कहिले जुर्छ कर्णालीमा लगानीको लगन?
देशको दुर्गम र विकासबाट टाढा रहेको कर्णाली प्रदेशमा लगानी भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार कर्णालीमा लगानीको विषयमा चर्चा भएको छ। कुडा कर्णालीकाको पाँचौं संस्करण अन्तर्गत लगानी सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरूलाई प्रश्न गरे- कर्णालीमा लगानीको लगन कहिले आउँछ?
कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नबिल ब्यांकका अध्यक्ष उपेन्द्र पौडेलले समय लाग्ने जवाफ दिए। मन्त्री सिंहले कर्णालीमा पूर्ण रूपमा लगानीमैत्री वातावरण बन्न बाँकी रहेको बताए। “कर्णाली संघीयतापछि जल, जंगल, जमीन उपभोगको यात्रामा छ,” उनले भने, “ठूलो भूगोल र सीमित स्रोतसाधनले गर्दा अहिले नै नागरिकले देखिने र महसूस गर्ने गरी लगानीमैत्री वातावरण बन्न नसकेको अवस्था होला। तर पनि साविकको मध्यपश्चिम र आजका कर्णालीका नागरिकले फरक महसूस गर्न सक्छन्।”
अहिले प्राप्त पहुँचलाई संस्थागत विकास गर्दै अब कर्णालीमा आवश्यकताका आधारमा साधन र स्रोतको सही ढंगले प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। यसका लागि सरकारका तर्फबाट प्रयास भइरहेको उनले बताए।
नीतिगत व्यवस्था नभएका कारण पनि दाताहरूले लगानी गर्न नसकेको उनको भनाइ थियो। “यो वर्ष वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गरिंदै छ,” मन्त्री सिंहले भने, “निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानीमैत्री वातावरण, लगानीयोग्य क्षेत्र पहिचान गर्ने गरी प्रस्तावहरू तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दै छौं। दाताहरूको पनि लगानीको प्रतिफल र सुरक्षाको ग्यारेन्टी गर्ने गरी सम्मेलनको तय हुँदै छ।”
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीका लागि लगन कुरिराख्नुपर्ने अवस्था नभएको बताए। कर्णालीको चुनौती भौतिक पूर्वाधार रहेको उनको भनाइ थियो। “कर्णालीमा भौतिक चुनौती प्रमुख कारण हो। लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौती भोग्नुपरेको छ,” उनले भने।
व्यवसायका लागि पूर्वाधार अत्यावश्यक रहेकाले २०७४ सालपछि राजनीतिक परिवर्तन भए पनि उद्योग क्षेत्रले आश गरेको आर्थिक परिवर्तन हुन नसकेको उनको भनाइ थियो। व्यावसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रश्रय दिन नसकेकाले लगानीको वातावरण नबनेको उनले बताए।
निजी क्षेत्रलाई विश्वास गरेर साथ लिने हो भने लगानी गर्न तयार रहेको उनको भनाइ थियो। “व्यवसायीले नीतिगत कुरामा स्पष्टता खोजेका हौं। सरकारका नीति-नियम स्पष्ट हुन पर्यो। लगानीका लागि एउटै नीतिलेे केही वर्ष काम गर्नुपर्यो,” श्रेष्ठले भने।
त्यस्तै, नबिल ब्यांकका अध्यक्ष पौडेलले ब्यांकले पनि कर्णालीमा गरेको लगानी सबैभन्दा कमजोर देखिएको उल्लेख गरे। “ब्यांक भनेको पानी हो। जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ। यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ,” पौडेलले भने, “त्यसका लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ। व्यवसाय भएपछि ब्यांकहरू आउँछन्।”
लगानीको वातावरण बनाउन ब्यांकहरू पनि लाग्नुपर्ने उनको भनाइ थियो। “दूरदराजमा पनि ब्यांकहरू पुगेका छन्,” पौडेलले भने, “ब्यांकले सहयोग गर्नका लागि लिने मान्छे आउन जरुरी छ।”
कर्णाली उत्सवमा समाज, साहित्य र विकासका विषयमा विभिन्न सत्रमा छलफल भइरहेको छ। फागुन ५ देखि शुरू भएको उत्सव फागुन ७ गतेसम्म चल्नेछ।