बलर चम्किँदा नेपाललाई १३८ रनको सामान्य लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्स १३७ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स पहिलो ओभरदेखि नै दबाबमा पर्यो। नेपालका लागि सोमपाल कामीले तेस्रो बलमै नेदरल्यान्ड्सका प्रारम्भिक ब्याटर मिचेल लेभिटलाई आउट गरे।
त्यसपछि लगातार नेपाली बलरले विकेट झार्दै गए। दबाबमा रहेको नेदरल्यान्ड्सले ३९ ओभरमै सबै विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।
नेदरल्यान्ड्सका लागि स्कट इडवार्डले ३३, वास द लीडले २७, सिब्रन्ड इंगलब्रेचले २३, नोह क्रोसले १२, किल क्लेइनले ११, म्याक्स उड र आर्यन दत्तले १०-१० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले चार, ललित राजवंशीले दुई, सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए।
लिग-२ को पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग पराजित भएको थियो। यो शृंखला अन्तर्गत अहिले नेपाल, नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।