त्रिविको उपकुलपतिका लागि बुढाथोकी, बराल र धमला सिफारिश
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले तीन जनाको नाम सिफारिश गरेको छ।
समितिले आइतबार एक सूचना जारी गर्दै प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिश गरेको हो।
यसअघि त्रिविको उपकुलपतिका लागि आवेदन दिने ४३ जनामध्ये १४ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। १४ जनामध्ये समितिले तीन जनालाई सिफारिश गरेको हो।
त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएपछि कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभाग प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य रहेको सिफारिश समिति गठन गरेका थिए।