रंगमञ्चमा ‘मासिन्या’ ले झोसेको झिल्को
कला, साहित्य, संगीत लगायत सिर्जना मार्फत वर्षौंदेखि खेप्दै आएका पीडा बाहिर ल्याउनु आत्मसन्तुष्टि मात्रै होइन, परिवर्तनको झिल्को पनि हो।
बाटोमा भेटेको कुखुराको अन्डा दिएर तामाङ परिवारको सम्पत्ति सिरिखुरी पारेको कथा। चिहान खोतलेर औंठाछाप लगाई मगरको सम्पूर्ण जग्गाजमीन हडपेको कथा। फर्सीको मुन्टाले साँध फैलाएकाले लिम्बूको जग्गा हडपेको कथा (लियोनल कप्लान, ल्यान्ड एन्ड सोसियल चेन्ज इन इस्ट नेपाल, सन् १९७०)।
भूमिसुधार लागू भएपछि कीर्ते तमसुकमा आफूखुशी शून्य थपेर पश्चिमका थारू बुह्रान गएको कथा (थारु चलचित्र बुह्रान, २०६३)। त्यस्तै, झापाको बुट्टाबारीस्थित गिरिबन्धु टी इस्टेटको जग्गा पहिले मथुरा सतार र छोटु सतारको थियो। कपोलकल्पित डाँका मुद्दा अभियोगमा भागेपछि उनीहरूकोे हडपिएको जग्गा व्यक्तिले गिरिबन्धुलाई बेचेको कथा (गोपालकुमार बस्नेत, आफ्नै सेरोफेरोभित्र, २०६१)।
मालपोत दस्तुर बुझाइदिन्छु भनेर लालपुर्जामा आफ्नै नाम लेखेर रातारात सुकुम्बासी बनाइएको राजवंशीको कथा। मीत लगाएर हडपेको कथा त झन् कति छन्।
यी माथिका घटना लिखित सबुत प्रमाणमा आधारित हुन्। यस्तै प्रकृतिका घटना संकलन गर्ने हो भने ठूलो ग्रन्थ नै बन्छ। यी र यस्तै हडप्ने कार्यमा कानून र ऐन पनि सहयोगी बने, जो त्यस्तै व्यक्ति र समूहले बनाएका थिए।
चितवन राष्ट्रिय निकुञ्ज बन्नुअघि गैंडाको संरक्षण र संख्या बढेको थियो। त्यसका पछाडि थारू समुदायको हात थियो किनकि उनीहरू गैंडाको पूजा गर्थे। जब उनीहरूबाट जमीन खोसियो, गैंडाको शिकारसँगै थारूको पीडाको दिन शुरू भयो।
ढोरपाटन शिकार आरक्ष घोषणा हुनुअघि नाउर र घरपालुवा भेंडा सराबरी थिए। मगरले नाउरलाई पितृको नाममा पूजा गर्थे। शिकार आरक्षण खुला गरेपछि नाउरको संख्या घट्न थाल्यो। सन् २०१६ मा दुई हजार २०० पुगेको नाउरको संख्या सन् २०२१ मा घटेर एक हजार २९० पुगेकाले (कमल थापा, कान्तिपुर दैनिक, २०७९ मंसीर २४) विकास र संरक्षणको आवरणमा राज्यसँग स्थानीय मगर समुदायको द्वन्द्व बढेको छ।
तामाङ किन ‘मासिन्या’ जाति भयो? किन सेनामा पिपामा मात्र लिइन्थ्यो? १८५० सालतिर रणबहादुर शाहको शासन विरुद्ध विद्रोह गर्दा किन एक हजार तामाङ काटिएका थिए? गाईको मासु खाएको आरोपमा किन जेल गइरहनुपरेको छ?
जंगबहादुर राणाको १९१० सालको मुलुकी ऐनले तामाङ लगायत भोटे, चेपाङ, दनुवार, हायु, दराई, कुमाल, पहरी, घर्ती, लाप्चा, माझी जातिलाई कुनै पनि अपराधको कसूरमा कसरी मासिन्या मतवाली बनाउने व्यवस्था गर्यो? जात र जातिबीच कसूरको कानून किन वर्गीकरण गरियो?
पुर्खाले चर्चेको भूमिमा परम्परादेखि पूजा गर्ने चलनलाई विकासले कसरी नास्यो? जीविकोपार्जनको मुख्य स्रोत जंगलमा सामुदायिक वन र राष्ट्रिय निकुञ्जले काँडेतार बिछ्याएपछि कानूनले तामाङभन्दा जंगली जनावरलाई महत्त्व दियो?
यस्तै, शताब्दीऔंदेखि खिल बनेर गढेको तामाङ समुदायको पीडालाई नाटकको रूप दिइएको छ। उनीहरूको पीडालाई राजु स्याङ्तान, लक्ष्मी रुम्बा र रावतले नाटकमा उतारेका छन्। भविष्यमा हुन सक्ने जातीय अधिकारको द्वन्द्वलाई पनि सशक्त रूपमा सुसूचित गराएका छन्।
यसमा विशेष गरेर गाईको मासु खाएको आरोपमा जेल परेका युवाको कथालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ‘अ’ ध्वनि उच्चारण गर्न नसक्दा लागेको गाई मारेको कसूरले जेल जानुपरेको पीडा देखाइएको छ। जुन अहिले पनि ज्यूँकात्यूँ छ।
तामाङ समुदाय पहिला भोट्या, मुर्मी जातिका नामले चिनिन्थ्यो। सीता महारानीको विशेष अनुरोधमा राणा प्रधानमन्त्री श्री ३ भीमशमशेरले लालमोहर जारी गरेपछि तामाङ लेख्न थालिएको इतिहास छ।
२०४६ सालको जनआन्दोलनपछि यसले वैधानिकता पनि पायो। २०४७ सालको संविधानले बहुजाति स्विकारेकाले आदिवासी जनजाति संघसंस्थाले पहिचान सहितको जातीय अधिकारको माग उठाए। केही पार्टीले जातीय समस्यालाई प्रमुख राजनीतिक मुद्दा पनि बनाए।
व्यवस्था परिवर्तन भएर संघीय गणतन्त्र आयो तर तामाङ समुदायको समस्या समाधान हुन सकेन। गाई मारेको कसूरमा जेल जाने बाध्यता यथावत् छ। जबकि नेपाल देशको न्वारन हुनु पहिलेदेखि नै गाईको मासु पितृप्रसाद र भोजन सार्वभौम थियो। गौवध सम्बन्धी जिल्ला, पुनरावेदन, सर्वोच्च अदालतमा २०८० को पहिलो माघसम्म २१५ मुद्दाको लगत पुगेको छ (शिवहरी ज्ञवाली, कान्तिपुर दैनिक, २०८० माघ २०)।
यसरी राज्यले तामाङलाई विभेद गरिरहेको शृंखलालाई जस्ताको तस्तै मासिन्या नाटकमा देख्न सकिन्छ। यससँगै तामाङको मात्रै नभई आदिवासी जनजातिको सम्पदा, थातथलो, भूगोल आदिको स्थाननाममा दिन प्रतिदिन भइरहेको परिवर्तनलाई पनि यसले उजागर गरेको छ। सशस्त्र माओवादी द्वन्द्वको समयमा तामाङ समुदायले भोगेको समस्या जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
कथा तामाङको भए पनि देशका समग्र आदिवासी जनजातिले भोगिरहेको पीडाको कथा हो- मासिन्या। नेपाली रंगमञ्चमा किनारीकृत आवाजलाई सशक्त रूपमा उठान गरिएको छ।
दर्शकको चाप र मागले यो नाटकलाई दुई साता लम्ब्याइएको छ। यो पनि अपनत्वको पुष्टि हो। वर्षौंदेखि खेप्दै आएको पीडालाई ओकल्नु भनेको आत्मसन्तुष्टि मात्रै होइन, परिवर्तनको झिल्को पनि हो।
यो नाटक काठमाडौंको थापागाउँस्थित मन्डला थिएटरमा फागुन १२ गतेसम्म हेर्न सकिनेछ।