मधेशका मुख्यमन्त्रीले तेस्रो पटक लिए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन्।
मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। प्रदेश सभामा उपस्थित कुल १०४ सांसदमध्ये विश्वासको मतको पक्षमा ६९ सांसद उभिए। त्यस्तै, विपक्षमा ३५ सांसदले मत दिए।
यसअघि गत जेठ ३० मा दोस्रो पटकसम्म विश्वासको मत लिएका थिए। त्यति वेला नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपरेको थियो।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मधेश प्रदेश सरकारमा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दलका रूपमा रहेको एमालेका २३, नेपाली कांग्रेसका २२ र जनता समाजवादी पार्टी नेपालका १८ सीट छन्।
त्यस्तै, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (माओवादी केन्द्र)का नौ र नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक र स्वतन्त्र सांसद तीन जना छन्।