राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ?
राजनीतिक दलभित्रको लोकतन्त्र सुदृढ हुँदै गएको भए पनि पर्याप्त नभएको एक कार्यक्रमका वक्ताले बताएका छन्।
विशेषत: २०४७ सालमा बहुदलीय लोकतन्त्रको स्थापनासँगै नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अवस्थाबारे विभिन्न कोणबाट बहस भइरहेको छ।
देशमा प्रजातन्त्र एवं लोकतन्त्रको पुन:स्थापना भएको साढे तीन दशक भइसक्दा पनि दलहरूभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी वेलाबखत आलोचना हुने गर्छ।
यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा ‘कति लोकतान्त्रिक दलहरू?’ शीर्षकमा छलफल भएको छ। अंग्रेजी दैनिक दी अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा, नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटा र विज्ञ सुचेता प्याकुरेल वक्ताका रूपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै कांग्रेस नेता विश्वकर्माले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्ने गरेको बताउँदै पार्टीको इतिहासमा १४ पटक महाधिवेशन गरिसकेको उल्लेख गरे। “इतिहासदेखि नै नेपाली कांग्रेसभित्र पूर्ण रूपमा आन्तरिक लोकतन्त्रको अभ्यास भइरहेको छ। त्यसैगरी आन्तरिक निर्वाचन प्रणाली पनि सुदृढ भएको छ,” उनले भने।
एमाले नेता गिरीले एमालेले आफ्नो पार्टी संरचनामा पूर्ण रूपमा लोकतान्त्रिक अभ्यास अपनाएको उल्लेख गर्दै त्यही प्रणाली मार्फत नै आफू जस्ता युवा नेता पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएको बताए। संसद्को सर्वोच्च पदमा पनि रहेको उनको भनाइ थियो। “हामीले पार्टी बाहिर र भित्र लोकतान्त्रिक संस्कारलाई अझ वृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ,” उनले भने।
माओवादी नेता बास्कोटाले भर्खरै सकिएको पार्टीको पहिलो विधान अधिवेशनले आन्तरिक लोकतन्त्र एवं जनवादलाई अझ सुदृढ बनाएको र त्यहाँ स्पष्ट रूपमा सबै सहभागीले आफ्नो धारणा राखेको उल्लेख गरे। “संसारभरका कम्युनिस्टले जनवादको नारा लगाउँदै आए पनि नेपालमा भने यस विषयमा अझै बहसको आवश्यकता छ। लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रीयताको कुरा गर्दा निरंकुशतातर्फ जान्छ,” उनले भने।
त्यस्तै, अध्येता प्याकुरेलले विश्वका धेरै मुलुकमा लोकन्त्र र राजनीतिक दललाई सँगै लैजाने काम चुनौतीपूर्ण रहेको बताइन्। लोकतान्त्रिक अभ्यासका हिसाबले सबै पार्टीले आफूहरू सही ठाउँमा रहेको बताए पनि लिंग र जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको प्याकुरेलको भनाइ थियो।
पोखरामा फागुन ३ गतेदेखि शुरू भएको नेपाल लिटरेचर फेस्टिभल फागुन ७ गतेसम्म सञ्चालन हुनेछ।