएसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा
आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गरेको हो। नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले तीन विकेटको क्षतिमा २७.२ ओभरमै पूरा गरेको हो।
नेदरल्यान्ड्सका मिचेल लेभिटले अर्धशतक प्रहार गरे। उनले ८१ बलमा आठ चौका र दुई छक्काको मद्दतले ५७ रन बनाए।
त्यस्तै, म्याक्स उडले २८ र बास डे लिडले २१ रन बनाए। नामिबियाका लागि गेहार्ड इरसमसले तीन विकेट लिए।
यसअघि ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। नामिबियाका लागि जेजे स्मितले २६, रुवेन ट्रम्पेलमनले २०, जेन ग्रिनले १९, निकोलास डेभिन र गेहार्ड इरसमसले १३-१३ तथा बेर्मान्ड स्कजले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।
नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ६ विकेट लिए। उनले नौ ओभरमा ३४ रन खर्चिए। त्यस्तै, केल क्लेइनले दुई, रोफेल भान र म्याक्स उडले एक-एक विकेट लिए।
यो जितसँगै नेदरल्यान्ड्सले दुई अंक जोडेको छ। नामिबिया र नेपालले यसअघि नै दुई-दुई अंक जोडिसकेका थिए। लिग-२ का दुई-दुई खेल हुँदा नेपाल रनरेटका आधारमा शीर्षस्थानमा छ।
लिग-२ मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। काठमाडौंमा जारी शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।
पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। आज तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको हो। अब चौथो खेलमा बुधबार नेपाल र नामिबिया प्रतिस्पर्धा गर्नेछन्।