मिडियाले रहस्यमयी बनायो, राज्यले विद्रोही
जापानमा भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुशी छैन। ट्रेनमा निदाएर बस्नुपरेको छ। आँखामा खुशीको चमक कतै देखिनँ। यो त हुँदै भएन भनेर बुबालाई पत्र लेखें, ‘बुबा! यता राम्रो छैन।’
छवि भन्ने कुराले धेरै अर्थ राख्छ। नेपालमा बस्दासम्म मेरो पेशाभन्दा बाहिर चिन्ने कुरा पनि भएन। अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन्। त्यो वेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो।
भन्छन् नि ‘मिस्टिरियस’ छवि!
जब केही निषेधित हुन्छ, त्यसप्रति मानिसको आकर्षण झन् बढ्छ। घरबाटै सरकारले निस्किन नदिएपछि अरूले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन्। लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला भन्ने लागिहाल्छ।
त्यसमाथि ‘मिसाइल इन्जिनीयर’ को छवि बनाइदिंदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि भन्ने अरूलाई लाग्थ्यो।
पटक पटक पक्राउ पर्थें। दुई दर्जन पटक त पहिले नै थियो। अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें। कतै बोल्न जाँदा पनि हातमा माइक समात्ने बित्तिकै पक्राउ परिहाल्थें। यसले मान्छेलाई स्वाभाविक रूपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रै’छ? मुखबाट आगो निकाल्छ कि क्या हो?’
त्यति वेला मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टीकरण नै सोधियो।
मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडियाले नै बनाइदिएको हो। तर त्यसमा दुखेसो छैन। क्रमिक रूपमा मिडियाले नै अहिले स्पेस दिंदै आएको छ। अरूले पनि सुन्न पाएका छन्। हामीसँग भएका जिज्ञासा क्रमिक रूपमा स्पष्ट पार्दै गएका छौं।
२०६७ सालतिर नेपाल फर्किएँ। अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागीर छाडेर आउँदा त्यति वेला स्वाभाविक रूपमा प्रश्न उठ्थ्यो- ‘यो मान्छे किन नेपाल आयो?
अमेरिकाबाट किन फर्किएको प्रश्न १३ वर्षअघि पनि सोधिन्थ्यो, अहिले पनि सोधिन्छ। लाग्दै छ- यो प्रश्नको आयु धेरै लामो रहेछ। जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरूलाई दिएको जवाफबाट सन्तुष्ट हुँदैनन्।
म सप्तरीको गाउँमा जन्मिएँ। त्यति वेला त्यहाँ प्राथमिक विद्यालय मात्रै थियो। अहिले पनि अवस्था लगभग त्यस्तै छ। मैले त्यहीं पढें। पछि अर्को गाउँबाट १० कक्षासम्मको पढाइ सकें।
त्यसपछि मात्रै बस चढेर काठमाडौं गएको हुँ। पुल्चोकमा ओभसीयर पढें, इन्जिनीयरिङमा स्नातक गरें। त्यसपछि जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागीर गरें।
शुरूदेखि नै गरीब पृष्ठभूमिमा हुर्किएको भए पनि मेरा बुबा शिक्षक हुनुहुन्थ्यो। दाइहरूले कलेजसम्म पढ्न भ्याउनुभएको थियो। त्यही भएर पनि बच्चैदेखि मेरो मानसिकता इन्जिनीयर बन्छु भन्ने थियो।
त्यति वेला हजार रुपैयाँ लिएर इन्जिनीयरिङ पढ्न आएँ। काठमाडौं आउनुअघि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ। एक चोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। कक्षामा नेपाली पढाइ हुन्थ्यो। मलाई लेख्न आए पनि बोल्न आउँदैनथ्यो।
काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो। त्यही बसमा काठमाडौं आयौं। त्यति वेला टिकट नदिएर मुढामा बसालिन्थ्यो। अरूले दशथरी गाली गरेको छ, लात्ताले हानेको छ। अहो! यो कस्तो व्यवहार रहेछ। बस चढ्ने बित्तिकै विभेद महसूस हुन्छ।
कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो सुनेर मलाई बडो विरक्त लाग्यो। महात्मा गान्धीसँग अफ्रिकामा घटेका घटना तुलना हुन्थ्यो, त्यति वेला।
काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो। तर कक्षामा बसेको छु। परिचय दिन मुख खोल्ने बित्तिकै मधेशी टोन त आइहाल्छ नि! व्याकरणका हिसाबले शुद्ध भए पनि बोल्ने बित्तिकै गलल्ल हाँस्थे। अनि ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो।
त्यसपछि बाहिर निस्केर हनुमानढोका जान्थें, संग्रहालय जान्थें। कक्षामा जान असहज महसूस हुन्थ्यो। पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन।
दोस्रो वर्षमा बुबाले नतीजा राम्रो आएन भनेपछि गम्भीर भएर लागें। यिनीहरूले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें। त्यो एउटा ‘ट्रान्जिसन’ थियो।
अर्को सेमेस्टर टप गरें। त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। टप गर्न थालेपछि सबैले बिस्तारै माया पनि गर्न थाले। पछि इन्जिनीयरिङमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ।
त्यो वेला म पनि अलि राष्ट्रवादी खालको थिएँ। गोर्खाली कविता लेख्थें। प्रतियोगितामा भाग पनि लिन्थें। यतिसम्म कि पढाइको पहिलो वर्षमा एक चोटि ‘तराई-मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो। त्यो संस्थाको सदस्य बन्नुपर्यो भनेर आउँदा ‘मधेशी-पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ।
त्यति वेला म विद्यार्थी थिएँ। राजनीतिमा कुनै चासो थिएन। चुनावमा भोट गर्न पनि जाँदैनथें, खालि पढाइमा मात्रै ध्यान थियो।
पछिपछि एउटा अफवाफ फैलियो। ऋतिक रोशनले नेपाललाई घृणा गर्यो है भनेर कतै छापियो। त्यो फैलिंदै फैलिंदै काठमाडौंसम्म आइपुग्यो। त्यही वेला शायद गोली लागेर राजविराजमा एक जना मारिनुभएको पनि थियो।
त्यति खेर काठमाडौंमा मधेश विरोधी कार्य भए। काठमाडौंमा मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउने लगायत त्रासपूर्ण वातावरण बन्यो। काठमाडौंमा कर्फ्यूको वातावरण बन्यो। त्यति वेला हिउँदे बिदा थियो। अरू साथीहरू फर्किसकेका थिए। म भने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ।
विभेदको नांगो रूप त्यति वेलै हो देखेको।
मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो। त्यो घटनामा आर्किटेक्चरका एक जना नेवार साथीले गर्दा जोगिएँ। ‘यो मधेशी होइन, कालो कालो नेवारी हो’ भनिदिएपछि बाँचें।
त्यति वेला काठमाडौंका मजदूरसँग नेपाली हो भने नागरिकता खोइ भनिन्थ्यो। नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु। पहिले त सबै साथीले एकदम सम्मान गर्थे। तर त्यो घटनापछि छात्रावासमा आउँदा पनि गाली गर्न थाले। अर्कै नजरले हेर्न थाले। त्यसपछि मेरो के अपराध भयो भनेर सोच्न बाध्य भएँ।
त्यति वेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरूले पनि बाहिरबाट ताला लगाएर यहाँ कोही छैन भन्नुपर्ने स्थिति बन्यो। त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छ त? आखिर म को हुँ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो।
भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा ममाथि किन आक्रमण भइरहेको छ? मेरो राष्ट्रियता के हो? मेरो पहिचान के हो? मेरो अधिकार के हो त यो देशमा? त्यति वेला मैले सोच्नैपर्ने बाध्यता भयो।
त्यसपछि राजनीतिमा अलिकति चासो बढ्न थाल्यो। इतिहास खोतल्न थालें। मेरो रूट, मेरो पहिचान के हो भनेर खोज्न थालें।
त्यही वेला छात्रवृत्ति पाएर जापान गएँ। बाहिर पनि विभेद भोग्नै पर्यो। त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन। म आफैं पनि आध्यात्मिक भएकाले मानवताबारे सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ।
‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त!’ भनेर ढुक्क भएर बसेको थिएँ। जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई ‘प्रमिस’ गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो। सबै कुरा यहीं बिर्सिन्छु। त्यहाँ ‘फ्रेस’ जीवन शुरू गर्छु।’
तर जापान पुग्दा पनि उस्तै विभेद भयो। नेपालीको कार्यक्रम भनेको छ, जान दिइएको छैन। नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे। नागरिकता बोकेको छु भन्नुपर्ने। सहपाठी र प्राध्यापकका अगाडि ‘तँ नेपाली होइनस्’ भनिदिंदा साह्रै अप्ठेरो महसूस हुन्थ्यो।
त्यति वेला मधेश आन्दोलन पनि भयो। ‘संघीयता’ शब्द उतिसाह्रो प्रयोगमा आइसकेको थिएन, ‘राज्य पुन:संरचना’ धेरै भनिन्थ्यो। त्यही वेला राज्य पुन:संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो। अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो। तर त्यति वेलासम्म पनि खुलेर आइसकेको थिइनँ। म जोगी बन्ने हो भन्ने लाग्थ्यो।
पहिले नेपाललाई जापान जस्तो बनाउनुपर्छ भन्ने सोच्थें। तर जापान गइसकेपछि त्यहाँको दैनिकी देखेर ‘यहाँ जीवन नै छैन। ठूला ठूला भवन छन्, मान्छेमा जीवन छैन। खाना खाने फुर्सद छैन। दुनियाँको तीव्र गतिको रेल छ तर मान्छेहरू हातमा बर्गर लिएर दौडिइराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन, यस्तो पनि जीवन हुन्छ’ भन्ने सोचें।
जापानमा भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुशी छैन। ट्रेनमा निदाएर बस्नुपरेको छ। आँखामा खुशीको चमक कतै देखिनँ। यो त हुँदै भएन भनेर बुबालाई पत्र लेखें, ‘बुबा! यता राम्रो छैन।’
अमेरिकाको बोस्टनमा एउटा राम्रो खालको नेपाली समुदाय छ। त्यहाँ पुगेको त्यस्तै तीन-चार महीना जति भएको होला! मलाई बोलाइएको थियो। त्यहाँ नेपालबाट संविधानसभाका सदस्यहरू पनि जानुभएको थियो। त्यसमा एक जना धोती लगाउने व्यक्ति पनि जानुभएको थियो। तर धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा सहभागी हुनबाट वञ्चित गरियो। धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन।
म त अमेरिकामा भर्खर पुगेको थिएँ। मलाई फोन आयो, “हामीलाई यस्तो दुर्व्यवहार गरियो। हामीलाई स्वागत नगर्ने?”
म र एक जना साथी मिलेर डिनर आयोजना गर्यौं। त्यति वेलासम्म नेतालाई मनै पराउँदैनथें। उहाँहरूले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो। त्यसको एक महीनापछि नेपाल फर्किएँ।
मधेश कत्तिको बनेको रै’छ भनी हेर्न मेची-महाकाली यात्रा गरें। कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें। कञ्चनपुरबाट फर्किने वेला थारूको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरू पनि मेरो खुट्टा समातेर रुन थाले। उनीहरू घर, जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गर्छ भन्न थाले।
न म सरकारी कर्मचारी हुँ न सीडीओ न त प्रहरी। कञ्चनपुरका आदिवासी समुदायले त्यसरी खुट्टा समातेर रुन थालेपछि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध भयो।
अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरूले नै बनाइदेलान्। यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो।
गाउँमा कोही नेता आयो भने ‘तपाईंहरूलाई के चाहिन्छ’ भनेर सोधिन्छ। मैले पनि सोधें। उनीहरूले बाटोघाटो मागेनन्। खेतमा बोरिङको व्यवस्था गरिदिनुपर्यो बाबु भने। ‘खेतमा बाली र पेटमा अन्न पर्यो भने घुँडासम्म त के, छातीसम्म हिलो भए पनि हिंड्न तयार छौं’ भने।
उनीहरूले मागेको ठिकै थियो। त्यसपछि मैले बोरिङका लागि कोशिश गरें। लाहानको कार्यालयमा सम्पर्क गरें। अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें। तर नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ।
अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हुँला। तर आफ्ना गाउँलेका लागि एउटा बोरिङसम्म ल्याइदिने मेरो हैसियत रहेनछ भन्ने थाहा भयो। त्यसपछि नै मैले यो तबसम्म बदलिंदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो।
अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें। त्यसको करीब एक वर्षपछि नेपाल फर्किएको हुँ।
नेपाल फर्केर खुलामञ्चमा भाषण गरें। तर भाषण गर्ने बित्तिकै सबै त्रसित भए। अमेरिकाबाट फर्कियो, ‘हाई प्रोफाइल’ किन नेपाल आयो भनेर ‘वाचलिस्ट’ मा राखे। जहाँ जाँदा पनि जासूस पछि लागिरहे। पछि विचार राख्ने क्रममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो। यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें।
कर्णाली सबैभन्दा पिछडिएको भन्छौं। कुनै वेला थियो होला, छ। पक्कै पनि कर्णाली र सुदूरपश्चिम विकसित हुनुपर्छ। तर आजको दिनमा महोत्तरी जुम्लाभन्दा पनि पछाडि छ। २०७८ सालकै जनगणनाको तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करीब २० प्रतिशत कम छ महोत्तरीमा। समग्र मधेशको झन्डै ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत।
यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो। धरपकड हुन थाल्यो। सरकारले यतिसम्म दुःख दियो कि ‘फ्री सीके राउत’ भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो। यो कस्तो खालको लोकतन्त्र हो भन्ने लाग्थ्यो। अदालतमा तारेख लिन जाँदा कसैले सीके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो।
अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाहपञ्चमीमा पानी खुवाउँदा पनि समातेर मुद्दा लगाइदिए। भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो।
बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानी समेत खुवाउन नपाउने भएपछि यही तरीकाले अगाडि जान सकिंदैन भन्ने निष्कर्ष निकाल्यौं। अब मूलधारमै आएर जति गर्न सकिन्छ गरौं, संविधानभित्रै बसेर केही गरौं भनेर आएको हुँ।
म जति वेला फर्किएँ, त्यति वेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन। तर २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो। राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो। अमेरिकाबाट फर्किंदा र २०७५ सालको राजनीतिक अवस्था एउटै थिएन। त्यही वेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं। यो जेल जानुभन्दा अगाडिको कुरा हो।
पछि राममनोहर घटना घट्यो। उहाँको हिरासतमा मृत्यु भयो। हामी त्यसलाई हत्या भन्छौं। त्यो पनि लोकतन्त्रको कालो धब्बा हो। उहाँमाथि कुनै मन्त्रीलाई कालोझन्डा देखाएको आरोप लगाइयो। पछि समातेर हिरासतमा राखियो र त्यहीं मृत्यु भयो, हत्या भयो।
त्यसपछि यो संविधानले जति अधिकार दिएको छ, त्यो अधिकार राज्यले दिएको छैन भनेर कालो दिवस मनायौं। त्यसको प्रतिशोध साँध्न छापा मारेर मलाई जेलसम्म पुर्याइदिए। जेल बस्दा वार्ता अगाडि बढ्न सकेन। धेरै गृहकार्यपछि मात्रै वार्ता सफल भयो।
अनि पार्टी गठन गर्यौं। लगत्तै कोरोनाभाइरस महामारी शुरू भयो। परिवर्तन गर्न सकिन्छ भनेर मूलधारको राजनीतिमा आएका हौं।
संसद्मा पुगिसकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो। तर त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भन्ने थाहा पाएँ। त्यहाँ को कहिले बोल्ने भन्ने पालो हुन्छ। अर्को, संसद्मा कोसँग कति राम्रो र महत्त्वपूर्ण विषय छ भन्ने कुराले महत्त्व राख्दैन। त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरूको सीट संख्याका आधारमा तय हुने रहेछ।
(पोखरामा जारी ११औं नेपाल लिटरेचर फेस्टिभलमा सीके राउतसँग ‘मधेश मन्थन’ सत्रमा खगेन्द्र संग्रौलाले गरेको संवादमा आधारित।)