विदेशबाट फर्किएका युवालाई कसरी स्वदेशमै अड्याई राख्ने?
युवालाई विदेशबाट फर्काउन सजिलो भए पनि स्वदेशमै अड्याई राख्न चुनौती भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।
बर्सेनि युवा विदेशिने तथ्यांक बढ्दो छ। दैनिक तीन हजार हाराहारी युवा बाहिरिइरहेका छन्।
पछिल्ला वर्षमा खाडी मुलुकभन्दा पनि यूरोपेली र अन्य देशतिर लाग्नेको संख्या बढ्दै गएको छ। देशमा भविष्य नदेख्दा युवामाझ वितृष्णा पनि बढ्दो छ।
यससँगै विदेशमा रहेका युवा घर फर्किएपछि पनि के गर्ने भन्ने अलमल छ। यही विषयमा नेपाल लिटरेचर फेस्टिभलमा विमर्श गरिएको छ। ‘ब्रेन गेन : फर्केर के गर्ने?’ शीर्षक बहसमा स्वर्णिम वाग्ले र शृंखला खतिवडालाई पत्रकार सोनिया अवालेले प्रश्न गरेकी थिइन्।
नेपाली विदेशिने संस्कृति लामो समयदेखि रहेको सुनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका वाग्लेले श्रमको खोजीमा भौंतारिने स्वरूप बदलिएको बताए। “रोजगारीका अवसरको खोजीमा नेपाली मुग्लान झर्ने आर्मीमा आबद्ध हुने पुरानै परम्परा हो, यसको स्वरूप बदलियो,” उनले भने, “२१औं शताब्दीमा श्रम र पूँजीको अन्तर्घुलनले भूमण्डलीकरण चर्केको हो। क्यापिटल र लेबरको मुभमेन्ट भएको हो।”
समयचक्रले विकसित देशमा दक्ष जनशक्तिको आवश्यकता पारेपछि नेपालीले त्यो अवसर सदुपयोग गरेको खतिवडाको भनाइ थियो। अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको उनले सुनाइन्। “समयचक्रले यस्तो बनायो कि विदेशी भूमिमा युवा शक्ति, कामदारको कमी भयो, विभिन्न दक्षता चाहियो,” उनले भनिन्, “उनीहरूले ढोका खोल्दै गए, नेपालीले देखिरहेका थिए, जान थाले।”
अवसरको खोजीमा विदेश गइरहेका युवालाई नेपाल फर्काउन समस्या नरहेको उनी सुनाउँछिन्। नेपाल फर्किसकेपछि उनीहरूलाई अड्याई राख्ने अवसरको विषयमा सोच्नुपर्ने उनको भनाइ थियो। “बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन्। उनीहरू खाडी मूलकमा गइरहेका छन्। नेपाल फर्काउनु हाम्रा लागि चुनौती होइन, फर्काइसकेपछि कसरी नेपालमा राख्ने भन्ने प्रश्न हो,” उनले थपिन्।
यस्तै, आवश्यकता वा आर्थिक बाध्यताले नेपाल छोड्नुनपर्ने वर्गलाई रोक्नु वा फर्काउनु चुनौती रहेको उनको भनाइ थियो।
यी सबै समस्या सम्बोधन गर्न ग्लोबल सिटिजन कन्सेप्ट महत्त्वपूर्ण रहेको वाग्लेको भनाइ थियो। निजी व्यवसायी वा लगानीकर्ताले विदेशलाई कर्मथलो बनाएका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
“ग्लोबल सिटिजनको कन्सेप्ट, नेपाल छोडे पनि नेपाली नै हो भन्ने अवधारण ल्याउन सक्यो भने धेरै हुन्छ,” उनले भने, “नभनिएको होइन, हरेक पञ्चवर्षीय योजनामा लगानी गर्न सहज गर्छौं भन्ने छ तर त्यो वातावरण छैन।”
आर्थिक सुरक्षा खोजेर विदेश पलायन भइरहेका युवालाई देशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने खतिवडाको भनाइ थियो। सरकारी संयन्त्रबाट रोजगारको आशाभन्दा निजी क्षेत्रलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिइन्। उनले भनिन्, “निजी क्षेत्र संकुचित भयो। प्राइभेट सेक्टरलाई सहयोगको खाँचो छ। यसरी नै हो युवालाई तान्न सक्ने।”
हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी उनी केही समयअघि नेपाल फर्किएकी हुन्। आफ्ना लागि नेपालमा अवसर भएकै कारण फर्किएको उनको भनाइ थियो। “विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ। नेपालमा एक हिसाबको उचाइ पाइसकेपछि ‘ग्लोबली’ केही गरौं भन्ने थियो। ग्लोबल एरिनामा मैले केही गर्नु छ भने नेपाललाई नै लन्च प्याड बनाउँदा सबैभन्दा भ्यालुएबल र सुनौला अवसर थिए,” उनले भनिन्।
वाग्ले पनि २० वर्ष विदेशी भूमिलाई कर्मथलो बनाएपछि नेपाल फर्किएका व्यक्ति हुन्। पूर्व अर्थमन्त्री रामशरण महत लगायत नेताले स्वदेश फर्किन घचघच्याएपछि नेपाल फर्किएको उनले सुनाए।