कांग्रेस महासमिति बैठक आजदेखि
नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा शुरू हुँदै छ।
२०७८ मंसीर २४ गते काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महीनापछि ‘नीति अधिवेशन’ का रूपमा लिइएको महासमिति बैठक हुन लागेको हो। बैठकमा भाग लिन देशभरबाट महासमिति सदस्य काठमाडौं आइपुगेका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गर्ने कार्यक्रम छ। महासमिति बैठकमा गत फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनहरू पेश भई छलफल हुनेछन्।
बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा लेखापरीक्षण प्रतिवेदन पेश हुनेछन्। यी प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल हुनेछ।
बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदै छ। वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुनेछ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन लागिएको छ।