आसिफ र अनिलको अर्धशतकमा नेपाल १५.२ ओभरमै विजयी
आईसीसी विश्वकप लिग-२ अन्तर्गतको दोस्रो खेलमा नेपाल १५.२ ओभरमै नौ विकेटले विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा १५.२ ओभरमै पूरा गरेको हो। नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतक बनाए।
शेखले ४५ बलमा ५४ रन बनाए। उनले आठ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, साहले ३६ बलमा ५७ रन बनाए। उनले ६ चौका र चार छक्का प्रहार गरे। कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भए।
यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमै सबै विकेट गुमाएर १३७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि स्कट इडवार्डले ३३, वास द लीडले २७, सिब्रन्ड इंगलब्रेचले २३, नोह क्रोसले १२, किल क्लेइनले ११, म्याक्स उड र आर्यन दत्तले १०-१० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले चार, ललित राजवंशीले दुई, सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए।
लिग-२ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। यो शृंखला अन्तर्गत अहिले नेपाल, नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।
अर्को खेलमा सोमबार नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन्। नेपालको तेस्रो खेल बुधबार नामिबियासँग हुनेछ।