जनमतद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध
जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची थियो। बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यले उठेर विरोध जनाएका हुन्।
प्रदेश सभा सदस्य चन्दन सिंहले मधेश प्रदेशका मन्त्री र प्रदेश सभाका सदस्यमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी प्रहार गरेको र त्यहाँ मुख्यमन्त्री यादव समेत उपस्थित रहेकाले माफी माग्नुपर्ने बताए। मुख्यमन्त्रीले माफी नमागेसम्म प्रदेश सभाको बैठक चल्न नदिने सिंहको भनाइ थियो।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मतका लागि धारणा राख्ने कार्यसूची रहेकाले बैठक सञ्चालन गर्न खोजेका थिए। उनले सहयोग गर्न जनमत पार्टीका सांसदलाई आग्रह गरेका थिए।
तर जनमतका सांसदले उठेर विरोध जनाए। उनीहरूको विरोध जारी रहेपछि सभामुख मण्डलले केही समयका लागि प्रदेश सभाको बैठक स्थगन गरेका छन्।